७ वैशाख २०८१ शुक्रबार
राजनीति

संशोधन प्रस्ताव राष्ट्रघाती भन्दै असफल पार्ने एमाले रणनीति

काठमाडौं– संविधान संशोधन प्रस्ताव असफल बनाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सडक र सदनमा संघर्ष तथा न्यायालयबाट परीक्षण गराउने रणनीति तय गरेको छ ।

प्रदेश सीमांकन हेरफेरमा बढी आक्रामक देखिएको एमालेले बिहीबारदेखि सदन अवरुद्ध पार्ने भएको छ। संविधानसभा भवन नयाँबानेश्वरमा बुधबार बसेको एमाले संसदीय दल बैठकले संशोधन प्रस्ताव राष्ट्रघाती भएको ठहरसमेत गरेको छ। ‘सरकारले दर्ता गराएको प्रस्तावको विरोधमा बिहीबारबाट संसद् बैठक अवरुद्ध पार्छौं,’ एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले भने ।

एमाले संसदीय दल बैठकले संशोधन प्रस्ताव राष्ट्रघाती भएको ठहरसमेत गरेको छ।

बैठकमा एमाले उपाध्यक्ष वामदेव गौतमले किस्ताकिस्तामा देशलाई विखण्डन गरेर असफल बनाउने चालको रुपमा संशोधन प्रस्ताव आएको बताए ।

यसैबीच एमाले निकट कानुन व्यवसायीले संशोधन प्रस्ताव संविधानसँग बाझिएको दाबीसहित खारेजीको माग गर्दै बुधबार नै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। उनीहरूले धारा २७२ अनुसार प्रदेशिक संसद् नभएका कारण अहिले सीमांकन हेरफेर हुन नसक्ने दाबी गरेका छन् । त्यस्तै भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुले राजधानीसहित विभिन्न भागमा विरोध प्रदर्शन सुरु गरेका छन् ।

बुधबार बिहान पार्टी कार्यालयमा पत्रकारसँग एमाले सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव असफल बनाउन सबै खाले रणनीति अख्तियार गर्ने बताए । उनले संसद्भित्र सशक्त प्रतिकार गर्ने र संशोधन प्रस्ताव पारित गर्न आवश्यक संख्या पुग्न नदिन दलहरूसँग छलफल तीव्र पार्ने, सडकबाट दबाब सिर्जना गर्ने र संविधानसँग बाँझिने गरी आएको सीमांकनको हेरफेर रोक्न कानुन व्यवसायीलाई आग्रह गर्ने बताए ।

‘संविधान सशोधनको विपक्षमा सत्तारुढ दलभित्रै आवाज सुनिन थालेको छ । त्यसलाई हामी उत्प्रेरित गर्नेछौं,’ ज्ञवालीले भने, ‘संशोधन प्रस्तावको विरोधमा देशव्यापी प्रदर्शन सुरु भइसकेको छ । प्रदेश नम्बर ५ मा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसकै नेताहरू विरोधमा उत्रिएका छन् ।’ प्रस्तावको देशभर शान्तिपूर्ण विरोध हुने उपमहासचिव  घनश्याम भुसालले बताए।

प्रकाशित: १६ मंसिर २०७३ ०१:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App