७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री भदौ ३० देखि असोज २ सम्म भारत भ्रमणमा जाने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी भदौ ३० देखि असोज २ गतेसम्म भारत भ्रमणमा जाने भएका छन्। चारदिने भ्रमणका क्रममा भारतले कुनै ठूलो परियोजनामा सहयोग गर्ने विषयमा सम्झौतासमेत हुने बताइएको छ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भारतले भ्रमणका लागि प्रस्ताव गरेको मिति भदौ ३० र ३१ मध्ये प्रधानमन्त्रीको भारत भ्रमण ३० गते गर्दा उपयुक्त हुने निष्कर्ष निकालेको हो। यद्यपी, भ्रमणको मितिको विषयमा भने निर्णय भैसकेको छैन।

मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले प्रधानमन्त्री दाहाल ३० गते भारत जाने र ३१ र असोज १ गते भेटघाट कार्यक्रम गरी २ गते नेपाल फर्कने कार्यतालिका निश्चित भएको जानकारी दिए। ‘भ्रमणको मितिका विषयमा बैठकमा निर्णय नभए पनि आवश्यक तयारी गर्ने विषयमा निर्णय भएको छ,’ उनले भने, ‘सम्भवत आगामी मन्त्रिपरिषद् बैठकले ३० गतेको भ्रमणेको मितिमा निर्णय गर्नेछ।’

उनका अनुसार ३ गते संविधान दिवस भएका कारण प्रधानमन्त्री २ गते नै भारतबाट औपचारिक भ्रमण सकेर फर्कने छन्। भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले कुनै ठूलो सहयोग परियोजनामा सम्झौता गर्ने कार्यक्रमसमेत रहेको छ। सम्भवत प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा पञ्चेश्वर परियोजनाको विषयमा कुनै निर्णय हुनसक्ने उनले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री दाहालको भारत भ्रमणपछि भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गर्ने र त्यसपछि मात्र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको भ्रमण गर्ने विषयमा समेत छलफल भएको छ।

यस्तै, बैठकमा चीनका राष्ट्रपति सि जिन पिङ पनि नेपाल आउने पक्का भएको विषमा छलफल भए पनि भ्रमणको मितिका विषयमा भने चीनले समेत कुनै जानकारी नगराएको बैठकमा सहभागी एक मन्त्रीले बताए। नेपालले भारतमा हुने विकासोन्मुख देशहरु ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) सम्मेलनको समयमा भन्दा अन्य कुनै समयमा नेपाल भ्रमण गर्न चीनका राष्ट्रपतिलाई प्रस्ताव गरेको विषययमा पनि छलफल भएको थियो।

मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका विशेष दूतका रुपमा २ उपप्रधानमन्त्रीले भारत र चीनमा गरेको भ्रमण फलदायी भएको निष्कर्षसमेत निकालेको छ।  नयाँ सरकार गठनपछि छिमेकी देशहरुसँगको सम्बन्ध सुदृढ गर्न भारतमा उपप्रधानमन्त्री बिमलेन्द्र निधि र चीनमा कृष्णबहादुर महरा प्रधानमन्त्री दाहालका विशेष दूतका रुपमा भ्रमणमा गएका थिए।

सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले मन्त्रिपरिषद् बैठकमा दुई देशको भ्रमणले छिमिकी राष्ट्रसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको निष्कर्ष निकालेको बताए। ‘दुवै विशेष दूतले भ्रमणको संक्षिप्त जानकारी गराउँदै नेपाल सरकारका प्राथमिकताप्रति दुवै छिमेकीले सकारात्मक चासो राखेको बताउनुभयो,’ मन्त्री कार्कीले भने, ‘भारत र चीनको सरकार, नागरिक समाज र राजनीतिक नेतृत्वले नेपालको संक्रमणकालमा सकारात्मक सदासयता राखेको कुरा उपप्रधान मन्त्रीज्यूहरुले जानकारी गराउनुभयो।’

यसैगरी, बैठकले राष्ट्रिय विपत् प्रतिकार्यको कार्यव्यवस्था सम्बन्धी विधेयक समितिमा पठाउने निर्णय गरेको छ। साथै बैठकले प्रधानमन्त्रीको निर्देशनमा बजार अनुगमनमा भएको प्रगतिलाई पनि अनुमोदन गरेको छ। उक्त क्रममा प्रधानमन्त्रीको निर्देशन र आपूर्ति मन्त्रालयको पहलमा गरिएको संयुक्त बजार अनुगमन टोलीले कालोबजारी, कृतिम अभाव, म्याद नाघेका सामान बिक्री गर्नेहरुलाई कारवाहीको दायरामा ल्याएको पनि प्रवक्ता कार्कीले जानकारी दिए।

 

प्रकाशित: ७ भाद्र २०७३ १४:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App