coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

देशको राजनीति सत्ता कब्जाको खेलमा फसेको छः अध्यक्ष नेपाल

फाइल तस्बिर।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुक सत्ता कब्जाको राजनीतिमा फसेको बताएका छन्। अहिले राजनैतिक र संवैधानिक पद कब्जाको दाउ चलिरहेको उल्लेख गर्दै नेता नेपालले अन्ततः सत्ता कब्जा गर्ने दाउमा राजनीति फसेको टिप्पणी गरे।

सप्तरीको राजविराजमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले भने ‘यो गोल चक्करबाट देशको राजनीति कसरी निस्कने त्यो चिन्ताको विषय हो। सत्ता कब्जा गर्ने दाउ चलिरहेको छ, सभामुख, राष्ट्रपति कब्जा गर्ने, पछि प्रधानमन्त्री कब्जा गर्ने त्यसपछि राज्यका अन्य निकाय कब्जा गर्ने खेल चलिरहेको छ।’

वर्तमान सरकार गठन भएदेखि मुलुकमा तमासाहरू भइरहेको टिप्पणी गर्दै नेपालले भने ‘ अझै कति वटा तमासा आगामी दिनमा हुने हो त्यो हेर्न बाँकी नै छ।’ एमालेले राष्ट्रपति पद पाए उसलाई कसैले छुन नसक्ने नेता नेपालको भनाई छ। ‘राष्ट्रपति एमालेले पायो भने उसलाई कसैले छुन सक्दैन, यो कुरा माओवादीले बुझ्या छन् कि छैनन् ?’ नेपालले भने, ‘एमालेमा असहिष्णु र संकीर्ण सोच छ।’

जसपालाई अहिले सरकारमा सहभागी गराइएको छैन्। उनले भने, ‘आफ्नो पार्टीसँग एकताका लागि वार्ता गरेकै कारण जसपालाई सरकारमा मौका नदिएको कुरा सुनेको छु। ‘जसपा नेतासँगको भेटमा एमालेका नेताले माधव नेपालसित वार्ता गरेका कारण सरकारमा मौका नदिएको कुरा बताएको विषय बाहिर आएको छ’, नेपालले भने, ‘यति असहिष्णु, यति संकीर्ण सोच भएकाबाट के होला ?’

नेता नेपालले काँग्रेसलाई पार्टी नै नभएको टिप्पणी गरेका छन्। ‘नेपाली काँग्रेस अनुशासन पालना नगर्ने, गुटैगुटमा चिराचिरा परेको, एकले अर्काको कुरा नमान्ने विचित्रको पार्टी हो,’ नेपालले भने, ‘यो पार्टीभन्दा पाटी पौवा जस्तो छ।’

राष्ट्रपतिको निर्वाचन आउन समय बाँकी रहेकाले अहिले नै उम्मेदवारका विषयमा छलफल नभएको उनले बताए। काँग्रेस वा गैर काँग्रेस को राष्ट्रपति हुने छलफलको विषय भएको बताउँदै उनले भने, ‘सबै पद काँग्रेसलाई नै चाहिन्छ भन्ने छैन, राष्ट्रपति पनि चाहिने, प्रधानमन्त्री पनि चाहिने तर अरूको कुरा नगर्ने भएपछि त बिग्रिन्छ नि कुरा।’

जसपा लगायत दलसँग एकताका कुराहरु चलिरहेको बताउँदै नेता नेपालले भने, ‘अहिले नै निष्कर्षमा पुगिसकिएको भने छै। हेरौँ कुन निष्कर्षमा पुग्न सकिन्छ, उनले भने। उनले थपे,‘जसपा मात्र नभई नेकपा माओवादी केन्द्र, चन्द्रदेव जोशीको नेकपा संयुक्त र वामदेवजीसँग कुरा भइरहेको छ, हामी चाहन्छौँ एकता वा सहकार्य होस्।’

प्रकाशित: १४ माघ २०७९ १३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App