८ वैशाख २०८१ शनिबार
राजनीति

वाग्मती प्रदेशमा मन्त्री बन्नेकाे नाम टुंगो लाग्यो

वाग्मती प्रदेश सरकारमा मन्त्री बन्नेहरुको नाम करिब टुंगो लागेको छ। हाल ३ सदस्यीय मन्त्रिपरिषद् रहेको यस प्रदेशमा सत्तारुढ दलको तर्फबाट मन्त्री बन्नेहरुको नाम टुंगो लागेको हो।  

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन्। हालसम्म नेकपा एमालेका जगनाथ थपलिया (जेएन) आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपाका उद्धव थापा विना विभागीय मन्त्री रहेका थिए। मन्त्रालयको संख्या निर्धारण गर्ने उद्देश्यसहित बनाइएको कार्यदलले प्रतिवेदन बुझाएको भोलीपल्ट मन्त्रिपरिषद् विस्तार हुन लागेको हो। नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको संसदीय दलको वैठकले मन्त्रिपरिषद्मा सहभागी हुनेको नामावली टुंगो लगाएको हो।  

नेकपा एमालेबाट एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य तथा केशव पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री हुने भएका छन्। नेकपा माओवादी केन्द्रबाट युवराज दुलाल भौतिक पूर्वाधार विकास, गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन र कुमारी मोक्तान सामाजिक विकास मन्त्री हुने भएका छन्। राप्रपाबाट डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी, राजु विष्ट वन तथा वातावरण मन्त्री बन्ने भएका छन्।  

यसअघि विना विभागीय मन्त्री रहेका राप्रपाका उद्धव थापाले खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री पाउने भएका छन्। आजै दिउँसो २ बजे हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहणको कार्यक्रम रहेको छ।

प्रकाशित: ११ माघ २०७९ ०७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App