८ वैशाख २०८१ शनिबार
राजनीति

संशोधन प्रस्ताव नल्याए विरोध

वीरगन्ज- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता–कार्यकर्ताले सरकारले संविधान संशोधन प्रस्ताव छिटो नल्याए विरोधमा उत्रिने जनाएका छन्। मोर्चाले शनिबार वीरगन्जमा गरेको अन्तरक्रियामा मधेसवादी दलका स्थानीय नेता–कार्यकर्ताले संविधानभित्र मधेस आन्दोलनले उठान गरेको मुद्दा समेट्न प्रमुख दल सकारात्मक नदेखिएकाले आन्दोलन बाध्यात्मक बन्दै गएको बताए।

'सरकारको नेतृत्वमा रहेका दलले प्रतिबद्धताअनुरुप संशोधन प्रस्ताव सरकारमार्फत नल्याए विरोधस्वरुप हामी आन्दोलनमा जानुपर्ने हुन्छ,' कार्यक्रम अध्यक्षता गरेका संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले भने, 'संशोधन प्रस्ताव आएपछि संविधानलाई मधेसी, जनजाति, उत्पीडित वर्ग र सबै नेपालीको साझा बनाउन राजनीतिक दलले जिम्मेवार भएर निकास दिनुपर्छ।' संविधान संशोधन प्रस्तावमा साथ नदिने दलविरुद्ध जनता उत्रिने दाबीसमेत गरे।

अधिवक्ता दीपेन्द्र झाले मधेसमा प्रान्तीय राजधानी र उच्च अदालत कहाँ राख्ने जस्ता विषय ल्याएर नेकपा एमालेले संघीयताविरुद्ध षड्यन्त्र गर्न लागेको आरोप लगाए। प्रदेश संरचना बनेपछि मधेसका जनताले राजधानी आफैं टुंगो लगाउने उनले बताए।

प्रकाशित: १९ भाद्र २०७३ ०२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App