७ वैशाख २०८१ शुक्रबार
राजनीति

मोर्चाका सबै माग पूरा हुँदैनन् : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन हुने तर मधेसी मोर्चाले अघि सारेका सबै माग पूरा गर्न नसकिने बताएका छन्। राजधानीमा बुधबार सुरु भएको तीनदिने अन्तर्राष्ट्रिय शान्ति सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अहिलेको संसद्को बनोटको कारण मोर्चाका सबै माग पूरा गर्न सम्भव नभएको प्रस्ट पारेका हुन्। उनले संविधान संशोधन प्रस्तावको तयारी अन्तिम चरणमा पुगेको पनि बताए।

संविधान संशोधन हुनेमा ढुक्क हुन मोर्चालगायत असन्तुष्ट पक्षलाई आग्रह गर्दै दाहालले भने, 'तर, सबै माग पूरा हुँदैनन् भन्ने महन्थजी (महन्थ ठाकुर) लाई पनि थाहा छ। अहिलेको संसद्को बनोटले पनि त्यो सम्भव छैन।'

'नेपाल ट्रान्जिसन टु पिस इन्टिच्युट' को आयोजनामा भएको सम्मेलनमा दाहालले मधेसी, जनजाति, मुस्लिम र महिलालाई अधिकार सम्पन्न बनाउने मुद्दा नेपालमा माओवादीले स्थापित गरेको दाबी गर्दै भने, 'तपाईंहरू (सरोकारवाला पक्ष) ले उठाउनु भएको मागप्रति पनि हाम्रो आपत्ति छैन।'

संविधानप्रति असन्तुष्टि जनाउँदै आएको मधेसी मोर्चाले तराई–मधेस केन्द्रित आन्दोलन गर्दै आएको छ। मधेस आन्दोलन क्रममा ६० जनाजतिको ज्यान गएको छ।

असन्तुष्ट पक्षको माग सम्बोधन गर्न संविधान संशोधन र निर्धारित मितिमै तीनै तहको निर्वाचन गराउने तयारी सरकारले गरिहेको जानकारी दिँदै दाहालले छिमेकी देश र अन्तर्राष्ट्रिय समुदायलाई पनि यो विषयमा सघाउन आग्रह गरे। उनले सहमतिमै संविधान संशोधन हुने भन्दै प्रमुख प्रतिपक्षी दल एमालेसँग पनि यस विषयमा कुराकानी भइरहेको बताए। 'यो विषय राष्ट्रिय सहमतिमै टुंगियोस् भन्ने हो। कुनै दिन सकारात्मक र उत्साहप्रद रुपमा छलफल हुने गरेको छ भने कुनै दिन नकारात्मक हुने गरेको छ,' दाहालले भने।

आफ्नो नेतृत्वमा सरकार गठन भएपछि आन्दोलनकारी दलसँग विश्वासको वातावरण निर्माण भएको दाहालको दाबी थियो।

कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सरकारले नागरिकता, भाषा, प्रदेश सीमांकन र राष्ट्रियसभा गठनका विषयमा संविधानमा संशोधन तयारी गरेको बताए।

तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष ठाकुरले तराई–मधेसमा अहिले पनि  असन्तोषका कायमै रहेको भन्दै सानो घटनाले पनि फेिर आन्दोलन उठ्न सक्ने बताए। उनले अहिले गरिएको राज्य पुनः संरचना नै असन्तुष्टिको प्रमुख आधार रहेको बताए। ठाकुरले सयौ थुंगाको मालामा फूल सुक्न थालेको बताए।

ठाकुरपछि बोल्दै एमाले उपाध्यक्ष भीम रावलले सुक्न लागेका फुललाई सफा पानी हाल्दा हुने तर जरा नै काट्ने काम हुन थालेको बताए। 'देशको पहिचान मेटेर समुदायको पहिचान भेटिँदैन', रावलले भने।

सम्मेलनको उद्घाटना राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्। उनले संविधान कार्यान्वयनका लागि तोकिएको समयमै तीनै तहका निर्वाचन हुनुपर्नेमा जोड दिइन्।

प्रकाशित: २ मंसिर २०७३ ०१:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App