५ वैशाख २०८१ बुधबार
राजनीति

भिडियोलाई लिएर प्रेम आर्चायले उठाउन खोजेको मुद्दालाई ओझेलमा नपारौं: डा. तोसिमा कार्की

मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा आत्मदाह प्रयास गरेका प्रेम प्रसाद आर्चायलाई किर्तिपुरस्थित वर्न अस्पतालमा भेट्न गएको बेला भिडियो खिचेको र मेडिकल पन्जा र अनुमतिबिना छिरेको भन्दै आलोचना भएपछि स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्पष्टीकरण दिएकी छिन्।

उनले आफ्नो आधिकारिक फेसबूक पेजमार्फत आफूले  भिडिओ नखिचेको स्पष्टीकरण दिएकी हुन्। आत्मदाह प्रयास गरेका उनलाई मृत्युको मुखमा कसले पन्जा लगाएर छोयो/छोएन र कसले भिडियो खिच्यो र खिचेन भन्ने बहसलाई धेरै ठूलो बनाएर प्रेम आचार्य स्वयंमले उठाउन खोजेको तमाम प्रश्नहरुको जवाफ खोज्ने बहसलाई ओझेलमा पार्न नहुने उनले बताइन्।

उनले फेसबुकमा लेखेकी छन् ,‘खबर सुन्ने बित्तिकै हतार हतार म र मेरो स्वकिय मात्र गएका थियौँ। हामी अस्पतालको गेटमा पुग्दा नै त्यहाँ उपस्थितहरुले ओहो राज्यमन्त्री आउनुभयो भन्दै हामीलाई माथि आइसीयूसम्म पुर्‍याउन आउनुभयो। ड्युटीको डाक्टर भने आइसीयूको ढोकासम्म मलाई लिन आउनुभएको थियो।  अहिले सबैको हात-हातमा मोबाइल भएको अवस्थामा तत्पश्चात त्यहाँभित्रको कसलाई छिर्न दिइयो, को को छिर्‍यो , को छिरेन , को बिरामीको अभिभावक, को मिडिया थियो हामीलाई थाहा पनि भएन र कसले कहाँ कसरी किन कहाँबाट भिडियो खिच्यो त्यसबारेमा हामी जानकार पनि छैनौं, यदि मिडिया बाजी नै गर्नु थियो त त्यहाँ अन्य भिजिटरहरुले मास्क नलाउनुभएको अवस्थामा म आफू पनि मास्क खोलेरै चिनिएरै फोटो खिचाउँथे होला।’

उनले आइसीयू प्रोटोकल पालना नगरेको सन्दर्भमा आफूले आइसीयू प्रोटोकल पालना गरेको बताइन्। उनले भनेकी छन्, ‘जलेर मृत्युको मुखमा पुगेको बिरामीलाई, तर म आफू पनि शल्यचिकित्सकको नाताले आइसीयू भेट्न जान मलाई कुनै ठूलो प्रक्रिया आवश्यक थिएन।’

उनले ज्यान गुमाइसकेका व्यक्तिको मृत्युमाथि राजनीति नगर्न आग्रह समेत गरिन्। 

डा. कार्कीले आफ्नो फेसबुक स्टाटसमा आचार्यको आत्माले नयाँ बनेको सरकारलाई सधै सम्झिरहनेछ भनेकी छिन्। ‘ऊ अस्ताउनु अघि नयाँ बनेको सरकारको प्रतिनिधी आफैँले भेटेर ‘हामी छौँ नि’ भन्दै गर्दा ती व्यक्तिले ‘म बाँच्न चाहन्छु’ भन्ने उनका अन्तिम वाक्यले यो सरकारलाई र मलाई पनि सधैँ जनताप्रति उत्तरदायी हुन घच्घच्याईरहने बताएकी छिन्।

मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि इलामको सूर्योदय नगरपालिका ११ का ३७ वर्षीय प्रेमप्रसाद आचार्यले आत्मदाह गरे। उनलाई केहीबेरमा प्रहरीले त्यहाँबाट उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगेको थियो।  

आचार्यको शरीरको ८० प्रतिशत भाग जलेको अवस्था थियो। त्यसैले उनलाई तत्कालै सघन उपचार कक्ष (आइसियू) मा राखेर उपचार सुरू गरिएको थियो। तर आचार्यको उपचार सफल भएन। उनी माघ ११ गते उपचारकै क्रममा बिहान ५ बजे उनको निधन भयो।  

जलेर घाइते भएका आचार्यको अवस्था बुझ्न मंगलबार साँझ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की त्यही दिन साँझ कीर्तिपुर अस्पतालको नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर पुगेकी थिइन्।  

सघन उपचार कक्षमा राखिएका बिरामी भेट्दा उनले बिना अनुमति र बिनापञ्जा  भेटेको भिडियो फोटोमा उनको आलोचना भईरहेको थियो।  

उक्त भिडियोमा राज्यमन्त्री कार्कीको हातमा पन्जा देखिन्न। यसबाहेक उनीसँगै क्यामेराधारी केही व्यक्ति पनि आइसियुमा प्रवेश गरेको भिडियोमा देखिन्छ। भिडियोमा राज्यमन्त्री कार्कीले आचार्यलाई आफ्नो परिचय दिँदै कुराकानी सुरूवात गरेकी छन्। उनले आचार्यको आत्मलापमा आफ्नो नामसमेत उल्लेख भएको बताइन। यसैक्रममा डा. कार्कीले भनेकी छन्, ‘किन यस्तो गर्नुभएको? हामी थियौं नि, राज्य थियो नि। हाम्रो नयाँ सरकार बनेको थियो, हामीले केही न केही उपाय खोज्थ्यौं, यस्तो गर्नुहुन्थेन।’  

राज्यमन्त्री कार्कीले यसरी आइसियुमा प्रवेश गरेर उपचारका क्रममा पालना गर्नुपर्ने प्रोटोकलको गम्भीर उलंघन गरेको एक प्लास्टिक सर्जनले नागरिक न्यूजसँग बताए। ‘यो गम्भीर लापरबाही हो। बर्न वार्ड निकै संवेदनशील मानिन्छ।  त्यसमा पनि आइसियु। जलेका बिरामीको उपचार निकै संवेदनशील हुन्छ,’ ती सर्जनले भने, ‘बर्न वार्डलाई हावाबाट हुन सक्ने संक्रमणबाट पनि जोगाएर राख्नुपर्ने हुन्छ। तर त्यहाँ त राज्यमन्त्रीज्यू दलबल लिएर जानुभएछ।’

राज्यमन्त्री कार्की प्रोटोकल पालना नगरी वर्न वार्डको आइसियु छिरेको विषयलाई लिएर सामाजिक सञ्जालमा पनि व्यापक टीकाटिप्पणी भइरहेको थियो। सामाजिक अभियन्ता उज्वलविक्रम थापाले ट्विटमार्फत राज्यमन्त्री कार्कीको उक्त कदम लज्जास्पद भएको टिप्पणी गरेका थिए। ‘उहाँ आफैं डाक्टर, जलन कक्षभित्र क्यामेरा लिएर चित्रण गर्न पाइँदैन भन्ने ज्ञान त हुनुपर्ने हो। काम गर्नुस, कति देखाउनुपर्ने हो?’ उनले लेखेका थिए, ‘यो लज्जास्पद र गैरकानुनी हो। कीर्तिपुर अस्पतालको तृटि हो। पदले नियम मिच्ने परम्परा यथावत ।’  

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि राज्यमन्त्री कार्कीको यो काम ठिक नभएको बताएका थिए। ट्विटमा उनले लेखेका थिए, ‘राज्यमन्त्री तोसिमा कार्की राम्रो सम्भावना भएकी व्यक्ति हुन्। राजनीतिमा उनको प्रवेश स्वागतयोग्य छ। बिरामी भेट्न जानु राम्रो हो। तर ८० प्रतिशत जलेर जीवन र मृत्युको दोसाँधमा रहेका बिरामीलाई भेट्न भिडियो खिच्ने टोली लिएर आइसियुमा जाने स्वयं चिकित्सक पनि रहेकी कार्कीको काम ठिक लागेन।’ राज्यमन्त्री कार्कीले आइसियुमा गम्भीर अवस्थाका आचार्यसँग गरेको कुराकानीको भिडियोको सामाजिक सञ्जालमा आलोचना भए पछि उनले यसको जवाफ शुक्रबार (आज दिएकी हुन।

मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि इलामको सूर्योदय नगरपालिका ११ घर भएका ३७ वर्षीय प्रेमप्रसाद आचार्यले आत्मदाह गरे। उनलाई केहीबेरमा प्रहरीले त्यहाँबाट उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको र्पुयायो।  

आचार्यको शरीरको ८० प्रतिशत भाग जलेकाले अवस्था थियो। त्यसैले उनलाई तत्कालै सघन उपचार कक्ष (आइसियू) मा राखेर उपचार सुरू गरिएको थियो।

जलेर घाइते भएका आचार्यको अवस्था बुझ्न मंगलबार साँझ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा।तोसिमा कार्की कीर्तिपुर अस्पतालको नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर पुगेकी थिइन्। सघन उपचार कक्षमा राखिएका बिरामी भेट्दा उनले बिना अनुमति र बिनापञ्जा  भेटेको भिडियो फोटो अहिले सर्वत्र आलोचनामा आइरहेको छ।  

आचार्यको माघ ११ गते कीर्तिपुर अस्पतालमा उपचाररत क्रममा बिहान ५ः०० बजे निधन भएको अस्पतालले जनाएको थियो।

प्रकाशित: १३ माघ २०७९ ०५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App