८ वैशाख २०८१ शनिबार
राजनीति

अाेलीले साेधे– ‘कांग्रेसको परराष्ट्र नीति के हो ?’

काठमाडाैं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र देशकै ठूलो दल नेपाली कांग्रेसको विदेश नीति प्रष्ट नभएको बताएका छन् । सरकारले परराष्ट्र मामिलामा लिएको नीतिको चर्को आलोचना गर्दै ओलीले यसअघि आफ्नो नेतृत्वको सरकारले लिएको नीति दीर्घकालीन रूपमा देशको हितमा रहेको दाबी गरे ।

विदेश मामिलाका विषयमा कांग्रेस निदाइरहेको छ कि ब्युँझिएको छ भन्ने थाहा नभएको भन्दै उनले विदेश नीतिबारे प्रष्ट हुन सुझाव दिए । ‘सिकार गरेर सुतेको बाघजस्तो गरी देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सुतेको छ,’ पत्रकार गोपाल खनालको पुस्तक भू–राजनीतिको विमोचन गर्दै आइतबार ओलीले भने, ‘नेपाली कांग्रेस र त्यसका नेताको परराष्ट्र नीति के हो ? उहाँहरू सहभागी भएको सरकारका प्रवक्ता उत्तरतर्फ बाटो खोले वातावरण बिग्रन्छ भन्छन् । कांग्रेसको नीति पनि त्यही हो ?’

‘सरकारका प्रवक्ता उत्तरतर्फ बाटो खोले वातावरण बिग्रन्छ भन्छन्, नेपाली कांग्रेसको नीति पनि त्यही हो ?’

वातावरण बिग्रन्छ भनेको राजनीतिक हो कि प्राकृतिक हो भन्दै ओलीले प्रश्न गरेका थिए ।  ‘अघिल्लो सरकारले लिएको नीति सामन्ती वा आवेगको राष्ट्रवाद होइन, दीर्घकालीन रूपमा सही नीति हो,’ उनले भने, ‘अहिले जसरी सन्तुलनको कुरा गरिएको छ, त्यही हो भने नयाँ शब्दकोष बनाउनुपर्ने हुन्छ । राजनीतिक शब्दकोषमा अहिले भन्ने गरेको जस्तो सन्तुलन शब्द छैन ।’

उनले चीनसँग गरिएको पारवहन तथा यातायात सम्झौताले एक देशवेष्ठित अवस्था हटाएको बताए । ओलीले बिपी कोइरालाले लिएको नीतिमा समेत कांग्रेस छ कि छैन भनेर प्रश्न गरेका थिए । जवाफमा मञ्चबाटै कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री रामशरण महतले ‘झन् बलियो छ’ भनेका थिए । भाषण सकेर फर्किने क्रममा अध्यक्ष ओलीले महतलाई नभई कांग्रेस सभापति शेरबहादुर देउवाका लागि प्रश्न गरेको बताएका थिए ।

कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेताहरू दूतावासमा भीख माग्न जाने प्रवृत्तिका कारण राष्ट्रिय स्वाभिमान जोगाउन नसकिने बताए । ‘छात्रवृत्ति, स्कुलको सरसामान, एम्बुलेन्स, धारापानी माग्न दूतावास धाएर राष्ट्रिय स्वाभिमान जोगाउन सक्दैनौं, यो प्रवृत्ति तत्काल त्याग्नुपर्छ,’ उनले भने, ‘एउटाले हस्तक्षेप ग¥यो भने अर्कोले पनि हस्तक्षेप गर भन्नु सन्तुलित नीति हैन ।’

भारतले विराटनगरमा गैरकानुनी रूपमा खोलेको फिल्ड कार्यालय हटाउन नसकेको भन्दै उनले सरकारको आलोचना गरे । ‘अध्यक्ष प्रचण्ड पहिलोपटक प्रधानमन्त्री भएका बेला कोसी तटबन्ध फुटेर राजमार्ग अवरुद्ध हुँदा भारत हुँदै आउने नेपाली सवारीसाधनलाई पास दिनका लागि भन्दै उक्त कार्यालय स्थापना गरिएको थियो, यो काम सकिएको यतिका वर्ष भयो, अहिलेसम्म हटाउन सकिएको छैन,’ श्रेष्ठले भने, ‘अनधिकृत रूपमा रहेको अर्को देशको कार्यालय झन्डा फहराएर बसिरहेको छ । त्यसलाई हटाउन नसक्नु लाजमर्दो विषय हो ।’ परराष्ट्रमन्त्री हुँदा तत्काल कार्यालय बन्द गर्न पत्राचार गरे पनि त्यसपछिको छोटो समयमा सरकार परिवर्तन भएपछि त्यसलाई अरुले अघि बढाउन नसकेको उनले बताए ।

कार्यक्रममा एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालले कूटनीतिबाहेक अन्य क्षेत्रलाई मजबुत बनाएर छिमेकीसँग प्रतिस्पर्धा गर्न नसकेको धारणा राखे । ‘नेपालले छिमेकीसँग सैन्य, अर्थतन्त्र, शक्तिको भरमा नभएर कूटनीतिक हिसाबले मात्र सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने हुनाले सरकार र सरोकारवाला निकाय संवेदनशील हुनुपर्छ,’ उनले भने, ‘हामीले आन्तरिक विषयलाई छिमेकी गुहारेर हैन, हामी स्वयंले व्यवस्थापन गरेर मात्र स्वाभिमान र स्वाधीनता रक्षा गर्न सक्छौं । अरुलाई गुहार्दा तत्काल केही सहयोग त मिल्ला तर कालान्तरमा त्यसले हामीलाई नै कमजोर बनाउँछ ।’

नेपाली कांग्रेसका नेता महतले आन्तरिक व्यवस्थापन हुन नसक्दा छिमेकी देशले गरेको प्रगतिबाट फाइदा लिन नसकिएको बताए । कार्यक्रममा उनले विदेशी चलखेल निकै बढेको बताउँदै भने, ‘अहिले कर्मचारीतन्त्र, राजनीतिकसहित सबै क्षेत्रमा कमजोर बन्दै गएका छौं ।’ एमाले केन्द्रीय सदस्य राजन भट्टराई र मधेसका अधिकारकर्मी तुलानारायण साहले विमोचित पुस्तकबारे चर्चा गरेका थिए ।

प्रकाशित: १० आश्विन २०७३ ०३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App