१५ चैत्र २०८० बिहीबार
राजनीति

तरुण दल महाधिवेशन सुरु, नेतृत्व सर्वसम्मत बनाउन सुझाव

पोखरा- नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको चौथो महाधिवेशन शनिबार पोखरामा सुरु भएको छ। १२ वर्षपछि सुरु महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ। लामो समयको विवादपछि सुरु हुन थालेको महाधिवेशनले सबै पक्षलाई मिलाएर सर्वसम्मत तरिकाबाट पदाधिकारी चयन गर्न शीर्ष नेताहरूले सुझाएका छन्।

महाधिवेशन उद्घाटन गर्दै पार्टी सभापति शेरबहादुर देउवाले आगामी स्थानीयलगायतका चुनाव जित्न पनि तरुण दलले अहिले सर्वसम्मत तबरबाट नेतृत्व चयन गर्नुपर्ने बताए। 'सबैतिरबाट लचिलो भएर तरुण दलको चुनाव गर्नुस्। भविष्यमा चुनावका बेला तरुण दलका युवालाई महŒवपूर्ण जिम्मा मैले दिनेछु', उनले भने, 'नेतृत्व मिलाएर लैजान सकेको खण्डमा मात्र तरुण दल बलियो हुन्छ।'

सबैलाई मिलाएर, सबैको प्रतिष्ठालाई सन्तुलन गरेर अघि बढ्न सभापति देउवाले निर्देशन दिए। 'स्थानीय चुनाव जित्नकै लागि पनि तरुण दलमा सर्वसम्मत तरिकाले पदाधिकारी चयन हुनुपर्छ', उनले भने, 'अहिले तरुण दल एकजुट भयो भने यसले आगामी निर्वाचन जित्न सहयोग पुग्छ। कुनै पनि हालतमा स्थानीय चुनाव कांग्रेसले जित्नुपर्ने भएकोले पनि अहिले एकताबद्ध हुनुपर्छ।'

वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी एक भएर अघि बढ्नुपर्ने बताए। उनले पार्टीलाई एक बनाउन सबै पक्ष लचिलो बन्नुपर्नेमा जोड दिए। 'पार्टीभित्र एकता यत्तिकै हुँदैन, एकता गर्ने आधार हुन्छन्। तिनै आधारलाई मानेर एकता गर्नुपर्छ', उनले भने, 'पार्टी बलियो बनाउन जरुरी छ।'

उनले पार्टी सभापति देउवा असफल भएर आफू सफल हुन नखोजेको बताए। 'शेरबहादुर जी असफल भए म पनि सफल हुन्नँ। पार्टीभित्र एकले अर्काेलाई असफल बनाउन नलागौं', पौडेलले भने, 'त्यसको लागि एकतामा साथ दिन म तयार छु। मैले पार्टीलाई जोखिममा पारेर स्वार्थ पूरा गरेको छैन। त्यसैले मिलेर पार्टी बचाउनुपर्छ।'

महामन्त्री शशांक कोइरालाले पनि पार्टी एकजुट भएर अघि बढ्नुपर्ने बताए। 'आगामी चुनावमा कम्युनिस्ट दलहरू एकजुट हुन सक्ने भएकाले त्यससँग प्रतिस्पर्धा गर्न कांग्रेसमा पनि एकता जरुरी छ', उनले भने। अर्का नेता कृष्णप्रसाद सिटौलाले पद्धतिबमोजिम तरुण दलको नेतृत्व चयन हुनुपर्ने बताए। कार्यक्रममा सहभागी अन्य नेताहरूले पनि सर्वसम्मत तबरबाट तरुण नेतृत्व चयन गरेर उदाहरण पेस गर्न पार्टीलाई सुझाएका थिए।

यसअघि दुईपटकसम्म स्थगित महाधिवेशन सोमबारसम्म चल्नेछ। महाधिवेशनमा प्रत्येक जिल्लाबाट ८, क्षेत्रबाट २, नगर अध्यक्ष, उपमहानगर र महानगरबाट २–२, विदेश विभाग एकाइबाट ३–३, केन्द्रीय समितिबाट ४५, मनोनीत २० जनासहितका प्रतिनिधि पोखरा आएका छन्। यसअघि ६१ जनाको कार्यसमिति हुनेमा अब बढाएर ७५ पुग्न सक्ने पदाधिकारी बताउँछन्।

आइतबार बिहान ८ बजेदेखि पोखरा सभागृहमा बन्दसत्र सुरु हुनेछ। सोमबार निर्वाचनमार्फत पदाधिकारी चयन गरिने कार्यक्रम छ। नेतृत्वलाई सकेसम्म सर्वसम्मत बनाउने प्रयास भइरहेको तरुण दलले जनाएको छ। उद्घाटन समारोहमा कास्की र छिमेकी जिल्लाका कांग्रेस कार्यकर्ता र तरुण युवा गरी ठूलो संख्यामा सहभागी भएका छन्।

कचकच हटाऔं

कांग्रेस सभापति शेरबहादुर देउवाले सविधान संशोधन गरेर भए पनि तराई केन्द्रित दलको कचकच हटाउनुपर्ने बताएका छन्। उनले संविधान कार्यान्वयनका लागि सबै दल एकजुट भएर अघि बढ्नुपर्ने बताए। 'तराईका दलको कचकच हटाउन जरुरी छ। त्यसका लागि पहल भइरहेको छ,' उनले भने।

वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टिलाई समाधान गरेर निर्वाचन गर्ने बाटो खोल्नुपर्ने बताए। 'सातातिना कुरामा अड्किएर संविधान कार्यान्वयनको गाँठो अड्काउनु भएन,' उनले भने, 'त्यसैले राष्ट्रलाई आघात नपुग्नेगरी संशोधन गर्न तयार हुनुपर्छ।' अर्का नेता कृष्ण सिटौलाले मौलिकतामा चोट पर्नेगरी संविधान संशोधन गर्न नहुने बताए।

प्रकाशित: २८ कार्तिक २०७३ ०२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App