coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

'सर्वसम्मत' पदाधिकारी नमान्ने प्रतिनिधिको चेतावनी

पोखरा- नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको नेतृत्व 'सर्वसम्मति' बाट चयन गर्ने नाममा भोट माग्ने र दिने अधिकार नखोस्न महाधिवेशन प्रतिनिधिहरूले कांग्रेस शीर्ष नेतृत्वलाई आग्रह गरेका छन्। शीर्ष नेताहरूले 'सर्वसम्मति' का नाममा होटेल वा रेस्टुरामा तयार पारेको 'लिस्ट' आफूहरूलाई अमान्य हुने चेतावनी उनीहरूले दिएका छन्।

तरुण दलको महाधिवेशनअन्तर्गत शनिबारको बन्दसत्रमा बोल्ने अधिकांश प्रतिनिधिले माउ पार्टीभित्रको गुटबन्दीको विरोध गरे। विधानसम्मत तरिकाले चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्नुपर्ने उनीहरूको भनाइ थियो। 'शीर्ष नेताहरूले भिन्दाभिन्दै बन्दसत्र सञ्चालन गरेको सुनिएको छ। हामीलाई त्यो मान्य हुँदैन', तरुण दलका पूर्वसचिव दामोदर कोइरालाले भने, 'नेताहरूले तयार पारेको लिस्टमा हाम्रो सहमति हुनेछैन। शीर्ष नेताहरूको बन्दसत्र हामी मान्दैनौं।'

रामेछापकी महाधिवेशन प्रतिनिधि सुलोचा खड्काले पदमा पुग्न नेताको चाकरी नगर्न तरुणहरूलाई अनुरोध गरिन्। 'विधानसम्मत ढंगले हामीले स्वतन्त्र र निष्पक्ष तरिकाले उम्मेदवारी दिन पाउनुपर्छ। ठूला नेताहरूको भागबन्डा हामी मान्दैनौं,' उनले भनिन्, 'कसैले जबर्जस्ती पदाधिकारीको लिस्ट भित्तामा टाँस्छ भने त्यसमा हामी सहमत हुनेछैनौं। जर्बजस्ती पदाधिकारी चुनिएमा त्यो निर्णय असफल हुनेछ।'

कैलालीका तरुण सभापति दीपेन्द्र बमले नेताहरूको जुँगाको लडाइँको मारमा आफूहरू परेको बताए। 'पार्टी बलियो बनाउने हो भने तरुणमा पनि एकता चाहिन्छ। तर, नेताहरूले गुटबन्दी गर्न पाइँदैन,' उनले भने, 'विधानसम्मत तरिकाले महाधिवेशन प्रक्रिया अघि बढ्नुपर्छ।'

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच तरुण दलका पदाधिकारीको टुंगो लागेको हल्ला चलेसँगै बन्दसत्रमा बोल्ने अधिकांश प्रतिनिधिले त्यसको विरोध गरेका थिए। कास्कीका प्रतिनिधि शंकर ढुंगानाले भने, 'विधानसम्मत नगएर भित्तेलेखन भयो भने त्यो मान्य हुनेछैन। हामीले नेताको निर्णय चाहेका छैनौं,' उनले भने, 'नेताहरूले भित्तेलेखन सार्वजनिक गरे भने नेपाली कांग्रेसमा इमानदार कार्यकर्ताको खडे्री पर्नेछ।' विधिको शासन चलाउन उनले अनुरोध गरे। 'बन्दकोठामा पदाधिकारिको लिस्ट बन्न दिन्नौं,' ढुंगानाले भने।

स्याङ्जाका प्रतिनिधि कमल घिमिरेले आफूहरू मत माग्न र हाल्न आएकोले गेस्टहाउस र होटलको सहमति नमान्ने बताए। 'हामीले हाम्रो नेता आफैं चुन्न पाउनुपर्छ। कसैको नाममा लिस्ट तयार हुँदैछ भने त्यो हामीले मान्य छैन,' उनले भने, 'टीकेप्रथाबाट चुनिएको नेतृत्व हामी मान्दैनौं। नेताहरूले हाम्रो भनाइ सुन्दैनन् भने उनीहरूको कानमा झिरले प्वाल पारेर भए पनि हाम्रो असन्तुष्टि सुनाउनुपर्छ।' निर्वाचन प्रक्रियाबाट जो आए पनि स्वीकार नगर्ने उनले बताए।

भोट माग्न देखिएन उन्साह

शीर्ष नेताहरूले सर्वसम्मतिको नाममा पदाधिकारी चयन गर्ने हल्ला चलपछि तरुण दलको बन्दसत्र उत्साहहीन देखियो। तरुण नेताहरू कसको नाममा सर्वसम्मत हुने भन्दै अड्कल काट्न व्यस्त थिए। भित्र बन्दसत्र चलिरहँदा पोखरा सभागृहबाहिर जम्मा भएको भीड मत माग्न र चुनाव प्रचारमा जम्न सकेन।

'मत माग्ने अभियानमा कोही पनि छैन। सर्वसम्मत तरिकाले पदाधिकारी चयन हुने हल्ला बाहिर आएको छ,' महाधिवेशन प्रतिनिधि घिमिरेले भने, 'शीर्ष नेताको लिस्ट आउँदैछ भन्ने थाहा पाएपछि चुनावी रन्को लाग्न सकेन। चुनाव हुने सम्भावना कम भएपछि उम्मेदवार हुन चाहेका तरुणहरूमा भोट माग्ने उत्साह छैन।'

तरुण दल म्याग्दीका अध्यक्ष मुकुन्द छन्त्यालले पनि चुनाव नहुने देख्दा निराश हुनुपरेको बताए। 'लोकतन्त्रको मूल्यमान्यता मान्ने पार्टीले चुनाव हुन दिनुपर्छ,' उनले भने। सुर्खेतका अध्यक्ष हरि बिष्टले उत्साहसाथ पोखरा आए पनि यहाँ आउँदा उत्साह मरेको बताए। 'हाम्रो पीडा सुन्ने कोही नेता रहेनछन्, हामी जुन उत्साह लिएर आएका थियौं, त्यो मरेको छ,' उनले भने।

विधान संशोधनको तयारी

तरुण दलले तीन वर्षअघिको विधान संशोधन गर्ने तयारी गरेको छ। यसअघिको विधानमा ६१ सदस्यीय रहने केन्द्रीय समितिलाई विस्तार गरी ७५ वा ८१ पुर्‍याउने भन्ने अझै टुंगो लागेको छैन। आइतबार पेस गर्ने भनिएको विधान संशोधनको प्रस्ताव समय अभावले सोमबार मात्र पेस हुने भएको छ।

तरण दलका एक केन्द्रीय सदस्यका अनुसार संशोधित विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष निर्वाचित र मनोनीत केन्द्रीय सदस्य हुनेछन्। त्यस्तै महिला, जनजाति आदिवासी, सहिद परिवार, तेस्रो लिंगी, मुस्लिमलगायतका क्षेत्रबाट समावेशी पदाधिकारी चयन गरिनेछ। त्यस्तै अञ्चलको साटो प्रदेशका पदाधिकारी पनि चयन गरिनेछ।

'समावेशी बनाउने पहल गर्दा संख्या बढ्न गएको हो,' एक केन्द्रीय सदस्यले भने, 'कति संख्या बनाउने भन्ने अझै यकिन छैन।' विधान संशोधन गर्न विधान समिति बनेको छ। त्यही समितिले तयार पारेको मस्यौदा आइतबार पेस गरिनेछ।

आइतबारको बन्द सत्रमा अध्यक्ष उदयशमशेर राणाले आफ्नो प्रतिवेदन पेस गरे। त्यस्तै आर्थिक प्रतिवेदन केन्द्रीय सदस्य राधा घलेले पेस गरिन्। अध्यक्षको प्रतिवेदन छलफल भएर पास भएको छ। आर्थिक प्रतिवेदनमा सोमबार बिहान पनि छलफल हुनेछ।

अध्यक्ष राणाले युवाको साझा समस्या बेरोजगारी रहेको बताए। नेपाली तरुणहरू बिदेसिँदा अरु मुलुक विकसित भएको तर आफ्नै देश ओरालो लागेको उनको भनाइ थियो। 'बिदेसिएका युवालाई राष्ट्र निर्माणमा लगाउनुपर्छ। त्यसका लागि जलस्रोत, र पर्यटन क्षेत्रमा युवामैत्री लगानी भित्रिनुपर्छ,' उनले भने। तरुण युवाहरूलाई बेरोजगार भत्ताको साटो उद्योग व्यवसायका लागि क्षमता र योग्यताको आधारमा अनुदान र सहुलियत ऋण उपलब्ध गराउनुपर्ने उनले बताए।

पोखरामा शुक्रबारदेखि चलिरहेको महाधिवेशन सोमबार चुनावी प्रक्रिया सम्पन्न गरी अन्त्य हुने भनिए पनि बन्दसत्र लम्बिँदा तोकिएकै समयमा नसकिने सम्भावना देखिएको तरुण दलका नेताहरूको भनाइ छ। 'बन्दसत्र नै सकिएको छैन। चुनावी प्रक्रिया त अहिलेसम्म सुरु नै भएको छैन,' एक केन्द्रीय सदस्यले भने, 'त्यही भएर लम्बिन सक्छ। चुनावी प्रक्रिया सुरु भयो भने पनि लम्बिन्छ।' महाधिवेशनमा भक्तपुर र सप्तरीबाहेक ७१ जिल्लाबाट एक हजार एक सय८२ जना प्रतिनिधि पोखरा आएका छन्।

प्रकाशित: २९ कार्तिक २०७३ ०२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App