१६ चैत्र २०८० शुक्रबार
राजनीति

अमेरिकाले गद्दी बैठक जीर्णोद्धार गर्न ७ लाख डलर अनुदान दिने

काठमाडौँ – शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री एभन रायनले हनुमानढोका दरबार क्षेत्रमा अमेरिकी सरकारको सांस्कृतिक संरक्षणका लागि राजदूत कोष (एएफसीपी) कार्यक्रमअन्तर्गत गद्दी बैठकको जीर्णोद्धार गर्नका लागि अनुदान प्रदान गरिने घोषणा गरेकी छन्। ७ लाख अमेरिकी डलरको उक्त अनुदान रकम २०औँ शताब्दीको सुरुमा निर्मित गद्दी बैठकको जीर्णोद्धारका लागि प्रयोग गरिनेछ। यस वर्ष विश्‍वभर प्रदान गरिएकामध्ये यो नै सबभन्दा ठूलो एएफसीपी परियोजना भएको अमेरिकी दूतावासले जनाएको छ।

सो अनुदान मियामोटो ग्लोबल डिजास्टर रिलिफलाई प्रदान गरिएको छ, जसले गद्दी बैठकको मर्मत कार्य गर्दै दरबारको संरचनागत सुरक्षा र भूकम्प प्रतिरोध क्षमतामा सुधार गर्नेछ। २०७२ सालको भूकम्पले उक्त भवनमा गम्भीर क्षति गरेको थियो। उक्त भवन युनेस्को सम्पदा स्थलका रूपमा सूचीकृत काठमाडौँ हनुमानढोका दरबार क्षेत्रको महत्त्वपूर्ण अङ्गका रूपमा रहेको छ।

“राजदूत कोष अमेरिकी सरकारको विदेशमा सञ्‍चालित सबैभन्दा महत्त्वपूर्ण सांस्कृतिक पहलहरूमध्ये एक हो,” समारोहलाई सम्बोधन गर्दै सहायक मन्त्री रायनले भनिन्। संयुक्त राज्य अमेरिका नेपालको अनुपम र अद्वितीय सांस्कृतिक सम्पदालाई संरक्षण गर्नप्रति प्रतिबद्ध छ । गद्दी बैठक जीर्णोद्धार परियोजनाले यस महत्त्वपूर्ण संरचनालाई यसको मौलिक भव्यतामा पुनर्स्थापिना गर्ने लक्ष्य लिएको छ।”

एएफसीपी कार्यक्रमले विश्‍वका विभिन्न देशमा रहेका सांस्कृतिक सम्पदाको संरक्षणका लागि प्रत्यक्ष अनुदान सहयोग उपलब्ध गराउँछ। सन् २००१ देखि एएफसीपीले १०० भन्दा धेरै मुलुकहरूमा ६४० भन्दा बढी सांस्कृतिक संरक्षणसम्बन्धी परियोजनाहरूलाई सहयोग गरिसकेको छ। विगत २० वर्षमा एएफसीपीले नेपालको सांस्कृतिक सम्पदाको संरक्षणका लागि २९ लाख अमेरिकी डलर लगानी गरेको छ । यसअन्तर्गत १६ परियोजना पूरा भएका छन् भने हाल हनुमानढोका र पाटन दरबार क्षेत्रमा केही परियोजनाहरूमा काम भइरहेको छ।

प्रकाशित: १४ आश्विन २०७३ १३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App