७ वैशाख २०८१ शुक्रबार
राजनीति

जापानका मेयरलाई किराँती पहिचानको वाबु (चिन्डो) उपहार

जापनिज समकक्षीलाई वाबु उपहार दिँदै मेयर भट्टराई। तस्विरः महेश्वर।

जापानको तोचिगी नगरप्रमुख ओखावा हिदेकोलाई नेपालको किराँती पहिचानको वाबु (चिन्डो) उपहार प्रदान गरिएको छ।

जापानको तोचिगी नगरको मैत्रीपूर्ण भ्रमणको क्रममा रहेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरप्रमुख तीर्थराज भट्टराईले ओखावालाई वाबु उपहार प्रदान गरेका हुन्।

नगर उपप्रमुख तथा कार्यवाहक मेयर बिसन राईले भ्रमणको क्रममा मेयर भट्टराईले जापानका समकक्षी हिदोकोलाई वाबुसँगै नेपाली मौलिक संस्कार, संस्कृति र राष्ट्रियता झल्कने बिभिन्न सामग्रीहरू उपहार दिएको बताए।

उनका अनुसार किरात बाहुल्यता रहेको दिक्तेल रुपाकोट मझुवा गढीको तर्फबाट वाबु, बाँसको चोयाबाट निर्मित भुने (माछा बोक्ने भाँडो), चोयाबाटै निर्मित थुन्से (सोली), बौद्ध मूर्ति, हिमालको फोटो र एकसिङे गैँडाको मूर्ति तथा दुई देशको झन्डा अंकित लोगो उपहार प्रदान गरेका छन्।

दुई मेयरबिचको भेटका क्रममा नगरप्रमुख भट्टराईले हिदेकोलाई दिक्तेल रुपाकोट मझुवागढी भ्रमणको निम्तो दिएको उपमेयर राईले बताए।

‘हाम्रो मेयर साव जापानको भ्रमण गरेर भर्खरै फर्कनु भएको छ। भ्रमणको क्रममा उहाँले नेपाली किराँती समुदायको मुन्धुमसँग सम्बन्धित वाबुलगायत नेपाली मौलिक सामग्री र देशको पहिचान झल्कने बिभिन्न सामग्रीहरू उताका मेयरलाई उपहार दिनुभएको छ’ राईले भने ‘त्यहाँका मेयरलाई हाम्रो नगरपालिकाको भ्रमण गर्न औपचारिक निम्ता पनि उहाँले दिनुभएको छ, जापनिज पाहुनालाई हामी छिट्टै स्वागत गर्न पाउनेछौँ।’

भ्रमणको क्रममा मेयर भट्टराईले तोचिगी नगरको भौतिक पूर्वाधार संरचनादेखि समग्र विकास निर्माणको प्रत्यक्ष अवलोकन गर्दै गरेको अनुभवलाई स्वनगरमा कार्यान्वयन गर्न चाहेको उनलाई उद्धृत गर्दै उपमेयर राईले बताए।

दुई साता लामो भ्रमणको क्रममा दुई मेयरबीच एकापसमा अनुभव आदान प्रदान गर्नुका साथै दीर्घकालीन सहयोगका लागि भगिनी सम्बन्ध कायम गर्ने सहमति भएको सकेर उपमेयर राईले बताएका छन्।

शनिबार नेपाल फर्केका भट्टराईले भ्रमण सकेर जापानमा  छरिएर रहेका खोटाङे नागरिकहरूलाई भेटघाट गरेका थिए।

प्रकाशित: १४ माघ २०७९ १५:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App