१५ चैत्र २०८० बिहीबार
राजनीति

महाभियोगमा छलफल भोलि

काठमाडौं- व्यवस्थापिका संसद्ले मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमा छलफल गर्ने भएको छ। संसद्को आइतबारको बैठकमा महाभियोग प्रस्ताव पेस भएपछि यसबारे मंगलबार छलफल गर्ने कार्यक्रम तय भएको हो।

सभामुख ओनसरी घर्तीले संविधानको धारा १०१ र संसद नियमावलीको नियम १६८ अनुसार महाभियोग प्रस्तावमाथि मंगलबारदेखि संसदमा छलफल हुने जानकारी दिइन्। छलफलमा सांसदले महाभियोग प्रस्तावमा आआफ्ना धारणा राख्ने छन्। सबै सांसदले यसबारेमा बोल्न चाहे छलफल लम्बिने छ।

माओवादी केन्द्रका ५० र एमालेका एक सय सात गरी एक सय ५७ सांसदको हस्ताक्षरसहित बुधबार महाभियोग प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको थियो। महाभियोगको प्रस्तावक माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाही र समर्थक एमाले प्रमुख सचेतक भानुभक्त ढकाल हुन्।

संसद्मा महाभियोग प्रस्ताव प्रस्तुत भएपछि कार्की पूर्ण रुपमा निलम्बनमा गएका छन्। सचिवालयमा प्रस्ताव दर्तापछि उनले आयोग प्रमुख आयुक्त हैसियतमा कामकारबाही गर्ने अधिकार गुमाएका थिए। निलम्बनमा परेका कार्कीले महाभियोग टुंगो नलाग्दासम्म हाल उपभोग गर्दै आएको सरकारी सेवासुविधा आधामात्रै पाउने छन्। र, आयोग प्रमुख हैसियतमा कुनै काम गर्न पाउने छैनन्।

महाभियोग प्रस्तावमा कार्कीले अख्तियार प्रमुखको पदीय मर्यादाविपरीत काम गरेको, संविधानप्रदत्त जिम्मेवारी र अधिकार दुरुपयोग गरेको, भ्रष्टाचार निवारण गर्नेभन्दा मोलमोलाइ गरी दोषीलाई उम्काउने गरेको लगायत सातवटा आरोप लगाइएको छ।

सभामुखले आइतबार नै संसद्को दुईवटा बैठक राखेर उक्त प्रस्तावमा छलफल गराउन सक्ने भए पनि दलहरूको आग्रहमा छलफल दुई दिन पर सारिएको हो। संसद् बैठकअघि बसेको कार्य व्यवस्था परामर्श समिति बैठकमा दलका नेताहरूले प्रस्तावमा छलफलका लागि केही दिन समय मागेपछि मंगलबारका लागि तोकिएको सभामुख घर्तीले बताइन्।

'आइतबार नै छलफल सुरु गर्दा दुईवटा बैठक राख्नुपर्ने अवस्था देखियो,' उनले भनिन्, 'कार्यव्यवस्था परामर्श समितिमा दलका नेताहरूले छलफल कार्यक्रम केही दिनपछि राख्न भनेपछि मंगलबारलाई तोकिएको हो।'  परामर्श समितिमा नेपाली कांग्रेसका सदस्यले पार्टी केन्द्रीय समितिको बैठक जारी रहेकाले महाभियोग प्रस्ताव छलफल कार्यक्रम केही दिन पर सार्न माग गरेका थिए।

प्रक्रिया अब रोकिँदैन : सभामुख

सभामुख ओनसरी घर्तीले महाभियोग प्रस्तावसम्बन्धी प्रक्रिया अगाडि बढिसकेकाले अब टुंगोमा पुगेर मात्र रोकिने बताएकी छन्।

आफ्नै कार्यकक्ष सिंहदरबारमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन्, 'अब यो प्रक्रिया अघि बढिसकेको छ यसमा कुनै खालको चलखेल हुन सक्दैन। अब प्रस्तावकले फिर्ता लिए मात्रै रोकिने हो, त्यस्तो हुने कुरै भएन।'

उनका अनुसार दलहरुले फेरि समय मागे प्रस्तावमा छलफलका लागि अर्को दिन पनि तोकिन सक्छ। उनले भनिन्, 'मगंलबार प्रस्तावकले प्रस्ताव पेस गरेपछि त्यही दिन पनि छलफल गर्न सकिन्छ। दलहरूले तयारीका लागि समय मागे भने अर्को दिन तोक्न सकिन्छ।'

नियमावलीले नै सबै प्रक्रिया तोकेकाले यसमा कुनै आलटाल नहुने उनले बताइन्। 'सबै सांसदले बोल्न चाहे भने मैले बोल्न दिनुपर्छ, पेलेर जान मिल्दैन, सबैले बोल्न चाहेको अवस्थामा केही दिन छलफल लम्बिन सक्छ,' उनले भनिन्, 'दलहरूले प्रतिनिधिमूलक धारणा राख्ने सहमति गरे भने एक दिनमै छलफल सकिन्छ।'

केही विषयमा आफूले पनि परामर्श गर्नुपर्ने भएकाले महाभियोग प्रस्ताव प्रक्रिया अघि बढाउन केही ढिला भएको उनले प्रस्ट पारिन्। प्रस्ताव छलफलपछि महाभियोग सिफारिस समितिमा पठाइने छ। नियमावलीमै महाभियोग समितिको बारेमा स्पष्ट कानुनी व्यवस्था भएकाले सिफारिस हुने वा नहुने विषयमा विवाद गर्न आवश्यक नभएको उनले बताइन्। नियमावलीमा  एक महिनाभित्र सिफारिस समितिले प्रतिवेदन दिनुपर्ने र आरोपितलाई एक साता सफाइ दिन मौका दिने स्पष्ट लेखिएकाले कुनै ठाउँमा नरोकिने उनले जनाइन्।

सभामुख घर्तीले महाभियोग प्रस्तावको विषयलाई लिएर आफूलाई अहिलेसम्म कतैबाट दबाब नआएको बताइन्।

प्रकाशित: ८ कार्तिक २०७३ ०१:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App