१६ चैत्र २०८० शुक्रबार
राजनीति

संविधान संशोधनका विषयमा प्रमुख तीन दलबीच ‘सकारात्मक’ छलफल

काठमाडौं– संविधान संशोधनका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाएको प्रमुख तीन दलको बैठक सकारात्मक भएको नेताहरुले बताएका छन्। बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा संविधान संशोधनका बारेमा विषय केन्द्रित भएर छलफल अगाडि बढाउने सहमति भएको छ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार एमाले अध्यक्ष केपी ओलीसँग संविधान संशोधन विषयमा छलफल गरेका थिए। सो भेटमा एमाले अध्यक्ष केपी ओलीले संविधानका कुन कुन धारा संशोधन गर्ने हो सो स्पष्ट पार्न आग्रह गरेका थिए। संविधान संशोधनको माग गरिरहेको मधेसी मोर्चासहित संघीय गठबन्धनले संशोधन प्रस्ताव दर्ता गर्न मंसिर १५ सम्मको समयसीमा तोकेपछि प्रधानमन्त्रीले राजनीतिक परामर्शलाई तीव्रता दिएका छन्।

सोही क्रममा बिहीबार विहान प्रमुख प्रतिपक्ष एमाले र सत्ता सहयात्री नेपाली कांग्रेसका शीर्ष नेतासँग प्रधानमन्त्रीले परामर्श गरेका हुन्। बैठकमा संविधान संशोधनका विषयमा दलीय सहमतिका आधारमा अगाडि बढ्ने नेताहरुबीच सहमति भएको छ।

प्रदेशको सीमांकन, राष्ट्रिय सभाको गठन, नागरिकता, भाषा आयोगलगायतका विषयमा बुँदागत छलफल गरी साझा प्रस्ताव तयार पार्ने तीन दलबीच सहमति भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, गृहमन्त्री बिमलेन्द्र निधिलगायतका नेताको उपस्थिति थियो।

 

प्रकाशित: २ मंसिर २०७३ ०५:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App