coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राज्यमन्त्री डा. तोसिमा कार्की: आइसियु प्रकरण पछि ‘रिबन प्रकरण’ बारे स्पष्टीकरण

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले वीर अस्पतालको कार्डियोलोजी विभागको क्याथ ल्याबको उद्घाटनको क्रममा स्वास्थ्य मन्त्री पदम गिरीसँगै रिबन काटेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो। 

एउटै ल्याबको उद्घाटन गर्दा एउटै मन्त्रालयका दुई जना मन्त्रीले छुट्टाछुट्टै (तल र माथि) रिबन काटेको तस्बिर भाइरल भएको हो। नेपालको इतिहासमा संभवत यो पहिलो घटना हुनुपर्छ। 

वरीयताका हिसाबले स्वास्थ्य मन्त्री राज्यमन्त्रीभन्दा वरिष्ठ हो र उसैले रिबन काटेर ल्याबको उद्घाटन गर्नुपर्थ्यो। तर, बिहीबार ल्याब उद्घाटनको रिबन मन्त्री गिरी र स्वास्थ्य राज्यमन्त्री कार्कीले एकैसाथ काटेका थिए। उद्घाटनका यिनै तस्बिरहरू भाइरल भएको थियो। यससँगै सामाजिक सञ्जालमा आशालाग्दी मन्त्रीले नचाहिँदो ‘स्टन्ट’ गरेको भन्दै धेरैले आलोचना पनि गरे। 

उनले आज स्वास्थ्य मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ल्याब उद्घाटन कार्यक्रम र यसका तस्बिरहरू भाइरल भएको बिषयमा समेत स्पष्टीकरण दिनु परेको छ।

डा. कार्कीले वीर अस्पतालमा पहिलो पटक स्थापना भएको मुटुरोगसम्बन्धी क्याथ ल्याब उद्घाटन कार्यक्रममा आफू स्वास्थ्य मन्त्रीसँगै पुगेको बताइन्। अस्पतालबाट स्वास्थ्य मन्त्री र राज्यमन्त्री दुवैलाई आमन्त्रण आएको तथा कार्यक्रमको महत्त्व हेरेर दुवै जना गएको उनको भनाइ छ।

उनले भनिन्, ‘ क्याथल्याब उद्घाटनमा मन्त्रीज्यूले पनि मलाई सँगै जाउँ भन्नुभयो। हामी दुवै जानुपर्ने आवश्यक ठान्यौँ र सँगै गयौँ। डाक्टर भएको हिसाबले पनि र मेडिकल काउन्सिलको सदस्य भएकाले हिसाबले अस्पतालका निर्देशक र विशेषज्ञ डाक्टरले पनि यो कार्यक्रम नछुटाउनुस् है भन्नुभएको थियो। त्यहीँ अनुसार गए।’ 

डा. कार्कीका अनुसार दुवै मन्त्रीलाई रिबन काट्न लगाएर क्याथल्याव उद्घाटन गराउने पहिल्यै तयारी गरिएको थियो। दुई वटा रिबन राखिएको थियो त्यहीँ अनुसार कैँची दिएपछि कार्यक्रमको सम्मानका लागि रिबन काटेको उनले बताइन्।

उनले थपिन्, ‘हामीले छलफलमा जनशक्तिका मुद्दा , क्याथलयाबमा आवश्यक वस्तुहरू, दरबन्दीको विश्यमा  सेवा मुद्धाहरु, सिटिस्याकन, एमआरआई इकुपमेन्टहरु नपुग अवस्था थियो त्यसको बारेमा छलफल गरेका थियाै‌ तर  यो विषय समाचारमा आएन। त्यो कुरा अझै धेरै महत्त्वपूर्ण थियो होइन? जनतासँग पुग्नु पर्ने कुरा थिएन र पत्रकार मित्र ज्युहरू? तर, सबै जना रिबनका पछि दौडिनुभयो। यदि तपाइहरूले सही र सत्य सूचना प्रवाह गर्नुभयो भने मात्रै हामीले चाहेकोजस्तो सुशासन आउनेछ।’

डा. कार्कीले क्याथल्याव जस्तो राम्रो कुराको उद्घाटन गर्न पाएकोमा खुसी व्यक्त पनि गरिन्।

उनले  आफुले उद्घाटन गर्ने मौका पाएकोमा खुसी भएको बताइन्। अब यसलाई के कसरी साथीहरूले व्याख्या गर्नुभयो, उहाँहरूकै विवेकलाई छोडिदिएँ। म त्यहाँ नपुग्नुपथ्र्यो कि रिबन नकाट्नुपथ्र्यो कि? के भन्न खोजिएको हो बुझ्न सकेकी छैन। उनले भनिन्। 

उनले कुनै पनि कार्यक्रममा अतिथिका रूपमा आतिथ्यता दिनका लागि मात्र वा खादा(माला) ओढाउन मात्र भने नबोलाइदिन सबैसँग अपिल गरिरहेको पनि बताइन्।

माघ ५ गते बिहीबार वीर अस्पतालको कार्डियोलोजी विभागको क्याथ ल्याबको उद्घाटन थियो। उद्घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की अतिथि बनेर पुगेका थिए।

यसअघि मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा आत्मदाह प्रयास गरेका प्रेम प्रसाद आर्चायलाई कीर्तिपुरस्थित वर्न अस्पतालमा भेट्न गएको बेला भिडियो खिचेको र मेडिकल पन्जा र अनुमतिबिना छिरेको भन्दै आलोचना भएपछि स्वास्थ्य राज्यमन्त्री डा‍ तोसिमा कार्कीले स्पष्टीकरण दिएकी थिइन्। 

उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत आफूले  भिडिओ नखिचेको स्पष्टीकरण दिएकी हुन्। आत्मदाह प्रयास गरेका उनलाई मृत्युको मुखमा कसले पन्जा लगाएर छोयोरछोएन र कसले भिडियो खिच्यो र खिचेन भन्ने बहसलाई धेरै ठुलो बनाएर प्रेम आचार्य स्वयंले उठाउन खोजेको तमाम प्रश्नहरूको जवाफ खोज्ने बहसलाई ओझेलमा पार्न नहुने उनले बताइन्।

उनले फेसबुकमा लेखेकी छन् ,‘खबर सुन्ने बित्तिकै हतार हतार म र मेरो स्वकीय मात्र गएका थियौँ। हामी अस्पतालको गेटमा पुग्दा नै त्यहाँ उपस्थितहरूले ओहो राज्यमन्त्री आउनुभयो भन्दै हामीलाई माथि आइसीयूसम्म पुर्‍याउन आउनुभयो। ड्युटीको डाक्टर भने आइसियुको ढोकासम्म मलाई लिन आउनुभएको थियो।  अहिले सबैको हात९हातमा मोबाइल भएको अवस्थामा तत्पश्चात् त्यहाँभित्रको कसलाई छिर्न दिइयो, को को र्छियो , को छिरेन , को बिरामीको अभिभावक, को मिडिया थियो हामीलाई थाहा पनि भएन र कसले कहाँ कसरी किन कहाँबाट भिडियो खिच्यो त्यसबारेमा हामी जानकार पनि छैनौँ, यदि मिडिया बाजी नै गर्नु थियो त त्यहाँ अन्य भिजिटरहरुले मास्क नलाउनुभएको अवस्थामा म आफू पनि मास्क खोलेरै चिनिएरै फोटो खिचाउँथे होला।’

डा काकीले आइसियु प्रोटोकल पालना नगरेको सन्दर्भमा आफूले आइसियु प्रोटोकल पालना गरेको बताइन्। उनले भनेकी छन्, ‘जलेर मृत्युको मुखमा पुगेको बिरामीलाई, तर म आफू पनि शल्य चिकित्सकको नाताले आइसियु भेट्न जान मलाई कुनै ठुलो प्रक्रिया आवश्यक थिएन।’ उनले ज्यान गुमाइसकेका व्यक्तिको मृत्युमाथि राजनीति नगर्न आग्रह समेत गरिन्। 

माघ १० गते मंगलबार प्रेम आचार्यले दिउँसो संसद भवन अगाडी आत्मदाह प्रयास गरेका थिए। जलेर गम्भीर घाइते भएका उनलाई प्रहरीले घटनास्थलबाट तत्कालै उपचारका लागि कीर्तिपुर अस्पताल पुर्‍याएको थियो। 

अस्पताल लगे लगत्तै बर्न वार्डको आइसियुमा राखेर उनको उपचार थालियो। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको शरीरको ८० प्रतिशत भाग जलेकाले अवस्था गम्भीर थियो। आचार्यलाई भेट्न राति ८ बजेतिर स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा। तोसिमा कार्की अस्पताल पुगेकी थिइन्। 

आचार्यको माघ ११ गते कीर्तिपुर अस्पतालमा उपचाररत क्रममा बिहान ५ः०० बजे निधन भएको अस्पतालले जनाएको थियो।

प्रकाशित: १३ माघ २०७९ १२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App