७ वैशाख २०८१ शुक्रबार
राजनीति

९०,०००औँ शरणार्थी ठटाललार्इ अमेरिकी राजदूतले गरिन् बिदाइ

काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले संयुक्त राज्य अमेरिकामा पुनर्वास हुन गइरहेकी ९०,०००औँ भुटानी शरणार्थी सरीमाया ठटाललाई नेपालबाट बिदाइ गरेकी छन्। अमेरिकाको न्यू ह्याम्पशियरमा नयाँ जीवनको थालनी गर्नका लागि ठटाल आफ्ना चार सन्तानका साथ नेपालबाट भोलि प्रस्थान गर्दैछिन्। राजदूत टेपलेट्जले गत साता झापास्थित बेलाडाँगी भुटानी शरणार्थी शिविरको भ्रमण गरी तेस्रो मुलुक पुनर्वास कार्यक्रमको विषयमा छलफल गरेकी थिइन्। सो कार्यक्रम अब समापनको नजिक पुगेको छ।

“नेपाली जनता र सरकारले दशकौँदेखि अत्यन्त कृपापूर्वक शरणार्थीहरूलाई आतिथ्य सत्कार प्रदान गर्दै आएका छन् र भुटानी शरणार्थीहरूको तेस्रो मुलुक पुनर्वास हालैका वर्षहरूमा अत्यधिक सफल शरणार्थी व्यवस्थापन विधिमध्ये एक बनेको छ,” उनले भने, “तर यो बृहत् पुनर्वास कार्यक्रम समापन हुनै लागेको छ। स्वदेश फर्कन चाहने शरणार्थीहरूलाई फिर्ता लिनका लागि अन्तर्राष्ट्रिय समुदायले भुटान सरकारसँग आग्रह गरिरहेको भए तापनि नेपालमै बाँकी रहने शरणार्थीहरूका लागि दीर्घकालीन समाधान पत्ता लगाउनु अति महत्त्वपूर्ण छ।”

अमेरिकी दूतावासमा आयोजित समारोहमा २० वर्षभन्दा लामो अवधि शरणार्थी शिविरमा बिताएकी ठटालले संयुक्त राज्य अमेरिका पुगेपछि आफू र आफ्ना सन्तानका लागि नयाँ अवसरका आशाका बारेमा बताइन्।  अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम) का नियोग प्रमुख पल नर्टन र शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (युएनएचसीआर) का लागि नेपाल प्रतिनिधि केभिन एल्लेनले राजदूत टेपलेट्जलाई ठटालको बिदाइमा साथ दिइन्। संयुक्त राज्य अमेरिकामा ९० हजार भुटानी शरणार्थी पुगेसँगै तेस्रो मुलुकमा पुनर्वासमा गएका भुटानी शरणार्थीहरूको कुल सङ्ख्या १ लाख ५ हजार पुगेको छ।

संयुक्त राज्य अमेरिकाले नेपाल सरकार, युएनएचसीआर, आईओएम तथा अष्ट्रेलिया, क्‍यानडा, डेनमार्क, नेदरल्यान्ड्स, न्यूजिल्याण्ड, नर्वे र बेलायतका सरकारहरूसँगको समन्वयमा पूर्वी नेपालमा बसोबास गर्दै आइरहेका भुटानी शरणार्थीहरूलाई सन् २००७ देखि पुनर्वास गराउन थालेको हो। 

प्रकाशित: ४ आश्विन २०७३ १०:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App