७ वैशाख २०८१ शुक्रबार
राजनीति

देश अस्थिरताको दिशातर्फ उन्मुख, राष्ट्रिय सहमति आवश्यक छ: डा. भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश अस्थिरतातर्फ उन्मुख भएको बताएका छन्।

पार्टीको कार्यक्रममा सहभागी हुन शनिवार गोरखा आएका उनले पत्रकारहरूसँगको कुराकानीमा भने ‘शसकिय स्वरूप र निर्वाचन प्रणाली यही कायम रहँदा सम्म कुनै व्यक्ति वा दलको बहुमत आउने अवस्था देखिँदैन, यसले देशमा स्थिरताको संकेत गर्दैन, यो राम्रो विषय होइन।’

समग्र राष्ट्रिय राजनीतिमा प्रमुख दलहरुको सहमति आवश्यक रहेको उनले बताए। 

‘दलहरुको सहमति बिना स्थिरता हुँदैन, आर्थिक सङ्कटको समाधानलेपनि राष्ट्रिय सहमति खोजेको छ’ उनले भने ‘शान्ति सम्झौता, भू–राजनीतिक सन्तुलन लगायत सबै मुद्दामा राष्ट्रिय सहमति आवश्यक छ।’

राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पैरवी गरिरहेका भट्टराईले नेपाली राजनीतिमा अस्थिरताको संकेत देखिन थालेको बताए। अभिभावकीय भूमिकामा रहेको राष्ट्रपतिमा सबैको सहमति हुनुपर्ने भन्दै उनले काँग्रेस सहितको सहमति आवश्यक रहेको बताए। 

‘सरकारमै सबैको सहमति भएर पाँच वर्ष चलाउनुपर्छ’ उनले भने। 

निर्वाचनमा एउटा, निर्वाचनपछि अर्को गठबन्धन भएको प्रसङ्ग जोड्दै उनले राष्ट्रपतिमा सहमति नभएको खण्डमा नेपालको अस्थिर राजनीतिक परिवेशमा प्रतिकुल प्रभाव पर्न सक्ने बताए।  

राष्ट्रपतिमा आफ्नो नामको चर्चा बारे उनले भने ‘शुभेच्छुकहरूले नाम लिनुभएको होला, अहिले मैले आफैँ बोल्नु समयभन्दा अघि हुन्छ।’ गृहमन्त्री रवि लामिछानेको नागरिकता खारेजीको विषयमा उनले अदालतको फैसला स्वीकार गरेर जानुपर्ने बताउँदै भने ‘संवेदनशील मुद्दामा ध्यान पुर्‍याउन नसक्नु हाम्रो सामूहिक असफलता पनि हो।’

प्रकाशित: १४ माघ २०७९ ११:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App