८ वैशाख २०८१ शनिबार
राजनीति

इन्जिनियर्स एशोसिएशनको निर्वाचनमा ५ समूहबीच प्रतिस्पर्धा

काठमाडौं–नेपाल इन्जिनियर्स एशोसिएशनको ३१ औं कार्यकारिणी परिषदको निर्वाचनमा पाँच समूहबीच प्रतिस्पर्धा हुने भएको छ। लोकतान्त्रिक समूहबाट हरेराम श्रेष्ठले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन्।

नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेशवादी दल लगायत प्रजातान्त्रिक धारका राजनीतिक दल निकट इन्जिनियरहरु यस समूहमा आवद्ध छन्। लोकतान्त्रिक प्यानलका अध्यक्ष प्रत्यासी श्रेष्ठले इन्जिनियरिङ रिर्सोस सेन्टर स्थापनालाई आफ्नो चुनाबी एजेन्डा बनाएका छन्। ‘महत्वपूर्ण विकास आयोजनाहरुको अध्ययन प्रतिवेदन तथा आयोजनाहरुसँग सम्बन्धित विवरणको अभिलेख राख्ने सेन्टरको खाँचोछ’, उनले नागरिकन्युजसँग भने, ‘इन्जिनियरहरुको पेशागत क्षमता अभिवृद्धि तथा इन्जिनियरिङ स्टाफ कलेज स्थापनामा मेरो जोड रहनेछ।’ इन्जनियर्स एशोसिएशनको पूर्व उपाध्यक्ष रहिसकेका उनी सस्टेनेबल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट फाउन्डेसनका कार्यकारी निर्देशक हुन्।

एशोसिएशनबाट इन्जिनियरिङ परिषदमा प्रतिनिधित्व गर्ने पाँच जना सदस्यका लागि पनि लोकतान्त्रिक समूहले उम्मेदवारी घोषणा गरेको छ। श्रीराम न्यौपाने, शैलिता मानन्धर जोशी, सुरेन्द्र श्रेष्ठ , रोशनकुमार देव तथा कृष्णदेव झा परिषद सदस्यका लागि प्रत्यासी छन्।

पेशागत इन्जिनियर्स समूहबाट सुमित्रा अमात्य मानन्धरले आफ्नो प्यानलसहित उम्मेद्वारी घोषणा गरेकी छन्। एमाले नजिक इन्जिनियर यो समूहमा छन्। राष्ट्रिय इन्जिनियरिङ समूहबाट जगत श्रेष्ठले उम्मेदवारी दिएका छन्। यस समुहमा नेकपा मोआवादी केन्द्र निकटका इन्जिनियरहरु आबद्ध छन्। अध्यक्षका उम्मेदवार श्रेष्ठ पुल्चोक इन्जिनियरिङ क्याम्पसका असिस्टेन्ट प्रोफेसर समेत हुन्।

युनाइटेड इन्जिनियर्स समुहबाट लक्ष्मीप्रसाद देवकोटाले प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरिका छन्। अध्यक्षका उम्मेदवार देवकोटा बुढीगण्डकी जलविद्युत् विकास समितिका अध्यक्ष समेत हुन्। बाबुराम भट्टराईको प्रधानमन्त्री हुँदा १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना विकासका लागि गठन भएको समितिमा उनलाई कार्यकारीको नेतृत्व दिइएको थियो। त्यतिबेलादेखि उनलाई बाबुराम निकटका इन्जिनियर मानिँदै आएको छ। यद्यपि उनले इन्जिनियरर्स एशोसिएशनलाई राजनीति दलको छत्रछायाबाट मुक्त गरी पेशागत संगठनको रुपमा विकास गर्ने बताएका छन्।

‘मैले राजनीतिक नियुक्ति खाएको हुँ,’ नागरिकन्युजसँग उनले भने, ‘तर हाम्रो समूहको कार्यक्रममा कुनै राजनीतिक दलका नेताको उपस्थिति हुँदैन र हामीले कुनै दलका नेताको फोटा पनि झुण्ड्याउँदैनौं।’

यसैगरी रवीन्द्र कोसुजुले प्यानलसहित अध्यक्षको उम्मेदवारी दिएका छन्। उनी भक्तपुरका हुन्। नेपाल मजदुर किसान पार्टी नजिकका इन्जिनियरहरु यस समूहमा आवद्ध छन्। नयाँ कार्यसमिति चयनका लागि काठमाडौं (प्रज्ञा प्रतिष्ठान), विराटनगर, जनकपुर, वीरगन्ज, हेटौंडा, भरतपुर, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा एशोसिएशनले मतदान गर्ने व्यवस्था मिलाउन थालेको छ। शुक्रबार बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदानको समय तोकिएको छ।

नेपालमा रहेका बरिब ३४ हजार इन्जिनियर मध्ये २० हजार रजिष्ट्रड इन्जिनियर छन्। यस मध्ये १२ हजारले मात्र एशोसिएशनको सदस्यता नवीकरण गरेका छन्। यी मध्ये पनि निर्वाचनमा करिब ८ हजार इन्जिनियरले मात्र भाग लिने अनुमान एशोसिएशनको छ।

प्रकाशित: २९ भाद्र २०७३ १३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App