coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

'एक चीन नीतिमा नेपाल दृढ'

काठमाडौं–परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपाल र नेपालका नेता एक चीन नीतिमा प्रतिबद्ध भएको बताएका छन् । परराष्ट्र मन्त्रालयमा मंगलबार साँझ सञ्चारकर्मीसँग परराष्ट्रमन्त्री महतले भने, ‘एक चीन नीतिप्रति कुनै दुविधा छैन । हामीले यसमा पटकपटक प्रतिबद्धता व्यक्त गर्दै आएका छौं । न चीन सरकारलाई नेपालको एक चीन नीतिप्रति शंका छ ।’

महतले यस विषयमा नेपाल सरकारसँग चिनियाँ दूतावासले कुनै जवाफ नमागेको पनि बताए । उनले सरकार, सत्तारुढ दलका नेता र मन्त्री कोही पनि चीनविरोधी गतिविधिमा नलागेको दाबी गरे ।

यसैबीच, परराष्ट्रसचिव शंकरदास बैरागीले चिनियाँ दूतावासका अधिकारीलाई सोमबार मन्त्रालयमा बोलाएर नेपाल एक चीन नीतिप्रति अडिग रहेको स्पष्ट पारेका छन् । ‘हामीले दूतावासका अधिकारीलाई असन्तुष्ट भएको हो भनेर सोध्यौं,’ महतले भने, ‘होइन भन्ने जवाफ आएको छ ।

नेपालस्थित चिनियाँ दूतावासले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको मिति तय नहुँदै यहाँको सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको विषय, चीनको चर्को आलोचना गर्ने भारतीय गैरसरकारी संस्थाको कार्यक्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सहभागिता, भारत निर्वासित तिब्बती नेता सामेल कार्यक्रममा देउवाको उपस्थिति, नेपाल आर्ट काउन्सिलको कार्यक्रममा ताइवानको झन्डा राखिएको र गृहमन्त्री विमलेन्द्र निधिका गतिविधिप्रति आपत्ति जनाउँदै एक चीन नीतिसम्बन्धी धारणा मागेको थियो ।

नेपाल आर्ट काउन्सिलमा भएको कार्यक्रममा ताइवानी झन्डा राखिएको विषयमा चिनियाँ दूतावासले जानकारी गराएपछि हटाउन लगाएको मन्त्री महतले बताए । ‘आर्ट काउन्सिलको कार्यक्रममा ताइवानको झन्डा राखिएको विषयमा दूतावासबाट परराष्ट्र मन्त्रालयमा जानकारी गराइएको थियो,’ उनले भने, ‘गृह मन्त्रालयमार्फत कार्यक्रमस्थल पुग्दा ती झन्डा हटाएको भेटियो । बिनाकारण मन्त्रीलाई विवादमा तान्ने काम भएको छ ।’

काउन्सिलमा भएको अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनमा ताइवानलाई स्वतन्त्र देशका रुपमा प्रस्तुत गर्दै उसको झन्डा राखिएको थियो । चिनियाँ अधिकारीले परराष्ट्र मन्त्रालयमा त्यो विषयमा आपत्ति जनाएपछि मन्त्री महतले प्रहरी महानिरीक्षकलाई फोन गरेर झन्डा हटाउन निर्देशन दिएका थिए ।

‘प्रहरी कार्यक्रमस्थल पुग्दा कार्यक्रम सकिइसकेको थियो,’ प्रहरीका एक अधिकारीले भने, ‘भोलिपल्ट कार्यक्रम हुँदा ताइवानको झन्डा राखिएको थिएन ।’ माओत्से तुङको नेतृत्वमा चीनमा भएको जनवादी क्रान्तिपछि पराजित कोमिन्ताङ पार्टीका सदस्यहरू ताइवानमा बस्दै आएका छन् । नेपालले ताइवानलाई चीनको अभिन्न अंग मान्दै आएको छ ।

मन्त्री महतले नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री देउवा सहभागी भारतको गोवामा आयोजित एक कार्यक्रममा तिब्बतबाट निर्वासित नेताहरू नभएकोे बताए । सत्तारुढ भारतीय जनता पार्टी निकट ‘इन्डिया फाउन्डेसन’ ले आयोजना गरेको कार्यक्रममा देउवा प्रमुख वक्ता रहेका बेला  तिब्बतबाट निर्वासित नेता नभएको उनले प्रस्ट पारे । तिब्बतको निर्वासित सरकारका प्रधानमन्त्री लोप्सान साङे वक्ता रहेको सो कार्यक्रममा तिब्बतका धर्मगुरु दलाई लामाले भिडियो कन्फरेन्समार्फत सम्बोधन गरेको बताइएको छ ।

‘शेरबहादुर देउवा एक चीन नीतिमा प्रतिबद्ध हुनुहुन्छ । उहाँले एउटै मञ्चमा निर्वासित तिब्बती नेतासँग अन्तक्र्रिया गर्नुभएको छैन,’ महतले भने, ‘यो नियोजित रुपमा प्रचार भएको छ ।’

 

प्रकाशित: २४ कार्तिक २०७३ ००:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App