१६ चैत्र २०८० शुक्रबार
राजनीति

महाभियोग प्रस्ताव छिटो टुंग्याउन माग

काठमाडौं-  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथिको  छलफलमा  भइरहेको ढिलाइप्रति सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन्।  

महाभियोग प्रस्तावमाथि छलफलमा ढिलाइबारे सांसदहरूले सभामुखको ध्यानाकर्षण गराएका हुन्। उनीहरूले तत्काल संसद्बाट छलफल सकाएर महाभियोग समितिमा पठाउन माग गरेका  छन्।

सांसद जिमिन्द्रमान घलेले छलफल ढिला भएकोमा सभामुखको ध्यानाकर्षण गराउँदै तत्काल सकाएर त्यसलाई महाभियोग समितिमा पठाउन माग गरे ।

‘कार्कीविरुद्ध महाभियोग दर्ता भएको एक महिना नाघिसकेको छ’, घलेले भने, ‘निष्कर्षमा नपुगेर अझै पनि ठीक बेठीक भनेर सदनमा बहश भइरहनुले आशंकाहरू जन्माएका छन् ।’

सांसद भवानीप्रसाद खापुङले पनि ढिलाइप्रति असन्तुष्टि व्यक्त गरे ।  ‘किन संसद्मा महाभियोगको छलफल ढिला गरियो ?’, सांसद खापुङले मंगलबार सदनमा प्रश्न गरे, ‘भित्रभित्रै के षड्यन्त्र हुँदैछ, ताजा विषय किन बासी बन्दैछ ?’

एमालेका सांसद  खापुङले आयोगका निलम्बित प्रमुख आयुक्त कार्कीको सम्पति छानबिन गर्न  पनि सदनमा माग गरे । आफ्नो गृहजिल्ला तेह्रथुमको माथिल्लो खोरुंगा जलविद्युत आयोजनाको काम प्रक्रियासम्मत रुपमा अगाडि बढ्दासमेत अख्तियार नेतृत्वले बार्गेनिङ गरेर पैसा मागेको र नपाएपछि लाइसेन्स खारेज गरेको खुलासा खापुङले सदनमा गरे । आयोजनाको पिपिए हुनुअघि अख्तियारले फाइल लगेको र बार्गेनिङ गरेको आयोजनाका सञ्चालकले आफूसँग सुनाएको खापुङले सदनमा जानकारी गराए । ‘मैले अख्तियार आफैंले घुसको बार्गेनिङ गर्छ भने पाँच पैसा पनि नदिनुहोस् भनेको थिएँ,’ खापुङले भने,  ‘पैसा दिइएन  तर पाँच महिनापछि आयोजनाको लाइसेन्स खारेज भयो ।’ 

कार्कीलाई बर्खास्त मात्र गरेर नहुने भन्दै उनले सम्पत्ति छानबिन गरी जेल पठाउनुपर्ने समेत बताए ।

एमालेका अर्का सांसद लालबाबु यादवले संवैधानिक निकायको प्रमुख सरकार प्रमुखभन्दा शक्तिशाली हुने कानुन संशोधन गर्नुपर्नेमा जोड दिए । ‘प्रधानमन्त्रीलाई हटाउन संसद्को सामान्य बहुमत भए हुने तर संवैधानिक निकायको प्रमुख हटाउन किन दुईतिहाई चाहिने’, उनले सदनमा प्रश्न गरे । यादवले भारतमा समेत छानबिन आयोगहरू कार्यकारी प्रमुख मातहत हुने गरेको उदाहरण दिए ।

एमालेकै अर्का सांसद हर्कबोल राईले अख्तियार प्रमुख हुँदा कार्कीले सर्वोच्च अदालतको म्याद तामेलीमा अवरोध, संसद्मा बोलाउँदा नआउने जस्ता काम गरेर गम्भीर कानुनी उल्लंघन गरेको आरोप लगाए ।

यसअघि शून्य समयमा बोल्दै सांसद गोमा कुँवरले पनि छिटो महाभियोगमाथिको छलफललाई निष्कर्षमा पु¥याउन माग गरेकी थिइन् । उक्त प्रस्तावलाई छिटो टुंगोमा पु¥याउन आग्रह गर्दै  छलफलमा सहभागी अधिकांश सांसद्ले महाभियोगको समर्थनमा बोलेका थिए  । छलफलमा भवानीप्रसाद ठाकुर, लालबाबु यादव,  हरिप्रसाद उप्रेती, श्यामप्रसाद ढकाल र कलसादेवी महराले भाग लिएका थिए । संसद्को अर्काे बैठक १६ गते बस्नेछ।

एमाले र माओवादी केन्द्रका १ सय ५७ सांसदले कार्कीविरुद्ध कात्तिक ३ गते  संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावमाथि सदनमा कात्तिक ३ गते छलफल प्रारम्भ भएको थियो । तर छलफल सुरु भएकै दिनदेखि सभामुखले सदनको बैठक १५ दिन पर सारेकी थिइन् । त्यसपछि कात्तिक २५ र २६ मा बैठकमा छलफल भएको थियो । त्यसपछि चारदिन सदनको बैठक स्थगित भएको थियो । मंसिर १ गते को वैठक माओवादी सासंद भक्तिप्रसाद पाण्डेको निधनमा शोक व्यक्त गरी सकिएको थियो । महाभियोगमाथि मंगलबारसम्म सदनमा ६ पटक छलफल भएको छ।

 

 

प्रकाशित: १५ मंसिर २०७३ ०२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App