८ वैशाख २०८१ शनिबार
राजनीति

कर्णालीका विना विभागीय मन्त्रीः एक जना होटलमा, एक आफन्तको शरणमा

तस्बिर: विना विभागीय मन्त्री द्वय मंगल शाही र विनोद शाह।

कर्णालीका मुख्यमन्त्रीसँगै शपथ लिएका दुई जना मन्त्रीले निवास नपाउँदा एक जना सातादेखि होटलमा बसिरहेका छन् भने अर्का एक जना आफन्तको शरणमा छन्।  मुख्यमन्त्री नियुक्त भएकै दिन राजकुमार शर्मा मुख्यमन्त्रीको निवासमा सरेका थिए।  उनीसँगै विना विभागीय मन्त्री बनेका मंगल शाही वीरेन्द्रनगरको एक होटलमा बसिरहेका छन् भने अर्का विनोद शाह आफन्तको घरमा छन्। 

दुबै जनाले पुस २८ गते मुख्यमन्त्रीसँगै प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिएका थिए।  मन्त्री नियुक्त भएको एक सातासम्म उनीहरुले न मन्त्रालयको जिम्मेवारी पाएका छन्, आवासको सुविधा नै।  शाह नेकपा एमालेबाट र शाही माओवादी केन्द्रको कोटाबाट मन्त्री नियुक्त भएका हुन्।  

शाही वीरेन्द्रनगरको सम्राट् होटलमा बसिरहेका छन्।  ‘मन्त्री निवासमा सर्ने बारे अझै टुंगो छैन्,’ शाहीले भने, ‘कसले व्यवस्थापन गर्ने हो भन्ने पनि मलाई थाहा भएन्। ’ कर्णालीमा मुख्यमन्त्रीसहित आठ मन्त्रालय छन्।  सबै मन्त्रीका लागि छुट्टाछुट्टै निवास छन्।  यसअघिका मन्त्रीहरुले सरकारी निवास छोडिसकेका छन्।  निवासको व्यवस्थापन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्ने गर्छ।  

मन्त्रालयको कार्य विभाजन नहुँदा र निवास पनि नपाउँदा समय बिताउन पनि समस्या भइरहेको गुनासो विना विभागीय मन्त्रीहरुले गर्ने गरेका छन्।  विना विभागीय मन्त्री द्वयलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्रीको निजी सचिवालयले प्रयोग गरिरहेका कोठामा कार्यकक्ष व्यवस्थापन गरिएको छ।  तर मुख्यमन्त्रीको सचिवालयमा मन्त्रीहरु बस्दैनन्।   

विना विभागीय मन्त्री शाहले आफू वीरेन्द्रनगर–२ स्थित भान्जाको घरमा बसिरहेको बताए।  ‘मन्त्री भएदेखि भान्जाको घरमा बसिरहेको छु,’ उनले भने, ‘छुट्टै निवास नहुँदा भेटघाटमा समस्या हुँदो रहेछ। ’ 

प्रकाशित: ४ माघ २०७९ ०६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App