१६ चैत्र २०८० शुक्रबार
राजनीति

निर्वाचन विधेयकमा थ्रेसहाेल्डसहित कांग्रेसले संशोधन प्रस्ताव ल्याउने

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचनसम्बन्धी विधेयकमा संशोधन प्रस्ताव लैजाने तयारी गरेको छ। संसदीय दलको कार्यालय सिंहदबारमा बिहीबार पार्टी पदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यको छलफलले विधेयकमाथि संशोधन हाल्नुपर्ने निष्कर्ष निकालेको हो ।

कांग्रेसले थ्रेसहोल्ड व्यवस्था गर्ने गरी विधेयकमा संशोधन दर्ता गराउन लागेको एक नेताले जानकारी दिए । ठूला दल थ्रेसहोल्ड राख्नुपर्ने पक्षमा छन् भने अधिकांश साना दल थ्रेसहोल्डको विपक्षमा छन् । दल दर्ता खुकुलो गर्ने गरी विधेयक आएको प्रति कांग्रेस नेताले चासो देखाएका छन् ।

‘पाँच सयको हस्ताक्षरले मात्र दल दर्ता गराउन पाउने नयाँ व्यवस्थाले के असर गर्छ भन्ने विषयमा पनि छलफल सुरु भएको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘पुरानै व्यवस्थालाई निरन्तरता दिनुपर्ने मत पार्टीभित्र छ ।’ यसअघि दल दर्ताका लागि १० हजारको हस्ताक्षर अनिर्वाय गरिएको थियो ।

विधेयकको अध्ययन गरी संशोधन प्रस्ताव तयार गर्न कांग्रेसले प्रमुख सचेतक चिनकाजी श्रेष्ठ, संसदीय दलका सचिव धु्रव वाग्ले, राधेश्याम अधिकारी, मीनेन्द्र रिजालसहितका नेतालाई जिम्मेवारी दिएको छ । उनीहरूले त्यसको अध्ययन गरी शुक्रबार बिहान पुनः हुने छलफलमा प्रस्तावित मस्यौदा ल्याउने छन् ।

राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७३, मतदाता नामावलीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७३ र निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७३ माथिको सैद्धान्तिक छलफल सकिएको छ । त्यसमाथि संसद् सचिवालयले शुक्रबारसम्म विधेयकमा संशोधन दर्ता गर्न समय तोकेको छ ।  
 

प्रकाशित: २० आश्विन २०७३ १४:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App