coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सामाजिक सञ्जालमा विरोध हुँदैमा विदा फिर्ता हुँदैनः दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउने दिन दिने भनिएको सार्वजनिक विदा फिर्ता नहुने बताएका छन्। सामाजिक सञ्जाल र सञ्चारमाध्यममा दाहाल सरकार 'भारतसँग लम्पसार' परेको भन्दै चर्को आलोचना भइरहेका बेला शनिबार साँझ सञ्चारकर्मीहरुबीच उनले निर्णय फिर्ता नहुने बताएका हुन्।

'सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट विरोध गर्दैमा विदा फिर्ता हुँदैन', उनले भने।

भारतीय राष्ट्रपति मुखर्जीको भ्रमण कुटनीतिकरुपमा महत्वपूर्ण हुने भन्दै उनले यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने विश्वास व्यक्त गरे। राष्ट्रपति मूखर्जीको नेपाल भ्रमणको समयमा दिइएको सार्वजनिक विदाको विरोध हुनु दु:खद भएको प्रधानमन्त्रीको भनाई थियो।

'हामी धेरै नकारात्मक भयौं। दुई मुलुकको सम्बन्धलाई असर पुग्ने गरी नकारात्मक नबनौं', सीमित सञ्चारकर्मीबीच उनले भने, 'नकारात्मक सोचाई धेरै बढ्दा विकासमानै बाधा पुग्छ।' विदा दिने सरकारको निर्णयप्रति उनी दृढ देखिए। 'सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट विरोध गर्दैमा विदा फिर्ता हुँदैन', उनले भने।

राष्ट्रपति र परराष्ट्रको सल्लाहमै सार्वजनिक विदा दिइएको उनको भनाइ थियो। भीभीआइपी सुरक्षाको दृष्टिकोण तथा काठमाडौंको ट्राफिक व्यवस्थापन सजिलो पार्न पनि विदाको निर्णयमा पुग्नु परेको उनले सुनाए।

'विदाको दोष सबै मेरो टाउकोमा आयो तर यो मेरो एकल निर्णय होइन। सबै पक्षसँग छलफल गरी विदा दिँदै फाइदा हुन्छ भनेरै विदा दिइएको हो', उनले भने।

बिहीबारको मन्त्रिपरिषद बैठकले भारतीय राष्ट्रपति नेपाल अाउने दिन कात्तिक १७ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो। राजनीतिमा भारतीय हस्तक्षेपको चरम अनुभव गरिरहेका नेपालीले गत वर्षको भारतीय नाकाबन्दी सम्झँदै सो निर्णयको चर्को अालाेचना गरेका थिए। दाहाल सरकार भारतसँग लम्पसार परेको धेरैको भनाइ थियो।

प्रकाशित: १४ कार्तिक २०७३ ०३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App