नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष हिसिला यमीले शान्ति प्रक्रियाका बाँकी कामहरु सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग मार्फत् नटुंग्याएर देशलाई युक्रेन बनाउन लागिएको टिप्पणी गरेकी छिन्।
आइतबार माओवादी धारका ९ दलले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वृहत शान्ति सम्झौता र संविधानको मर्म अनुरुप नै शान्ति प्रक्रियाका बाँकी कामहरु आयोगमार्फत् टुंग्याइनुपर्ने बताएकी हुन्।
उनले कार्यकारी शक्ति भएको प्रधानमन्त्रीमाथि मुद्दा लाग्नु नेपाली जनता र परिवर्तनमाथि मुद्दा लागेको धारणा राखिन्।
उनले भनिन्, ‘यो काम यतिखेरै किन महत्वपूर्ण छ त भन्दाखेरी अहिले विश्व नै कोभिडबाट भर्खर भर्खर उठेको बेलामा, आर्थिक मन्दी भइराखेको बेलामा यो क्षेत्र विश्वका शक्तिशालि देशहरुको एउटा सर्टेन्टेड क्षेत्र हुँदै गइराखेको स्थितिमा नेपाल विशेष गरेर दुई विचारधाराको बीचमा परेको यो देश यहाँ अब युक्रेन बाहिरबाट होइन। भित्रै बाट हुन लागेको छ। यदी यो आयोगलाई हामीले कार्यान्वयन गरेनौँ भने यसलाई पन्छाएर अर्कै कुनै माध्यमबाट देशको कार्यकारी शक्ति भएको प्रधानमन्त्रीमाथि मुद्दा लाग्नु भनेको जनता माथि मुद्दा लाउने हो। परिवर्तनमाथि मुद्दा लगाउने हो।’
प्रकाशित: २८ फाल्गुन २०७९ ११:२६ आइतबार