काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली शैक्षिक प्रमाणपत्र लिएको अभियोग लागेका चिकित्सकलाई बिरामी जाँचमा रोक लगाउन निर्देशन दिएका छन्। दाहालले आइतबार स्वास्थ्यसचिव डा. सेनेन्द्रराज उप्रेतीलाई टेलिफोन गरी अनुसन्धान दायरामा रहेका चिकित्सकलाई तत्काल काम गर्न नदिन निर्देशन गरेका हुन्।
अदालतको आदेशमा धरौटी बुझाएर छुटेका चिकित्सक मुद्दा किनारा नलाग्दै फेरि कार्यक्षेत्र फर्किएका छन्।
'नक्कली भनिएका डाक्टरले हिरासतमुक्त भएपछि फेरि बिरामी जाँच्न थालेको जानकारी आएको छ,' प्रधानमन्त्रीले दाहालले टेलिफोनमा दिएको निर्देशन उद्धृत गर्दै सचिव उप्रेतीले भने, 'तपाईंले तत्काल छानबिनमा रहेका डाक्टरलाई नियमअनुसार मेडिकल काउन्सिलबाट निलम्बन गरी बिरामी जाँच्नबाट रोक्नुहोस्।' प्रधानमन्त्रीले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा चनाखो भएर काम गर्न पनि निर्देशन दिएको सचिव उप्रेतीले जानकारी दिए।
प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रालयले नक्कली प्रमाणपत्रका आधारमा सरकारी सेवामा कार्यरत सबै डाक्टरलाई मन्त्रालय झिकाई करार सेवामा रहेकाको करार रद्द गर्ने, निजी अस्पताल तथा स्वास्थ्यसंस्थामा कार्यरत रहेकाको हकमा मेडिकल काउन्सिललाई जानकारी गराउने निर्णय गरिएको उनले बताए।
'केन्द्रीय अनुसन्धान ब्युरोले उपलब्ध गराएको नामावलीअनुसार मन्त्रालयमातहत रहेका सबैलाई झिकाउने भएका छौं,' उप्रेतीले नागरिकसँग भने, 'नेपाल मेडिकल काउन्सिल स्वायत्त संस्था रहेकाले प्रधानमन्त्री कार्यालयको निर्देशन र मन्त्रालयको निर्णयबारे जानकारी गराइसकेका छौं।' काउन्सिलले मन्त्रालयको जानकारीका आधारमा नियमअनुसार अन्य चिकित्सक निलम्बन गर्ने उनले बताए।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो टोलीले नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा हालसम्म देशभर ५५ जना चिकित्सक पक्राउ गरिसकेको छ। तीमध्ये १७ जनालाई काउन्सिलले निलम्बन गरिसकेको छ। बाँकी ३८ जना धरौटीमा रिहा भएपछि पुनः बिरामी जाँचमा खटिएका छन्।
ब्युरोका अनुसार पक्राउ परेका चिकित्सकविरुद्ध १२ वटा जिल्लामा मुद्दा चलिरहेको छ। नियमतः मुद्दा किनारा नलागेसम्म उनीहरूले काम गर्न मिल्दैन। तर, धरौटीमा छुटेकाहरू काउन्सिलले निलम्बन नगरेको भन्दै काममा फर्किएका हुन्।
चिकित्सक निलम्बनको निर्णय काउन्सिलको 'फुल हाउस' बैठकबाट हुने गर्छ। तर, तत्कालीन स्वास्थ्यमन्त्री रामजनम चौधरीले तगारो हालेपछि रोकिएको बैठक अझै बस्न सकेको छैन। काउन्सिलले प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रालयबाट आएको पत्रका आधारमा बैठक राखेर चिकित्सक निलम्बन गर्ने जानकारी दियो।
ब्युरोले उच्च माध्यमिक शिक्षा परिषद् (हाल नेपाल परीक्षा बोर्ड) र नेपाल मेडिकल काउन्सिलसँग सहकार्यमा नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा डाक्टर बनेकाहरूको खोजी सुरु गरेको हो। नक्कली चिकित्सकमाथि अनुसन्धानका लागि ब्युरोले 'अप्रेसन क्वाक' अभियान चलाएको छ। यसअन्तर्गत पहिलोपटक १२, दोस्रोपटक ५ जना, तेस्रो पटक ३६ र चौथोपटक दुई जना पक्राउ परेका हुन्।
ब्युरोले पछिल्लोपटक एक साताअघि दुई डाक्टर नियन्त्रणमा लिएको थियो। गत सोमबार सार्वजनिक गरिएका उनीहरू मिडास अस्पताल, लगनखेलमा कार्यरत फर्जना सविहा र शिवपुरी डेन्टल क्लिनिक, महाराजगन्जमा कार्यरत किशोर गुरुङ हुन्।
नक्कली प्रमाणपत्र अनुसन्धान दायरामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका दन्तचिकित्सक बुद्धिमान श्रेष्ठसमेत तानिएका छन्। श्रेष्ठ वसुन्धरास्थित कान्तिपुर डेन्टल कलेजका अध्यक्ष हुन्। यसै गरी, नर्भिक अस्पतालमा बाथरोग विशेषज्ञका रूपमा कार्यरत डा. अरुण गुप्ताको प्रमाणपत्र पनि नक्कली भेटिएको छ। प्रमाणपत्र नक्कली फेला पर्नेमा नाम चलेका चिकित्सकसहित काउन्सिल परीक्षामा ३० पटकसम्म असफल भएका समेत छन्। सुरुमा ब्युरोले काउन्सिल परीक्षामा १० पटक भन्दा बढी अनुत्तीर्ण भएकाको प्रमाणपत्र छानबिन सुरु गरेको ब्युरोका डिआइजी नवराज सिलवालले जानकारी दिए। उनका अनुसार ब्युरोले अझै डेढ सय डाक्टरका विषयमा गहन अनुसन्धान सुरु गरेको छ।
ब्युरोले हालसम्म पक्राउ गरेका अन्य चिकित्सकमा झरना फार्मेसी कपनका पुनम कर्ण, ब्राइट स्माइल डेन्टलकी विनीता अधिकारी, सोसाइटी डेन्टल चाबहिलका रावेतरञ्जनकुमार ठाकुर, केयर डेन्टर पुरानोबानेश्वरका बोदित आचार्य, ट्रमा सेन्टरका सन्तोषकुमार साह, रेस्मा फर्मा चाबहिलकी विनीता मण्डल, आम्दा नेपाल तथा हेल्दी डेन्टल क्लिनिकमा कार्यरत नीलिमा खड्का महत, जनहित डेन्टल अस्पताल त्रिपुरेश्वरका गणेश साह, हाम्रो सहयात्री अस्पताल, जडीबुटीका श्रीराम घिमिरे, युनिभर्सल मेडिकल कलेजका सञ्जय यादव, तनहुँ सेवा अस्पतालका राहिल फराज अन्सारी रहेका छन्।
यसैगरी, कुशराज गिरी, पन्नाला पटेल, निमेललाल स्मन, मोहम्मद स्रहुल्लाह, रन्धिर राजवंशी, इसादुल हक, सरोजकुमार सिंह, रामकुमार प्रधान, अरुण गुप्ता, दिनेशकुमार साह, महेश्वर राय यादव, सुनील आचार्य, राजन पुरी, रजनी अग्रवाल, रवीन्›कुमार पाण्डे, रामजी यादव, विष्णुप्रसाद भुषाल, श्रीराम श्रीमल, मनीष अर्याल पनि छन्।
ब्युरोले पहिलो चरणमा माघ र फागुनमा झापा, बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा कार्यरत रामबाबु गिरी, पशुपति मोडेल अस्पताल इटहरीका प्रमुख पशुपति चौधरी, गोल्डेन अस्पताल विराटनगरमा कार्यरत मोहम्बद अरुल हक, कोसी अञ्चल अस्पतालमा कार्यरत तुलसी महतो, ग्लोबल अस्पताल सिराहामा कार्यरत मोहमत अहमद सिद्दिकी, जनकपुर अञ्चल अस्पतालमा कार्यरत सन्तोष यादव, चानसी मेडिकल हलमा कार्यरत कल्याण विश्वास, कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा कार्यरत विनीता यादव, अजित मेडिकल हल जनकपुरमा कार्यरत भगवान केवट मल्लाह, रामजानकी डेन्टल क्लिनिक जनकपुरमा कार्यरत शैलेन्› महतो, स्वास्थ्यसेवा क्लिनिक कपिलवस्तुमा कार्यरत अबल हुसेन र ग्वार्कोस्थित ग्लोबल अस्पतालमा कार्यरत श्यामबाबु साहलाई पक्राउ गरेको थियो।
प्रकाशित: ३१ श्रावण २०७३ ०१:४८ सोमबार