१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

विवादित अर्याललाई रास्वपाको नेतृत्व

फाइल तस्बिर।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको ७ महिनामै नेतृत्व फेर्नुपर्ने अवस्थामा पुगेको छ। नागरिकता विवाद मुद्दामा शुक्रबार सर्वोच्च अदालतले संस्थापक सभापति रवि लामिछानेको विपक्षमा फैसला गरेपछि उनले सम्हालेका पदहरू स्वतः बदर भएका थिए। त्यसलगत्तै बसेको रास्वपाको आकस्मिक बैठकले पार्टी उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो।  

शुक्रबार राति नै बसेको रास्वपा संसदीय दलको बैठकले दलको नेतामा पनि अर्याललाई नै चयन गरेको विज्ञप्तिमार्फत पार्टी महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जनाएका छन्। सर्वोच्चबाट भएको फैसला कार्यान्वयन हुँदा पार्टी सभापति पद र संसदीय दलको नेता रिक्त हुन गएकाले अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक सभापतिको जिम्मा अर्याललाई दिइएको विज्ञप्तिमा उल्लेख छ। नेतृत्वमा पुगेका अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत हुन्। उनी समानुपातिक निर्वाचनबाट सांसद भएका हुन्।

श्रममन्त्री हुँदादेखि नै विवादको घेरामा

रास्वपाका सभापति लामिछाने पदच्यूत भएपछि नेतृत्वमा पुगेका अर्याल पनि विवादरहित पात्र भने होइनन्। उनी श्रममन्त्री हुँदादेखि नै विवादको घेरामा छन्। अर्याल रेमिट्यान्स तथा म्यानपावरलगायत व्यवसायसँग जोडिएका पात्र हुन्। उनी संलग्न कम्पनीविरुद्ध सरकारका विभिन्न निकायमा उजुरी परेको पाइएको छ। अर्याललाई श्रममन्त्री बनाइएपछि ‘स्वार्थको द्वन्द्व’ सिर्जना भएको तर्कसहित आलोचना भइरहेको छ। अर्याल इजिलिंक रेमिट्यान्स कम्पनी र सृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसेज प्रालि नामक म्यानपावर कम्पनीसँग संलग्न रहेका व्यवसायी हुन्। उनी मन्त्री नियुक्त हुनासाथ नै यसको खुलासा भएको थियो। अर्याल इजिलिंक रेमिट्यान्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत रहँदा सृष्टिका अन्तर्राष्ट्रिय बजार निर्देशकसमेत रहेको प्रमाण सार्वजनिक  भइसकेका छन्।

सृष्टिसँगको संलग्नता अर्यालले इनकार गरेका छन् । सृष्टिसँगको संलग्नता  सार्वजनिक भएपछि उनले त्यसमा आफ्नो लगानी नभएको दाबी गरेका थिए। देशभित्र अन्य क्षेत्रका व्यवसायमा आफ्नो संलग्नता भएको स्वीकार गर्दै उनले म्यानपावर कम्पनीमा भने  लगानी र संलग्नता नरहेको बताएका थिए। तर अर्याल मन्त्री नियुक्त हुँदासम्म पनि सृष्टिको आधिकारिक वेबसाइटमा उनको तस्बिर थियो। जसबारे सञ्चारमाध्यममा समाचार आएपछि सो वेबसाइट केही समय बन्द गरेर उनको तस्बिर हटाइएको थियो। यस विषयमा उनले साथीहरूको आग्रहमा कम्पनीको सल्लाहकारसम्म बसेको सार्वजनिक गरेका छन्।  

यस विषयमा सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘साथीहरूले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौं है भनेर ‘इन्टरनेसनल मार्केटिङ डाइरेक्टर’ को पद उहिल्यै लेखिदिए, कहिल्यै हटाएनन्। तर यो वा त्यो कुनै म्यानपावर कम्पनीमा न मेरो लगानी छ, न संलग्नता, न सेयर, न तलब।’

जानकारहरूका अनुसार अर्याल सृष्टिका लागि जापानको कारोबार हेर्थे। जापानबाट ‘जिट्को’ मार्फत श्रमिक विदेश लैजान एजेन्टसँग सम्पर्क र समन्वय गर्ने दायित्व उनले वहन गर्दै आएका थिए। तर सृष्टिबाट कामदार लैजाँदा जापानको कम्पनीले बढी रकम उठाएको कसुरमा जापान सरकारले त्यसलाई प्रतिबन्ध लगाएको थियो।

अर्याल संलग्न म्यानपावर कम्पनी सृष्टिविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरीसमेत परेको देखिएको छ। कामदारलाई ठगेको विषयमा उक्त कम्पनीमाथि उजुरी परेको विभागले जनाएको छ। जुन मुद्दा अझै किनारा लागेको छैन। यस्तै सो कम्पनीमाथि ठगी गरी अकुत सम्पत्ति कमाएको विषयमा सम्पत्ति शुद्धीकरण विभागले समेत दुई वर्षअघि अनुसन्धान सुरु गरेको समाचार प्रकाशित भएको थियो।

सुशासनको चर्को नारा दिएर उदाएको रास्वपाले अर्याललाई स्वार्थको द्वन्द्व सिर्जना हुनेगरी मन्त्री बनाएको आरोप चलिरहँदा लामिछानेले उनको बचाउमा अभिव्यक्ति नै दिएका थिए। अर्याल म्यानपावर व्यवसायसँग आबद्ध रहेको प्रमाण दिए आफैंले कारबाही गर्ने भनेर लामिछानेले आरोप पन्छाउन खोजेका थिए।

स्वार्थको सम्बन्ध’

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनियुक्त कार्यवाहक सभापति अर्याल र संस्थापक सभापति रवि लामिछानेबीच पहिल्यैदेखि ‘स्वार्थको सम्बन्ध’ नै थियो।

अर्यालको रेमिट्यान्स कम्पनी इजिलिंकको ‘ब्रान्ड एम्बेस्डर’ थिए। लामिछानेको तस्बिर राखेर उक्त कम्पनीले प्रचार–प्रसार नै गर्दै आएको छ। जसको प्रचारका लागि जापान, दक्षिण कोरिया, अस्ट्रेलियालगायत देशहरूमा पुगेर लामिछानेले प्रचारात्मक कार्यक्रमसमेत गरेका थिए।

यस्तै लामिछानेका सहकर्मी चार वर्षअघि दीपक बोहरालाई अर्यालले गाडी नै उपहार दिएका थिए। जसको तस्बिर बोहराले सार्वजनिक गरेका थिए। लामो समयदेखि यसरी व्यावसायिक सम्बन्ध रहेका अर्याललाई लामिछानेले रास्वपा गठन गर्दा उपसभापति बनाएर आफूपछाडिको वरीयताको जिम्मेवारी सुम्पिएका थिए। उनले समानुपातिकको बन्द सूचीमा राखेर सांसदसमेत बनाए। सरकारमा जाँदा अर्यालकै रोजाईअनुसार श्रम मन्त्रालयको जिम्मेवारी सुम्पिए। अहिले आफू जिम्मेवारीमुक्त हुँदा पार्टी नेतृत्वको जिम्मेवारी नै सुम्पिएका छन्।

‘जेसुकै भए पनि पार्टीमा अहिले पनि रविजीकै प्रभाव चल्छ। उहाँकै कारण पार्टीको यो हैसियत कायम पनि भएको हो,’ रास्वपाका एक केन्द्रीय सदस्यले भने, ‘पार्टीको जिम्मेवारी त उपसभापति बनेपछि स्वतः उहाँ(अर्याल)मा जाने नै भयो। तर संसदीय दलको नेताको जिम्मेवारी रविजीकै चाहनाबमोजिम उहाँलाई दिइएको हो।’ पार्टी सभापति लामिछाने बाहिरिएपछि वरिष्ठताका आधारमै अर्याललाई सहमतिका आधारमा दुवै जिम्मेवारी दिइएको पार्टीका गण्डकी प्रदेश सभापति एवं सांसद ढाकाप्रसाद श्रेष्ठले बताए।

प्रकाशित: १५ माघ २०७९ ००:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App