१५ चैत्र २०८० बिहीबार
राजनीति

'दशगजा'बाट संविधान संशोधन हुँदैनः लालबाबु पण्डित

काठमाडाैं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री लालबाबु पण्डितले म्याद तामेलीको हिसावले संविधान संशोधन गर्न चाहेको हो भने एमालेले सहयोग नगर्ने कडा चेतावनी दिएका छन्।

नेता पण्डितले आफ्नो पार्टीले देशको आवश्यकत्ता अनुसार मात्रै संविधान संशोधन हुने कुरा गरेको बताए। उनले संविधान संशोधनको माग गर्ने मधेशी मोर्चाभित्रै एकरुपता नभएको बताउँदै भने– ‘सरकार अहिले अलमलिएको छ, सरकारका पदाधिकारीहरु छिमेकीसँग बकपत्र गर्न कुद्छन्।’

उनले नेपाल सँधै अशान्त रहीरहोस् र कहिल्यै स्थिरता नहोस भन्नेहरु अहिले सक्रिय भएको मंगलबार रिपार्टर्स क्लबमा उनले बताए।

‘नेपालको संविधान समृद्ध हामीले बनाउने हो, तर यहाँ त हामीभन्दा बढ्दा टाउको दुखाई अरु विदेशीहरुलाई भएको छ, यो किन,’ उनले प्रश्न गरे।

उनले संविधान संशोधनका पक्षधरहरुको माग एउटै छ है भनेर सरकारले कबुल गरी देखाउन समेत उनले चुनाैती दिए । 

‘एउटै माग हो भनेर पहिला कबुल गर्नुहोस्, विगतमा जस्तै संविधानलाई सत्तासँग जोड्ने काम गर्नुहुँदैन,’ उनले भने। छिमेकबाट कोही आए कि केही नेताहरु लम्पसार परिहाल्ने प्रवृत्ति हावी भएको उनले बताए।

उनले संविधान जारी गर्ने शक्तिहरुले डरले थुरुथुरु काँपेर खुट्टा कमाउने हो भने जनताले यो देशमा कहिल्यै पनि शान्ति प्राप्त गर्न नसक्नेसमेत ठोकुवा गरे। नेता पण्डितले देश र जनताको आवश्यकत्ता भएमात्रै एमालेले संविधान संशोधनमा सहयोग गर्ने कुरा सार्वजनिक रुपमै आफ्नो पार्टीले राखिसकेकोले उक्त अडानबाट पछि नहट्ने जिकिर गरे।

उनले भाषा विवाद समाधानको लागि भाषा आयोग गठन भैसकेको भन्दै यसबारेमा अनावश्यक झमेला र समस्या उत्पन्न गराउन नहुने स्पष्ट पारे।

पूर्वमन्त्री पण्डितले सडक र दशगजाबाट संविधान संशोधन नहुने र त्यस्ताे हुन पनि नदिने कडा चेतावनी दिए। सीमामा बसेर नेपालतर्फ ढुंगा हान्दैमा संविधान संशाेधन गर्न नसकिने उनकाे अाशय थियाे।

प्रकाशित: ७ मंसिर २०७३ १३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App