१६ चैत्र २०८० शुक्रबार
राजनीति

तरुणदल महाधिवेशन मितिबारे देउवा–पौडेल पक्ष विवाद

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलमा महाधिवेशनको मितिलाई लिएर पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच विवाद भएको छ। महाधिवेशनको नयाँ मिति तोक्न बुधबार बसेको केन्द्रीय समितिको बैठकमा पहिला महाधिवेशनको मिति तोक्ने की जिल्ला अधिवेशन सम्पन्न गर्ने भन्ने विवाद हुँदा पौडेल पक्षले बैठक बहिस्कार गरेको हो।

पार्टी सभापति देउवा पक्ष दलका नेताहरु मिति तोक्दै विवादित जिल्लालाई मिलाउँदै महाधिवेशनमा पुग्ने अडानमा देखिएका छन्। तर, पौडेल पक्षीय नेताहरु जिल्ला अधिवेशन सम्पन्नपछि मात्र मिति र स्थान तोक्नु पर्ने पक्षमा देखिएपछि मंगबारदेखि सुरु केन्द्रीय समिति बैठक विवादित बन्न पुगेको छ। ‘विधि र विधानअनुसार जिल्ला अधिवेशन, विधान र महाधिवेशन प्रतिनिधिको सूचीलाई अन्तिम रुप दिएर मिति तोक्न भन्यौ,’ दलका नेता टकेराज पौडेलले भने, ‘अध्यक्ष(उदय संशेर राणा)सहितका साथीहरु यतिकै अघि बढ्ने प्रयास गरेपछि हामीले बैठक छोडेका छौं।’

तरुण दलका अध्यक्ष राणा विवाद रहेका जिल्लाहरु मिलाउनभन्दा त्यसलाई थाती राखेर महाधिवेशनमा गराउने तयारीमा रहेको असन्तुष्ट पक्षले आरोप छ। ‘साँढे चार वर्षसम्म विवाद मिलाउन आग्रह गर्दा अध्यक्षले चासो देखाउनु भएन,’ तरुण दल प्रचार समिति संयोजक मेदनी सिटौलाले भने, ‘सभापति(शेरबहादुर देउवा)को सफलताका लागि संगठनको विधि विधानलाई लत्याएर महाधिवेशनमा जान सकिँदैन।’

नेपाल विद्यार्थी संघमा जस्तै तरुण दलमा पनि महाधिवेशन प्रतिनिधि भागबन्डा गर्ने तयारी भएको जनाउँदै सिटौलाले भने, ‘भागबन्डा र जङ्गी पारेले संगठन चल्दैन, प्रक्रिया पूरा गरेर महाधिवेशनमा जानुपर्छ।’

विवादित जिल्लामा विधिवत अधिवेशन नभएसम्म महाधिवेशन हुनै नसक्ने जनाउँदै सिटौलाले भने, ‘हामी अहिले सबै प्रक्रियाबाट बाहिरिएका छौं। राजनीतिमा बहुमत र अल्पमत मात्र होइन समुहको कुरा पनि हुन्छ। अहिलेकै अवस्थामा महाधिवेशनमा सहभागी हुन्नौं।’

प्रदेश नम्बर २ का सिरहाबाहेक अन्य जिल्लाको अधिवेशन भएको छैन भने कञ्चनपुर, बझाङ, भक्तपुर, नुवाकोट, काभ्रे, मुस्ताङ, रुपन्देही, उदयपुर, धादिङसहितका जिल्लामा विवाद छ। विवादका कारण अधिवेशन हुन नसकेपछि भदौ २४ देखि तोकिएको तरुण दलको महाधिवेशन फेरि सरेको छ।

पार्टी निर्देशक समितिको प्रस्तावअनुसार असोज ३ देखि पोखरामा महाधिवेशन गर्ने तरुण दलले तयारी गरेको छ।

पौडेलले पार्टी निर्देशक समिति नेविसंघकै जसरी महाधिवेशन गराउने रणनीतिमा रहेको आरोप लगाए। ‘प्रतिनिधिको टुंगो लगाएर मात्र महाधिवेशनमा जानुपर्छ,’ उनले भने, ‘भागबन्डा गरेर अधिवेशन गराउने प्रयास भए मान्य छैन।’

तरुण दलमा महानगरपालिकाबाट तीन, उपमहानगरबाट दुई, नगरपालिकाबाट एक, क्षेत्रीय सभापतिसहित दुई र जिल्लाबाट आठ जना प्रतिनिधि सहभागी हुने व्यवस्था छ। साथै, एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाबाट ९ जना सहभागी हुने विधान छ।  

विधानमा उल्लेख ४५ वर्ष नाघेकाले नेतृत्वमा रहन नपाउने व्यवस्थालाई वर्तमान समितिका सबैले अव्यावहारिक बताएका छन्। सबैले प्रतिस्पर्धा गर्न पाउनुपर्ने जनाउँदै उनीहरूले उक्त निर्णय फिर्ता लिन पार्टी नेतृत्वलाई दबाब दिँदै आएका छन्। तरुण दलको २०६१ कात्तिकयता महाधिवेशन हुन सकेको छैन।

प्रकाशित: २२ भाद्र २०७३ १२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App