coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

६ लेन सडक विस्तार विवाद: प्रमुख राजनीतिक दलसँग मेयरले गरे छलफल

धरान उपमहानगरपालिकामा ६ लेन सडक प्रभावित स्थानीयहरु विरोध प्रदर्शन गर्दै।

व्यापारिक मार्गकोरुपमा रहेको कोशी राजमार्ग अन्तर्गत ६ लेन सडक धरानको मुख्य बजार क्षेत्रमा विस्तार गर्न दबाबमा परेका मेयर हर्क साम्पाङले प्रमुख राजनीतिक दलहरूसँग छलफल गरेका छन्।

मेयर साम्पाङले मंगलबार दिउँसो प्रमुख ४ दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा०सँग छलफल गरेका हुन्। सडक विस्तारबारे मेयर साम्पाङले राजनीतिक दलहरुको राय, सुझाव लिने उद्देश्यले छलफल गरेको वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिए। उनले भने,‘प्रमुख राजनीतिक दलहरुको राय बुझ्न छलफल गर्नुभएको हो। दलहरूले कम क्षतिमा सडक बनाएर जानुपर्छ। आन्दोलनरत पक्षसँग वृहत् छलफल गरेर सहमति गरेर अघि बढ्न सुझाव दिएको छ।’

अनौपचारिकरुपमा भएको यो छलफलमा काँग्रेसबाट सुनसरी क्षेत्र नं १ सभापति सुजेन्द्र तामाङ, धरान नगर सभापति श्याम पोख्रेल, एमालेबाट अध्यक्ष हर्कजंग एभेङ र उपाध्यक्ष पारस काङमाङ, माओवादी केन्द्रका नेता चोत्लुङ र जसपाबाट अध्यक्ष ताजुब लिम्बु सहभागी थिए। छलफलमा सहभागी काँग्रेस क्षेत्रीय सभापति तामाङका अनुसार न्यूनतम क्षतिमा ४ लेनको सडक बनाउनुपर्ने राय राजनीतिक दलहरूले दिएका छन्। मापदण्ड अधिकतम र न्यूनतम हुने भएकोले धरानमा न्यूनतम मापदण्ड रहेको चार लेन ७२ देखि ७६ फिटसम्म विस्तार गर्न सकिने धारणा राखेको पनि उनले बताए। ‘४ लेनको बाटो कति फिटमा बन्छ, त्यति नै मापदण्ड कायम गर्ने र बाँकी फुकुवा भएपछि मात्र निर्माण सुरु हुनुपर्छ। फुकुवा गर्न सकिँदैन भने बाइपासको विकल्पमा जानुपर्छ, र त्यसको अध्ययन नगरपालिकाले गर्नुपर्छ,’दलहरुको सुझावबारे तामाङले भने,‘आन्दोलनरत पक्षसँग वार्ता गरेर चित्त बुझाएर मात्र अघि बढ्न सुझाव दिएका छौं। नत्र भोलि फेरि मुद्दा मामिला हुने स्थिति आउन सक्छ।’

राजनीतिक दलहरूले धरानका सांसद, पुर्वसांसद तथा जनप्रतिनिधिहरुसँग वृहत् छलफल गरेर राय सुझाव लिन र एउटा कार्यदल बनाए अघि बढ्न पनि सुझाव दिएको छ। बाइपास गर्नुपर्ने अवस्था आए कार्यदलले नै अध्ययन गराउनु राम्रो हुने सुझाव पनि दलहरूले दिएको छ। ‘नगरपालिकाले बिशेष नगर सभा बोलाएर हुन्छ कि सरकारसँग राय सल्लाह लिएर हुन्छ, मापदण्ड घटाउन पहल हुनुपर्छ। आयोजनासँग, सडक विभागसँग पनि छलफलमा बस्नुपर्छ,’तामाङले भने,‘६ लेन सडकको अन्तिम विन्दु धरान हो। यहाँबाट पहाड सुरु हुन्छ, र पहाडी क्षेत्रको मापदण्ड अर्कै छ। त्यसैले धरानमा पनि पहाडकै मापदण्ड बनाएर जानुपर्छ भन्ने सुझाव दिएका छौं।’

६ लेनको रानी, विराटनगर, इटहरी धरान सडक आयोजनाले तीनकुनेसम्म विस्तार गरेर सडक ल्याइसकेको छ। तीनकुनेदेखि जिरोपोइन्टसम्मको ५ किलोमिटर सडक भने विस्तार गर्न सकिरहेको छैन। धरानको मुख्य बजार क्षेत्र पनि पर्ने र सडक विस्तार हुँदा अरबौँको भौतिक संरचना भत्काउनुपर्ने भएपछि उपमहानगरपालिकाले पनि ठोस निर्णय लिन सकेको छैन। स्थानीयबासीहरु पनि ६ लेन सडक बाइपास गर्नुपर्ने भन्दै आन्दोलनमा छन्। सडक आयोजनाले ३० मिटर (१०० फिट) कायम हुने गरी सडक क्लियरेन्स गरिदिन भन्दै उपमहानगरपालिकालाई पटक पटक पत्राचार गरेको छ। धरानको मुख्य बजार क्षेत्रमा भने अहिले ५० फिट (१५ मिटर) मात्र सडक छ। सडक आयोजनाले भने अनुसार थप १५ मिटर (५० फिट) विस्तार गर्दा पनि धेरै घरमा क्षति पुग्छ।

प्रकाशित: १७ माघ २०७९ १४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App