६ वैशाख २०८१ बिहीबार
राजनीति

भाँडाको घरमा चलेको वडा कार्यालय अब आफ्नै भवनमा

उदयपुरको दुर्गम पहाडी गाउँपालिका लिमचुङबुङ ५ जाँतेको नवनिर्मित प्रशासनिक वडा भवन सञ्चालनमा आएको छ। साबिक जाँते गाविस कार्यालय रहेकै ठाउँ टोड्केमा नयाँ भवन बनेपछि दैनिक वडाको कामकाज त्यहीँबाट सुरु भएको छ।  

३ वर्षअघि निर्माण सुरु भएको उक्त भवन झण्डै ७८ लाख लागत मूल्यमा सम्पन्न भएको हो। गाउँपालिकाले भवन निर्माणका लागि आर्थिक वर्ष ०७७/७८ मा ५० लाख र ०७८/७९ को गाउँ सभाले ४० लाख रुपैँया विनियोजन गरेको थियो। पहिलो चरणको ५० लाख बजेटको टेन्डर आव्हान गर्दा ४४ लाख ७ हजारमा ठेक्का लागेर भुईतला निर्माण भएको छ भने दोस्रो चरणको ४० लाख बजेटको ठेक्का ३३ लाख ९० हजारमा लागेर पहिलो तला निर्माण भएको छ।  

वडाध्यक्ष कविचन्द्र राईका अनुसार भुईतलाका ३ कोठा र पुरुष महिला २ वटा शौचालय छ भने २ कोठा, सभाकक्ष र शौचालय रहेको छ। पहिलो तलामा वडा सचिव कार्यकक्ष तथा पशु र कृषि विकास कार्यालय सञ्चालन गरिएको छ। त्यस्तै पहिलो तल्लामा वडाध्यक्ष कार्यकक्ष, बैठक कक्ष र वडा सदस्य कार्यकक्ष राखिएको छ।  

वडा सचिव केशवकुमार थापाले यसअघि व्यक्तिगत कच्ची घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको वडाले नयाँ भवन पाएपछि सेवा प्रवाह गर्न सहज भएको बताए। बहुदलकलामा बनेको ढुंगामाटो र टिनको छानोवाल साबिक गाविसको कच्ची भवन सशस्त्र द्वन्द्वताका तत्कालीन माओवादीले जलाइदिएको थियो।  

स्थानीय तह पुनर्संरचनापछि ०७४ को चुनावबाट निर्वाचित जनप्रतिनिधिले व्यक्तिगत घर भाडामा लिएर कार्यालय चलाउँदै आएका थिए। वडा भवन भएपछि जनप्रतिनिधि, कर्मचारी र सेवाग्राही सबैलाई काम गर्न र सेवा लिन सहज भएको सचिव थापाले बताए। तर, पर्याप्त कोठा अझै नपुगेकाले तला थप्नुपर्ने अवस्था आएको उनको भनाई छ। ४ जना वडा सदस्य, कम्प्युटर कक्ष र प्रविधि कक्षका लागि थप कोठाहरु भए सहज हुने सचिव थापाको सुझाव छ।  

गाउँपालिका अध्यक्ष मेजर राई, उपाध्यक्ष पुष्पलाल राई र प्रमुख प्रशासकीय अधिकृत गुरुङले एक कार्यक्रमका बीच भवनको भर्खरै उद्घाटन गरे। उद्घाटन कार्यक्रममा अध्यक्ष राईले पहाडी र बिकट रहेको लिमचुङबुङ गाउँपालिकालाई भौतिक पूर्वाधार, सडक, विद्युत्, खानेपानी र शिक्षा स्वास्थ्य सबै क्षेत्रमा विकसित गर्दै लगेको बताए। खास गरी पर्यटन र कृषिमा गाउँपालिकाले ध्यान केन्द्रित गरेर अघि बढिरहेको बताउँदै अध्यक्ष राईले आगामी ४ वर्षभित्र लिमचुङबुङलाई जिल्लाकै नमुना गाउँपालिकामा परिणत गर्ने प्रतिबद्धता जनाए।  

कार्यक्रममा शताब्दी छुन लागेकी ज्येष्ठ नागरिक महिलालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने पञ्चायतदेखि बहुदल हुँदै स्थानीय तहसम्मका पूर्व जनप्रतिनिधि, सामाजिक अगुवा तथा स्वास्थ्यकर्मीलाई प्रशंसा पत्र प्रदान गरियो। अध्यक्ष राईले ९४ वर्षीया वृद्धा पर्वलक्षी राई, पूर्व प्रधानपञ्च, पूर्व वडाध्यक्ष, शैक्षिक तथा सामाजिक अगुवाहरू २१ जनालाई सम्मान गरे। त्यस्तै उपाध्यक्ष राई र प्रमुख प्रशासकीय अधिकृत गुरुङले १० वटा टोल विकास संस्थाका अध्यक्ष, १० जना महिला स्वयंसेविका र ३ जना स्वास्थ्यकर्मीलाई प्रशंसा पत्र प्रदान गरे।  

वडाध्यक्ष राईले वडालाई लामो समयदेखि बिभिन्न क्षेत्र र तह तप्कामा रहेर योगदान गर्दै आएका ४५ जनालाई प्रशंसा पत्रले सम्मान गरेको बताए। उनले ५ नं. वडा लिमचुङबुङ गाउँपालिकाकै नयाँ भवन पाउने पहिलो वडा भएको पनि बताए। अन्य ४ वटा वडाभन्दा पहिले जाँतेले नयाँ भवन निर्माण गरेर कार्यालय सञ्चालन गर्न सफल भएको उनको भनाई छ। प्रमुख प्रशासकीय अधिकृत गुरुङले बाँकी ४ वडाको भवन पनि निर्माण कार्यको अन्तिम चरणमा पुगेको बताए। ४ नं. वडा बलम्ता, ३ नं. बाराहा, २ नं. ताम्लिछा र १ नं. वडा बाँसबोटे वडा भवनहरु धमाधम निर्माण भइरहेको र केही वडा भवनहरु अन्तिम चरणमा पुगिसकेको अधिकृत गुरुङले बताएका छन्।  

प्रकाशित: ११ माघ २०७९ १२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App