७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘जवरजस्ती’ ल्याउने प्रस्ताव अस्वीकार्य: अध्यक्ष ठाकुर

नेपालगन्ज–तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनकालागि सरकारले ‘जवरजस्ती’ ल्याउने प्रस्ताव स्वीकार्य नहुने बताएका छन्। अवधी पत्रकार संघ नेपालगन्जले सोमबार गरेको पत्रकार भेटघाटमा बोल्दै उनले भने, ‘अहिलेसम्म हामीलाई औपचारिक रुपमा प्रस्ताव आएको छैन, प्रस्ताव आएपछि संयुक्त मधेसी मोर्चाले आफ्नो धारणा बनाउँछ।’ सञ्चार माध्यमबाट बाहिर आए जस्तो मोर्चा समक्ष प्रस्ताव नआएको उनको जिकिर छ।

अध्यक्ष ठाकुरले थपे, ‘संशोधन प्रस्ताव आएपनि सत्ताधारी दललाई बुझाइएको होला, खै हामीलाई त थाहा छैन।’ प्रस्ताव नै नआएको अवस्थामा यस विषयमा केही बोल्नुपर्ने अवस्था नरहेको टिप्पणी गरे। संविधान निर्माणका विषयमा कांग्रेस, एमाले र माओवादीले जवरजस्ती निर्णय गर्दै आएको आरोप लगाउँदै तमलोपा अध्यक्ष ठाकुरले भने, ‘एक हातमा बन्दुक र एक हातमा प्रस्ताव ल्याएर आएपछि स्वीकार गरिँदैन, बरु विद्रोहको अवस्था आउन सक्छ।’

प्रस्ताव ल्याउन सरकारलाई दिएको म्यादको समय सीमा सकिनै लागेकाले चाँडै आउने विश्वास गरे। सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘हामीले त प्रस्ताव चाँडै ल्याउनुस् भनेर सरकारलाई भनेका हौं, तर सरकार पटक–पटक सार्दैछ।’ संविधान संशोधनको प्रक्रियामा एमालेको सहभागिता बिना पनि पारित हुने ठाकुरले दाबी गरे। उनले थपे, ‘एमाले बिना पनि दुई तिहाइ  पुर्याउन सकिन्छ, उहाँहरु बैठक अवरोध गर्न त सक्नुहुन्छ, तर संख्याको हिसाब एमाले बिनापनि संशोधन प्रस्ताव पारित हुन्छ।’

मोर्चाले सुरुमा तराईलाई एक प्रदेश बनाउनुपर्ने माग राख्दै आएपनि दुई प्रदेश सम्म स्वीकार गरेको बताए। ‘मोर्चाले दुई प्रदेश पनि स्वीकार गरिसकेको छ, नामको विषयमा कुनै आपत्ति छैन,’ ठाकुरले भने। अंगीकृत नागरिकलाई मुख्य पद दिने÷नदिने विषयमा बहस चलिरहेका बेला उनले यो विषयलाई बढी दुष्प्रचार गरिएको बताए।

प्रकाशित: १३ मंसिर २०७३ ०७:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App