७ वैशाख २०८१ शुक्रबार
राजनीति

राष्ट्रपति उम्मेदवार: पात्र एमालेको, रुचि माओवादीको!

सुवास नेम्वाङ,ईश्वर पोखरेल,अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली।

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति नतोक्दै उम्मेदवार को हुने भन्ने आन्तरिक चर्चा सुरु भएको छ। सत्ता गठबन्धनमा आबद्ध दलमध्ये नेकपा एमालेका भागमा राष्ट्रपति परेकाले त्यहाँ दुई पात्र बढी नै चर्चामा छन्। राष्ट्रपति निर्वाचनमा मिति अन्योल रहेका बेला एमालेले कसलाई उम्मेदवार बनाउने भन्नेमा कौतूहलता भए पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङको नाम बढी चर्चामा छन्।

सभामुख चयनसँगै दलहरूको ध्यान राष्ट्रपति निर्वाचनतर्फ केन्द्रित भएको छ। सत्तामा भएका र बाहिर रहेका दलहरूले आफ्नो दलको प्रतिनिधित्व हुने गरी राष्ट्रपति बनाउनेतर्फ चासो दिइरहेका छन्। सत्ता गठबन्धन दलहरूले आफूबीच भएका सहमतिहरू अहिलेसम्म परिपालना गरेका कारण एमालेका तर्फबाट अघि सारिने उम्मेदवारलाई राष्ट्रपतिको निर्वाचन जित्न सहज हुने देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि उम्मेदवार उठाउने जनाइसकेको छ। फागुनभित्रै देशले नयाँ राष्ट्रपति पाउनुपर्ने भएकाले पनि अहिलेबाटै एमालेभित्र र बाहिर राष्ट्रपतिका लागि सम्भावित विभिन्न व्यक्तिको चर्चा सुरु भएको हो। अब बन्ने राष्ट्रपति चौथो कार्यकालका लागि चयन हुनेछन्। पहिलो कार्यकाल रामवरण यादव राष्ट्रपति पदमा आसीन रहे भने दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेकी विद्यादेवी भण्डारी अहिले तेस्रो कार्यकालका लागि राष्ट्रपति छिन्। उनको पछिल्लो कार्यकाल यही फागुनमा सकिँदैछ।

बुधबार एमाले पार्टी कार्यालयमा स्कुल विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेर बाहिरिने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचन र पात्रबारे कुनै टिप्पणी गर्न चाहेनन्। उनले सञ्चारकर्मीलाई यो विषयमा नजिस्काउन आग्रह पनि गरे। ‘यो विषयमा बारम्बर मलाई नजिस्काउनुस्,’ अध्यक्ष ओलीले भने। सभामुखको निर्वाचन सकिएपछि एमालेकै व्यक्ति राष्ट्रपति हुने तर पात्र भने अहिले नभन्ने भन्दै उनी पन्छिए। ओलीले राष्ट्रपतिमा एमालेकै उम्मेदवारमा राष्ट्रिय सहमति हुने बताउँदै आएका छन्।

सभामुख निर्वाचनका बेला एमालेले चर्चामै नआएका तर सबैले मान्ने पात्र चयन गरेको थियो । राष्ट्रपतिमा त्यही लागु हुने एमालेजनको बुझाइ छ।  

यद्यपि अहिलेको अवस्थामा एमालेभित्र उपाध्यक्षहरूमध्येबाटै राष्ट्रपतिमा जाने सम्भावना रहेको बताइन्छ। एमाले स्रोतका अनुसार अहिलेको अवस्थामा वरिष्ठमध्येबाटै राष्ट्रपतिका लागि पठाइनेछ। ‘वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङकै बढी चर्चा छ। उहाँहरूभन्दा बाहिर गए अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीसम्म पनि चर्चा हुने गरेको छ। तर सम्भावना पोखरेल र नेम्वाङमध्ये एक हो,’ एमाले स्रोतको दाबी छ। तर पोखरेल र नेम्वाङबीच राष्ट्रपतिमा को हुने भन्ने विवाद भए अहिलेसम्म चुपचाप बसिरहेकी अष्टलक्ष्मी शाक्यलाई अघि सार्ने सम्भावना पनि रहेको स्रोतको दाबी छ।

‘पार्टी अध्यक्षले अहिलेसम्म यो विषयमा कसैसँग कुराकानी गर्नुभएको छैन, अहिलेको चर्चा भनेको बजार हल्ला मात्रै हो,’ एमालेका एक पदाधिकारीले भने। नयाँ राष्ट्रपतिका लागि सत्ता गठबन्धन र बाहिर रहेका दलहरूले अंकगणितअनुसार जोड–घटाउ थाले पनि एमालेभित्र ओलीले चाहेको व्यक्ति मात्रै राष्ट्रपतिको उम्मेदवार हुने अवस्था छ। एमालेभित्र नेम्वाङको चर्चा बढी छ। गत मंसिरमा सम्पन्न आम निर्वाचनमा काठमाडौं–५ बाट पराजय भएपछि पोखरेल राजकीय जिम्मेवारीमा देखिएका छैनन्। उनलाई पठाउँदा पार्टीबाट सम्मानजनक बिदाइ हुने अवस्था भएकाले पनि उनको सम्भावना रहेको एमालेका एकथरी कार्यकर्ताको बुझाइ छ।

संविधानसभा अध्यक्ष र सभामुख भइसकेका नेम्वाङको चाहनालाई पनि कार्यकर्ताले नकार्न सकेका छैनन। अर्कातर्फ शाक्यलाई पठाउँदा पनि एमालेभित्र उनलाई न्याय गरेको महसुस हुने भएकाले ओलीको ध्यान त्यता पनि जान सक्ने बताइएको छ। ‘सभामुखको निर्णयले एउटा सन्तुलन बनाएको छ राष्ट्रपतिमा पनि त्यही अवस्था आउनेछ,’ एमालेका एक उच्च अधिकारीले भने। गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाललाई पुस २६ मा प्रतिनिधिसभामा विश्वासको मत दिएकाले कांग्रेसले राष्ट्रपति वा सभामुखमध्ये एक दाबी गरेको भए पनि सभामुखको निर्वाचनपछि भने परिस्थिति बदलिएको छ। सभामुखको निर्वाचनमा गठबन्धन दलहरूले दायाँबायाँ गरेका थिएनन्। एमालेले भने सरकार गठनअघि नै माओवादी केन्द्रले प्रधानमन्त्री र एमालेले राष्ट्रपति लिने सहमति भइसकेको अवस्थामा पूर्वसहमति तोडमोड नहुनेमा एमाले नेता–कार्यकर्ता विश्वस्त छन्।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पूर्वसहमतिअनुसार एमालेबाटै राष्ट्रपति हुने भनेर दुवै पार्टीका अध्यक्षहरूले बताइसकेको स्पष्ट पारिसकेका छन्। ‘राष्ट्रपतिमा एमालेले उम्मेदवार दिन्छ भन्ने कुरा भन्नु नै पर्दैन। पात्रबारे अहिले पार्टीभित्र छलफल भएको छैन,’ उनले भने। स्रोतका अनुसार प्रधानमन्त्रीलाई सहज हुनेगरी एमालेकै उम्मेदवार चयन हुन सक्नेछ। ‘कार्यकारी पद भएकाले प्रधानमन्त्रीले आफूलाई पनि सहज हुने पात्रको खोजी भए त्यसलाई हामीले आश्चर्य नमाने पनि हुन्छ, पात्र एमालेको रुचि माओवादीको पनि हुन सक्छ,’ एमालेको एक पदाधिकारीले भने। उनका अनुसार एमालेभित्रका ‘हार्डलाइनर’ स्वाभाव भएकालाई हालका प्रधानमन्त्रीले सहज मान्ने अवस्था नभए सबैलाई मिलाएर जाने स्वभाव भएका व्यक्ति खोजिन सक्छ, त्यस्तो अवस्थामा चर्चामा आएका नाम राष्ट्रपति नहुन सक्छन्,’ ती पदाधिकारीको दाबी छ।

एमालेमा वामपन्थीहरू एक ठाउँमा हुनुपर्छ भनेर तहगत बैठकमा मत राख्ने नेताहरू पनि भएकाले राष्ट्रपतिको उम्मेदवार त्यता पनि जान सक्ने बताइएको छ। ‘पार्टी अध्यक्षले अनौपचारिक कुराकानीमा पार्टीमै काम गरेका व्यक्तिलाई राष्ट्रपतिमा पठाउने भन्नुभएको छ तर को हो भन्ने विषयमा चाहिँ पदाधिकारी बैठकमै छलफल हुनेछ,’ ती पदाधिकारीले भने।

प्रकाशित: १२ माघ २०७९ ०१:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App