१६ चैत्र २०८० शुक्रबार
राजनीति

संविधान संशोधनको प्रस्ताव छिटो ल्याउन सांसदहरुको माग

काठमाडौं- व्यवस्थापिका-संसद्को आजको बैठकको विशेष समयमा सांसदहरूले संविधान संशोधन गरी खासगरी तराई-मधेस, थारु समुदायका माग सम्बोधन गर्नसरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले संविधान संशोधनका विषय प्रतिपक्षी दल लगायत सबै जनताले जानकारी पाउनुपर्छ भन्दै सरकारलाई सबै दलको सहमतिमा मात्र संविधान संशोधनको प्रस्ताव ल्याउन सुझाव दिए।

नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरले संविधान संशोधन प्रस्ताव सदनमा छिटो प्रस्तुत गर्न माग गर्दै संविधान संशोधनले मात्र तराई-मधेसको समस्याको समाधान हुने बताए। सोही दलका राधेश्याम अधिकारीले कानुनी राज्य कायम गर्न सरकार किन डराइरहेको छ भन्ने प्रश्न गर्दै कानुनभन्दा माथि कोही हुन सक्दैन भने। उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख बिदामा बसेका बारेमा सरकारले सदनमा जानकारी दिनुपर्ने बताए।

कांग्रेसकै तेजुलाल चौधरीले प्रधानमन्त्रीले संविधानका बारेमा बोलेका कुरालाई व्यावहारिक रूपमा कहिले पूरा गर्नुहुन्छ भन्ने प्रश्न गर्दै संविधान संशोधनका विषयमा उनको बोलाइ र गराइ फरक रहेको पाइएको बताए।

नेकपा (माओवादी केन्द्र)का हरिबोल गजुरेलले सबै दलको सहमतिमा संविधान संशोधनको प्रस्ताव सदनमा प्रस्तुत गर्न माग गर्दै संविधान संशोधन गर्दा सहमत भएका दलले पनि सहयोग गर्नुपर्ने बताए। सोही दलका श्यामकुमार श्रेष्ठले भूकम्पपीडितलाई आवास निर्माण गर्न सरकारले दिने भनेको अनुदान वितरण गर्न रामेछापमा ढिलाइ भएकामा सरकारको ध्यानाकर्षण गराए।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कुन्तीकुमारी शाहीले स्थानीय निर्वाचनमा सरकारको ध्यान नगएको जनाउँदै संविधान संशोधन गर्दा प्रतिपक्षी दलको पनि सल्लाह लिन सुझाव राखिन्। मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) गीता क्षेत्रीले जलवायु परिवर्तनले कृषि क्षेत्रमा गम्भीर असर परेको बताउँदै प्राकृतिक संरक्षणमा ध्यान दिनसरकारको ध्यानाकर्षण गराइन्। रासस

प्रकाशित: २ कार्तिक २०७३ ११:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App