७ वैशाख २०८१ शुक्रबार
राजनीति

'संशोधन प्रस्ताव दर्ताको अन्तिम तयारी'

बाबियाचौर (म्याग्दी)—शिक्षामन्त्री धनीराम पौडेलले सरकारले संविधान संशोधन प्रस्ताव दर्ताको लागि अन्तिम तयारी गरेको बताएका छन्।

प्रेस सेन्टर नेपाल जिल्ला शाखा म्याग्दीले आज बिहान बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले संशोधन प्रस्तावले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनको वातावरण बनाउन सघाउ पुग्ने धारणा राखे।

मधेस केन्द्रित, सत्ता साझेदार, प्रतिपक्ष र नागरिक समाजसँग छठ अघि नै संशोधनको विषयमा सहमति कायम गर्ने पहल भइरहेको मन्त्री पौडेलले जानकारी दिए।

संविधान संशोधन, निर्वाचन आयोगको तयारी र निर्वाचन सम्बन्धित कानुन निर्माण, स्थानीय तहको सिमाना निर्धारणसँगै चुनावमा भाग लिने सबै राजनीतिक दलको प्रतिबद्धतासहितको वातावरण बनाउन सरकारले जोड दिएको मन्त्री पौडेलको भनाइ थियो।

मन्त्री पौडेलले हालै संशोधन भएको शिक्षा ऐन कार्यान्वयनका लागि नियमावली निर्माण कार्य अन्तिम चरणमा पुगेको र शिक्षा आयोग गठनको तयारी भएको तथा अस्थायी शिक्षक व्यवस्थापनका लागि प्रक्रिया अघि बढिसकेको जानकारी दिए।

जनताको गुणस्तरीय शिक्षामा पहुँच बढाउने, विद्यालयको पहुँचमा आएका विद्यार्थीलाई टिकाउने र दक्ष बनाउन यसै वर्षदेखि सात वर्षे विद्यालय क्षेत्र विकास योजना लागू गरेको मन्त्री पौडेलले बताए।

सामुदायिक विद्यालयप्रति विश्वासको वातावरण बनाउन सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाउने शिक्षकलाई प्रोत्साहनका लागि पुरस्कृत गरिने मन्त्री पौडेलले जानकारी दिए।

उनले शिक्षक राजनीतिक दलको कार्यसमितमा बस्न नपाउने व्यवस्था कार्यान्वयनका लागि नागरिक समाज र सरोकारवालाबाट सहयोगको अपेक्षा व्यक्त गरे। रासस

प्रकाशित: १५ कार्तिक २०७३ ०५:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App