१६ चैत्र २०८० शुक्रबार
राजनीति

हज कमिटीमाथि भ्रष्टाचार आरोप

काठमाडौं- ५० वर्षीया खाफिजा बेगमलाई शनिबारको दिन निकै पीडादायी रह्यो। पीडाबाट मुक्ति पाउन खाफिजाले राजधानीको घन्टाघरस्थित जामे मस्जिदको भित्तामा रहेको टिभीको सहारा लिन  खोजे पनि मनले पटक्कै मानिरहेको थिएन।

मुस्लिम धर्मावलम्बीको पवित्र स्थल मक्कामदिना जान भदौ ११ गते नेपालगन्जबाट काठमाडौं आएकी खाफिजा अन्तिम समयमा यात्राबाट वञ्चित भएपछि कसरी घर फर्कने भन्ने समस्याले आत्तिएकी थिइन्।

साउदी अरबको मक्कामदिना जान आफन्त र छिमेकले खाफिजालाई फूलमाला लगाएर भव्य बिदाइ गरेका थिए। 'मक्कामदिना जाने सबै तयारी भएपछि आफन्त र छिमेकले भव्य बिदाइ गरेका थिए,' खाफिजाले भनिन्, 'अन्तिम समयमा हज समितिको बदमासीले त्यहाँ जान नपाउँदा कसरी घर फर्कौं भइरहेको छ।'

मुस्लिम धर्मको पवित्र स्थल मक्कामदिना जाने नेपालगन्ज उपमहानगरपालिका–९ की  खाफिजाको चाहना निकै वर्षअघिको हो। हज गर्न साउदी अरबको मक्कामदिना जाने योजना बुन्दै गर्दा पतिको निधन भएपछि हज गर्ने उनको इच्छा झनै बढ्यो। जतिसक्दो चाँडो हज गर्न खोजे पनि पतिवियोगको सामना गरेकी खाफिजाका लागि बाधक बनिरहेको थियो– आर्थिक व्यवस्थापन।

पति जीवितै रहँदा आर्थिक व्यवस्थापन जुटाउन नसकिरहेका बेला एक्लो जीवनमा खाफिजालाई हजका लागि रकम जुटाउनु  सहज थिएन। त्यसैले उनको हजयात्रा बर्सेनि सर्ने क्रम जारी रह्यो। बल्ल यो वर्ष मक्कामदिनासम्म जाने  रकमको जोहो भएपछि दुई महिनाअघि उनले नेपालगन्जमा रहेको वाणिज्य बैंकमार्फत केन्द्रीय हज समितिमा एक लाख ८५ हजार रुपैयाँ जम्मा गरिदिइन्। बल्लतल्ल मक्कामदिना जाने रकम जुटाएकी खाफिजालाई लागेको थियो– यो वर्ष हज यात्रा पक्का भयो। वर्षौंदेखिका चाहना पूरा हुने र मृतक पतिलाई पवित्रस्थलमै सम्झने उनको योजना थियो।

हज समितिले यो वर्ष मक्कामदिना जानेको नाम प्रकाशित गर्दा खाफिजाको परेन। आमा (खाफिजा) सँगै मक्कामदिना जाने तयारीमा रहेका छोरा समसुल र भाउजू/भतिजालाई पुर्‍याउन काठमाडौंसम्म आएका देवर बाकर अलीले मक्का जाने सूचीमा नाम नदेखेपछि समितिका पदाधिकारी भेटे। तर, कसैले पनि चित्तबु‰दो जवाफ दिएनन्।

'समितिका अध्यक्ष ताज मोहम्मद मियाँ पहिलो लटमै (भदौ ११ गते) साउदी उडिसकेका रहेछन्,' बाकरले भने, 'अन्य पदाधिकारी भेट्दा धेरैले अध्यक्षतिर देखाए।'

भाउजू र भतिजका लागि वाणिज्य बैंकमार्फत हज समितिको खाता नम्बरमा दुईपटक गरेर ३ लाख ७० हजार रुपैयाँ जम्मा गरेको बताउने बाकर समितिले प्रकाशित गरेको तेस्रोपटकको सूचीमा नाम नआएपछि समितिका पदाधिकारीसँग पटकपटक गुनासो गरे पनि केही उपलिब्ध नभएको बताउँछन्। मक्कामदिना जान नेपालगन्जबाट काठमाडौं आएकी खाफिजा, समसुल र सहयोगी बाकर आँखाभरि आँसु बोकेर शनिबारै घर फर्किए।

'समितिले तोकेको शुल्कअनुसार रकम बुझाए पनि त्यो रकम फिर्ता हुन्छ या हुँदैन अहिलेसम्म कसैले केही भनेको छैन,' समसुलले भने, 'धर्मका नाममा दुःख दिएको देख्दा निराश छौं।' 

मुस्लिम धर्मावलम्बीको पवित्र स्थल साउदी अरबको मक्का मदिना जाने हाजीलाई व्यवस्थापन र सहयोग गर्दै आएको केन्द्रीय हज समितिको गैरजिम्मेवारीपनका कारण शुल्क तिरेका करिब ७ सय हाजी यो वर्ष मक्कामदिना जान वञ्चित भए। मुस्लिम क्यालेन्डरअनुसार बकरइदको बेला (नेपाली क्यालेन्डरमा भदौ र असोज गरी साढे एक महिनाजति) विश्वभरिका हाजी इच्छा, आकांक्षा पूरा गर्न मक्कामदिनामा जम्मा हुन्छन्।

नेपालका मुस्लिम समुदायका व्यक्तिलाई पनि  मक्कामदिना जान साउदी सरकारले निश्चित कोटा तोक्ने गर्छ। साउदी सरकारले तोकेको कोटाअनुसार गृह मन्त्रालयअन्तर्गतको हज समितिले मक्कामदिना जानेलाई सहयोग गर्छ। तर, यो वर्ष समितिले साउदी सरकारले नेपाललाई दिएको कोटाभन्दा धेरैसँग रकम उठाउँदा ठूलो संख्याका हाजी काठमाडौंबाटै घर फर्कनुपरेको छ। समितिले प्रकाशित गरेको सूचनाअनुसार नै समितिको खातामा रकम जम्मा गरेपछि हज गर्न जानेले राहदानी समितिका पदाधिकारीलाई बुझाएका थिए।

समितिका कार्यवाहक अध्यक्ष कलिला खानले हज यात्राका लागि किन धेरै व्यक्तिसँग रकम उठाइएको र सबै किन जान सकेनन् भन्नेबारे आफूलाई धेरै जानकारी नभएको बताइन्। 'भदौ ११ गते अध्यक्ष साउदी उडेपछि मलाई कार्यवाहक दिइएको रहेछ,' उनले भनिन्, 'रकम बुझाएका मध्ये ठूलो संख्याका व्यक्ति मक्कामदिना जान नपाउने देखिएपछि काठमाडौंस्थित साउदी दूतावास पुगेर हात जोडेँ। तर, उपलब्धि केही भएन।' उनले आफू पनि अध्यक्ष र कर्मचारीका कारण अपहेलित भएको गुनासो गरिन्।

यो वर्ष मक्कामदिना जान समितिले देशभरिका १ हजार ६ सय ६० जनासँग एक लाख ८५ हजार रुपैयाँका दरले रकम उठाएको थियो। अन्तिम समयमा भने एक हजार १० जना मात्र साउदी उड्न पाए। समितिका कतिपय सदस्य साउदीले यो वर्ष नेपालबाट हज गर्न जानेको संख्या कटौती गरेकाले समस्या भएको गुनासो गर्छन्। तर, साउदी जान नपाएका भने समितिका पदाधिकारीले बढी रकम लिएर पछि रकम बुझाउनेलाई पठाएको आरोप लगाउँछन्।

'हाजीका नाममा समितिले ठूलो रकम  भ्रष्टाचार गरेको छ,' हज यात्रा गर्न नपाएका नेपालगन्जकै मोहम्मद फारुले दाबी गरे। नेपालबाट मक्कामदिना जाने अन्तिम टोली शनिबार राति साउदी उडेको छ।

प्रकाशित: १९ भाद्र २०७३ ०१:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App