१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रधानमन्त्री समक्ष मागै माग

खोटाङबासीको तर्फबाट प्रधानमन्त्री समक्ष संयुक्त माग राख्दै माओवादी केन्द्रका नेता पृथ्वी किराती ।

खोटाङ– राष्ट्रिय महत्वका बिकास योजनाको निर्माणका काममा भइरहेको ढिलासुस्ती र गुणस्तरहिनताका बिषयमा खोटाङबासीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय गौरवका आयोजनाको नियमित अनुगमन र निरीक्षणकाक्रममा प्रधानमन्त्री दाहाल मंगलबार सदरमुकाम दिक्तेल आइपुगेको मौका छोपेर जिल्लाबासीले जिल्लाको पुल, सडक, जलबिद्युत लगायतका बिकास निर्माणमा भइरहेको ढिलासुस्ती र गुणस्तरहिनताका विषयमा असन्तुष्टी पोखेका हुन् । जिल्लाका दश राजनैतिक दल, उद्योग बाणिज्य संघ लगायतमार्फत मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने दुधकोसीस्थित जयरामको पुल सम्झौता मिति नाघेको ४ वर्ष बित्दा समेत पूरा हुन नसकेको, मध्यपहाडी लोकमार्ग अन्तरगत जयराम–दिक्तेल–चखेवाभञ्ज्याङ सडक पिचका काममा ढिलाइ भइरहेको, काम भएका ठाउँमा पनि गुणस्तरहिन काम भएको लगायतका समस्या समाधानकालागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

राजनैतिक दलकातर्फबाट नेकपा माओबादी केन्द्र खोटाङका अध्यक्ष पृथ्बी किरातीले प्रधानमन्त्री समक्ष जयरामको पुल निर्माणको काम तत्काल पूरा गराउन, दिक्तेल–खोटाङबजार–चिसापानी हुँदै उदयपुरको बेल्टार जोड्ने सडक स्तरोन्नतीकालागि व्यवस्था मिलाउन, खोटाङ र तराई जोड्ने सुनकोसीको फोक्सिङटारस्थित पुल निर्माणको काम तत्काल अघि बढाउन, हिन्दु, किरात र बौद्धधर्मावलम्बीको धार्मिक केन्द्र हलेसीलाई बिश्व सम्पदा सूचीमा समाबेश गर्न, हलेसीको जग्गा अतिक्रमणलाई रोक्न लगायतका १४ बुँदे माग पत्र बुझाए ।

यस्तै, उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाको कामलाई तत्काल अघि बढाउन, हलेसी बिकास क्षेत्रको गुरुयोजना निर्माण गरी कार्यान्वयन गर्न, कृषि क्याम्पस स्थापनाकालागि पहल गर्न, नेपालका अलैंचीलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने निती तयार पार्न लगायतका पाँच बुँदे माग राखेर प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका छन् । २० वर्षपछि जिल्लामा बहालवाला प्रधानमन्त्री आएको मौका छोपेर थरिथरिका माग राखिएको हो । दलकातर्फबाट बुझाइए बाहेक संघीय समाजबादी फोरमले प्रधानमन्त्रीलाई छुट्टै ज्ञापनपत्र बुझायो । संघीय समाजबादी फोरमका जिल्ला सचिव प्रेम राईले बुझाएको ज्ञापनपत्रमा जिल्लाका थलिएका बिकासका कामलाई चाँडो र गुणस्तरीय ढंगले पूरा गर्ने व्यवस्था मिलाउन, जिल्लामा संस्थागतरुपमा बढ्दो अनियमितता, भ्रष्टाचार, घुसखोरी र कमिसनतन्त्रको अन्त्या गरी सुशासनको प्रत्याभुती दिलाउन, आफ्नै पार्टीको सहभागीतामा स्थानीय तहको पुःर्नसंरचनाका बिषयमा छलफल गर्ने वाताबरण बनाउन माग गरिएको छ ।

सांसद पाँचकर्ण राईले पनि जनप्रतिनिधिको हैसियतमा मन्तव्यमार्फत जिल्लाको बिकास निर्माणका बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । सांसद राईले ६ महिनाभित्रै जयरामको पुल निर्माणमा पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । ‘जयरामघाटको पुल नबनाउने एउटा ठेकेदार सम्माननीय प्रधानमन्त्री ज्यूकै मन्त्रीमण्डलमा हुनुहुन्छ,’ सांसद राईले भने, ‘उहाँको नाम नभनौँ, त्यो पुल छिटो सक्न उहाँलाई दवाव दिनु प¥यो ।’

भौतिक योजना सचिव धनबहादुर तामाङ सहित दिक्तेल आइपुगेका प्रधानमन्त्री दाहालले खोटाङबासीको माग पूरा गर्न पहल गर्ने आश्वसन दिए ।

 

प्रकाशित: २३ कार्तिक २०७३ ११:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App