६ वैशाख २०८१ बिहीबार
राजनीति

आत्मदाहको विषयमा सरकार गम्भीर हुन सांसदको आग्रह

फाइल तस्बिर।

प्रतिनिधिसभाको बुधबारको बैठकमा समसामयिक विषयमा सांसदले आफ्नो धारणा रखेका छन्। बैठकमा समय लिएर बोल्दै कांग्रेसका महामन्त्री गगनकुमार थापाले बर्ड फ्लु नियन्त्रण गर्न कुखुरा नष्ट गरिएका साना किसानलाई सरकारले दिने भनेको क्षतिपूर्ति छिटो दिन माग गरेका छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै महामन्त्री थापाले बैंकको ऋण तिर्न नसकेर मर्कामा परेका किसानको समस्या बेलैमा बुझ्न सरकारलाई आग्रह गरेका हुन्।  

बर्डफ्लु नियन्त्रणका लागि कुखुरा नष्ट गरिएका किसानलाई सरकारले दिनुपर्ने क्षतिपूर्ति ५८ करोड रूपैयाँ रहेको भन्दै थापाले उक्त रकम दिन ढिलाइ नगर्न आग्रह गरेका छन्। सांसद डा. अमरेशकुमार सिंहले आत्मदाह तथा आत्महत्याको छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न माग गरेका छन्। जसपाका सांसद राजकिशोर यादव आत्मदाह गरेका युवा व्यवसायी प्रेमप्रसाद आचार्यको बारेमा संसद्मा आवाज नउठ्नु दुःखदायी भएको उल्लेख गरे। उनले भने, ‘आज हामी यो सदनमा बहस गरिरहेका छौं, यही सदनअगाडि एकजना युवाले यो देशमा गरिखान पाइएन भनेर प्रेम आचार्यले आत्मदाह गरे। आज मैले सोचेको थिएँ यो सदनभित्र एउटा विशेष प्रस्ताव आउला कि के कारणले प्रेम आचार्यले के कति कारणले आत्मदाह गर्न बाध्य भए ? त्यसको बारेमा चर्चा होला तर आज यो सदन मुर्दाको रूपमा स्थापित भएको छ।’ कांग्रेसका सांसद मोहन बस्नेतले संसद् भवनअघि आत्मदाह गर्ने प्रेम आचार्यकी श्रीमतीलाई जागिर दिने घोषणा गरेका छन्। उनले काजकिरियाबाट फर्किएलगत्तै रोजगारीका लागि नियुक्ति पत्र दिने बताए।

प्रकाशित: १९ माघ २०७९ ०१:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App