७ वैशाख २०८१ शुक्रबार
राजनीति

माओवादी नेतृत्वको कडा आलोचना

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेताहरूले पछिल्ला दिन पार्टीले विचार र विधिलाई बेवास्ता गरेको भन्दै नेतृत्वको कडा आलोचना गरेका छन्। शनिबार सुरु सचिवालय बैठकमा नेताहरूले माओवादी पार्टी दस वर्षे सशस्त्र द्वन्द्वको आडमा स्थापित भए पनि पछिल्ला दिन नेतृत्वले विचार र विधिलाई पूरै बेवास्ता गरिरहेको बताए। बैठकमा सहभागी एक सचिवालय सदस्यका अनुसार यतिखेर माओवादी न वामपन्थी न दक्षिणपन्थी नै रहन सकेको भन्दै धेरैले गुनासो गरे।

'सशस्त्र द्वन्द्वको बेला पार्टीलाई ठोस विचारले कमान्ड गरेको थियो,' सचिवालय सदस्य कमला रोकाले भनिन्, 'हुँदाहुँदा पार्टीभित्र हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने चलन बढ्यो। त्यसैले पार्टी कसरी अघि बढ्छ भन्नेमा अन्योल सिर्जना भएको छ।' पहिलो संविधानसभा निर्वाचनमा पहिलो नम्बरमा पुगेको पार्टी दोस्रो संविधानसभा निर्वाचनपछि तेस्रो स्थानमा झर्नुलाई विचार र विधिमा पलायन हुँदै जानुको परिणामको रूपमा लिइएको छ। सचिवालय सदस्य डिलाराम आचार्यलगायत नेताले माओवादी विचारमा प्रष्ट हुँदै जानुपर्ने धारणा राखे।

माओवादीको खास विचार र पद्धति प्रष्ट हुन नसके भविष्य अँध्यारो रहेको भन्दै नेतृत्वकर्ताले गम्भीर रूपमा सोच्नुपर्ने नेताहरूले बैठकमा बताएका थिए। ७/८ वर्ष अघि पूरै देश हल्लाउन सक्ने माओवादी अहिले कमजोर अवस्थामा पुग्नुमा नेतृत्व तहमा रहेकाको दोष रहेको भन्दै धेरैले अध्यक्ष पुष्पकमल दाहाललाई कार्यशैली परिवर्तन गर्न जोड दिएको बैठकमा सहभागी एक नेताले बताए। बेलाबेलाका बैठकमा अध्यक्ष दाहाललगायत नेताले जनवादी क्रान्तिका बाँकी काम पूरा गर्दै समाजवादी क्रान्तिका लागि आधार तयार गर्ने बताउने गरे पनि त्यसको व्यावहारिक पक्ष निकै फितलो भएको धेरैको गुनासो थियो। पार्टीको अहिलेको कार्यशैलीले समाजवादी क्रान्ति कहिल्यै पनि पूरा नहुने उनीहरुले बताए।

गत जेठमा १० वटा कम्युनिस्ट पार्टीको एकीकरणपछि आन्तरिक संगठन झनै अस्तव्यस्त भइरहेकोमा पनि धेरैले चिन्ता गरे। पार्टीमा लामो समय योगदान गरेका व्यक्ति मात्र केन्द्रीय समितिमा रहने सहमति गरिए पनि विस्तारै आफूखुसी सदस्य थप्दै जाँदा एकीकरणपछि केन्द्रीय समिति बैठक बस्न सकेको छैन। स्थानीय कमिटी पनि पूरै निष्त्रि्कय अवस्थामा छ। एकीकरण बेला ६ सयजति सदस्य राख्ने भनिएको केन्द्रीय समितिमा सदस्य थप्दै जाँदा २४ सय पुगेका छन्। विगतमा पार्टीका लागि पूर्णकालीन बनेका कार्यकर्ता यतिखेर पार्टीले कुनै ठोस योजना र काम दिन नसक्दा गुजारा गर्न नसक्ने अवस्थामा छन्। अहिलेकै अवस्था कायम रहने हो भने माओवादीले आउँदो चैतमा हुने भनिएको स्थानीय चुनावमा समेत नराम्रो पराजय भोग्नसक्ने बताइएको छ।

सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालसहित नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायत सहभागी थिए। बैठकमा बोल्दै प्रधानमन्त्री तथा अध्यक्ष दाहालले भने पार्टीभित्र निराश भइहाल्नुपर्ने अवस्था नभएको बताएका थिए। एकीकरणपछि पार्टीभित्र सन्तुलन मिलाउन खोज्दा उक्सन नसक्ने अवस्था आइरहेको उनको भनाइ थियो। 'अब भने पार्टीको आन्तरिक संगठन सुधार गर्नेपर्ने अवस्था आएको छ,' दाहालको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, 'विचार र विधिको पलायनबाट बच्न पार्टीले गम्भीर योजना ल्याउनैपर्ने भएको छ।'

९९ सदस्यीय सचिवालयमा ८२ जनाको मात्र पूर्ति गरिएको छ। शनिबारको बैठकमा २८ जनाले धारणा राखेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। उनका अनुसार सचिवालय सदस्यको धारणा सुनेपछि अध्यक्ष दाहालले आइतबार आन्तरिक संगठनबारे ठोस प्रस्ताव पेस गर्ने कार्यक्रम छ। अन्योलकै कारण माघमा गर्ने भनिएको एकीकरणपछिको पहिलो महाधिवेशन स्थगित भइसकेको छ। उक्त महाधिवेशन कहिले गर्ने टुंगो लाग्न सकेको छैन।

प्रकाशित: ९ आश्विन २०७३ ०२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App