७ वैशाख २०८१ शुक्रबार
राजनीति

भारतीय राष्ट्रपतिको स्वागत गर्न बुधबार सार्वजनिक बिदा

काठमाडौं- भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने दिन सरकारले सार्वजनिक बिदा दिने  भएको छ। मन्त्रिपरिषद्को बिहीबारको  बैठकले चीन र भारतका राष्ट्रपति नेपाल भ्रमणमा आउने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

भारतका राष्ट्रपति मुखर्जी १७ गते (बुधबार) नेपालको तीनदिने भ्रमणका लागि काठमाडौं आउँदैछन्। चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल आउने भनिए पनि मिति तय भएको छैन।

मन्त्रिपरिषद्ले भारतका राष्ट्रपति मुखर्जी काठमाडौं उत्रिँदा स्वागतका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले दिए। उनका अनुसार मन्त्रिपरिषद्ले यो पटक मात्र नभई अबदेखि दुई छिमेकी मुलुक भारत र चीनका राष्ट्र प्रमुख नेपाल आउने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सरकारको यो निर्णयप्रति सामाजिक सञ्जाल फेसबुक तथा टि्वटरमा स्वागत र विरोधमा विचार व्यक्त भएका छन्। ट्राफिक प्रहरीले सरकारको निर्णयको स्वागत गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले भारतीय राष्ट्रपति मुखर्जी नेपाल आउने दिन अत्यावश्यकबाहेक सवारी साधन चलाउन रोक लगाउने तयारी गरेको छ।

राष्ट्रपति मुखर्जीको आवतजावत हुने स्थानमा सार्वजनिक सवारी आवागमनमा रोक लगाउने तयारी भएको महाशाखा प्रमुख डिआइजी प्रकाश अर्यालले जानकारी दिए। उनका अनुसार छिमेकी राष्ट्राध्यक्षको सुरक्षा र आवागमनलाई ध्यान राख्दै निश्चित क्षेत्रमा अत्यावश्यकबाहेक सवारीसाधन चलाउन रोक लगाउन लागिएको हो।

उनले राष्ट्राध्यक्षको सवारीक्रममा विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन निर्देशिका अनुसार बाटो क्लियर गर्नुपर्ने भएकाले सवारीसधान नचलाउन सबैलाई आग्रह गरिने बताए। 'भिआइपीको सुरक्षाका लागि तीनवटा लेनमा कार्गेट गुड्ने र त्यसको बीचमा भीआइपी सवार गाडी गुड्ने भएकाले बाटो खाली गर्नुको विकल्प छैन,' उनले भने, 'उपत्यकामा सवारी व्यवस्थापन असहज भएकाले भ्रमणका बेला निश्चित स्थानमा सवारीसाधन चलाउन रोक लगाउने निर्णयमा पुगेका हौं।'

सरकारले सार्वजनिक बिदा दिएका कारण सवारी व्यवस्थापनमा सहज हुने छ। राष्ट्रपति मुखर्जीको भ्रमणक्रममा मुख्यगरी, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, चाबहिल, गौशाला, लाजिम्पाट, महाराजगञ्जलगायत क्षेत्रमा सार्वजनिक सवारी आवागनमा रोक लगाउने तयारी भएको छ।

यसैगरी मन्त्रिपरिषद्ले घरेलु तथा साना उद्योग विकास सञ्चालक समितिमा सिन्धुली, झाँगाझोलीका दीपेन्› आचार्यलाई नियुक्त गर्ने निर्णय लिएको छ। यस्तै बैठकले थानकोट–चित्लाङ गणेशमान मार्ग स्तरोन्नति गर्ने निर्णय लिएको जानकारी प्रवक्ता कार्कीले दिए।

प्रकाशित: १२ कार्तिक २०७३ ०२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App