१५ चैत्र २०८० बिहीबार
राजनीति

अनुभवी र सक्षम : विज्ञ

काठमाडौं- राजदूतमा सिफारिस दुवै व्यक्ति उपयुक्त भएको कूटनीतिज्ञले औंल्याएका छन्। पूर्वराजदूत तथा राजनीतिक विश्लेषक नीलाम्बर आचार्य उच्च कूटनीतिक महत्व बोकेका छिमेकी देशमा पठाउन लागिएका दुवै व्यक्ति सरकारले विश्वास गरेका र क्षमतावान भएको बताए।

'दुवै देशमा पठाउने व्यक्ति विश्वासयोग्य र सक्षम हुनुपर्छ,' आचार्यले नागरिकसँग भने, 'अनुभवी र सक्षम व्यक्ति सिफारिस भएका छन्। सरकारले दुवै देशलाई उच्च प्राथमिकता राखेको देखिन्छ।'

यसअघि चीनमा राजदूत जिम्मेवारी सम्हालिसकेका टंक कार्कीले लामो समय चीनमा महावाणिज्य दूत रहेका पौडेलेको छनोटले पछिल्लो समय चीनसँगका सम्झौता कार्यान्वयन हुने आशा बढाएको बताए। 'मुख्यसचिव भइसकेको, विषयवस्तुमा राम्रो दक्खल राख्ने व्यक्ति छनोट भएका छन्। सरकार र राजनीति कसरी चल्छ भन्नेमा पनि उहाँ जानकार हुनुहुन्छ,' कार्कीले नागरिकसँग भने, 'यसले चीनसँग भएका सम्झौता कार्यान्वयन हुन्छन् भन्ने विश्वास जगाएको छ।' पौडेलले चार वर्ष ल्हासास्थित महावाणिज्य दूतको रूपमा काम गरेका थिए।

ओली नेतृत्वको सरकारले चीनसँग तेस्रो देशसँग पारवहन सम्झौता गरेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री बनेपछि त्यसको कार्यान्वयन हुने बताएका थिए।

यसअघि भारतकै राजदूत रहेका नेपाली कांग्रेसका नेता उपाध्याय भने दोस्रोपटक सिफारिस भएका हुन्। उनलाई केपी शर्मा ओली नेतृत्व सरकारले फिर्ता बोलाएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण रद्द भएको विषयमा असन्तुष्टि जनाएपछि फिर्ता बोलाइएका उनलाई सरकारले तत्कालीन सरकार ढाल्न भूमिका खेलेको आरोप लगाएको थियो।

'फिर्ता बोलाउने विषय विपक्षी दलका नेता भएकाले हुन सक्छ तर क्षमतामा उहाँ कमजोर व्यक्ति होइन,' आचार्यले भने। सरकारले यसअघि सिफारिस भएकामध्ये राजनीतिक पृष्ठभूमिका १४ जनाको नाम सुनुवाइ समितिबाट फिर्ता लिएको थियो। तीमध्ये चार जना सरकारको निर्णयविरुद्ध अदालतमा गएका छन्। अदालतले अन्तिम निर्णय नहुञ्जेल अन्य व्यक्तिको नाममा सुनुवाइ नगराउन अन्तरिम आदेश जारी गरेको छ।

प्रकाशित: १७ भाद्र २०७३ ०१:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App