१६ चैत्र २०८० शुक्रबार
राजनीति

सडक र सदन तताउँदै एमाले

काठमाडौं- सहज रूपमा नयाँ सरकार गठन गर्न दिन पार्टी नेताले दबाब दिए पनि प्रधानमन्त्री केपी शर्मा ओली सडक र सदन दुवैतर्फबाट विषयलाई चर्काउने तयारीमा देखिएका छन्। बजेटका आश्रित विधेयकभन्दा अघि अविश्वास प्रस्ताव ल्याए सदन अवरुद्ध पार्ने निर्णय गरेको नेकपा एमालेले भ्रातृ संगठन प्रयोग गरेर सडक तताउने योजना बनाएको छ। बुधबार भएको एमाले संसदीय दलको बैठकमा बोल्दै पार्टी अध्यक्षसमेत रहेका प्रधानन्त्री ओलीले अर्को पक्ष जसरी प्रस्तुत हुन्छ, त्यसैगरी प्रस्तुत हुनका लागि सांसदलाई निर्देशन दिएका छन्। संसदीय दलले बैठकले आवश्यक तयारीसाथ आउन सांसदलाई भनेको छ।

बैठकमा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अविश्वास प्रस्ताव दर्ता भएपछि कार्यसूचीमा रहेका विभिन्न विधेयक पारित भएको अभ्यास र नजिर रहेको जानकारी गराएका थिए। 'बैठकले संसदको अभ्यास तथा नजिरको संरक्षणका लागि एकजुट भएर सदनमा प्रस्तुत हुने निर्णय गरेको छ,' सांसद रेवतीरमण भण्डारीले नागरिकसँग भने।

एमालेका सचेतक गोकुल घर्तीले बजेटका आश्रित विधेयकभन्दा अघि अविश्वासका प्रस्ताव ल्याए सदन अवरुद्ध पार्ने निर्णय भएको बताए। 'सत्तापक्षसँग कुनै परामर्श नगरी हटाइएका आश्रित विधेयकलाई अविश्वास प्रस्तावभन्दा अगाडि नराखे हामी सदन अवरुद्ध गर्छौं,' घर्तीले भने, 'त्यसअघि सभामुखलाई संसदीय अभ्यास र परम्पराअनुसार चल्न आग्रह गर्नेछौं।'

संसदीय दल बैठकले बजेटको आश्रित विधेयक अविश्वास प्रस्तावभन्दा अघि कार्यसूचीमा नराखे सदन चल्न नदिने निर्णय गरेको छ। त्यसअघि राजधानीमा बुधबारबाट सुरु भएको भ्रातृ संगठन नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) छैटौं प्रतिनिधि परिषद् बैठक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले रोक्नै नहुने आर्थिक विघेयक रोकेको भन्दै आक्रोश पोखेका थिए। 'आधारभूत नियम–कानुन पालन गरेर चलौं, संविधानलाई आत्मसात गरेर चलौं,' उनले भने, 'संविधानमा जेसुकै होस् हामीलाई यही चाहिएको छ, यही हुनुपर्छ भन्ने हो भने घरैबाट संविधान ल्याएर जे मन लाग्छ त्यही गरे हुन्छ। त्यसलाई संसद्मा आउन दिँइदैन।'

एमालेका दुई भ्रातृ संगठनले भने ओली नेतृत्वको सरकार ढाल्नेलाई नांगेझार पार्ने बताएका छन्। युवा संघ नेपाल र अनेरास्ववियुले जारी गरेको संयुक्त विज्ञप्तिमा नेपाल र नेपाली जनताको हितविपरीत, नेपालको स्थिरता खलबल्याउन अनेक किसिमका दाउपेच र षड्यन्त्र गर्ने देशी–विदेशी जोसुकैलाई नेपाली भूमिभित्र कडा निगरानी राख्दै तत्काल सडकमा नांगेझार पार्ने अभियान अघि बढ्ने छ,' विज्ञप्तिमा बताइएको छ। अनेरास्ववियु अध्यक्ष नवीना लामा र युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा 'राजनीतिक परिस्थिति धमिलो बनाई आजको दिनलाई इतिहासको कालो दिनको रूपमा पुर्‍याउने तŒव र प्रवृत्तिको डटेर भण्डाफोर गर्न आमयुवा–विद्यार्थीलाई आह्वान गर्दैछौं।'

यसैगरी स्वतन्त्र युवा अभियानको नाममा हुँदै आएको गतिविधिमा सहभागी हुने प्रमुख दुई भ्रातृ संगठनले औपचारिक घोषणा गरेका छन्। संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रियता र स्वाधीनता संरक्षणका लागि देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा उनीहरुले गरे।

'राम्रो काम गर्दागर्दै यो सरकारलाई हटाउने काम भएको छ, देशको स्वाधीनता र राष्ट्रियता संरक्षणका लागि देशव्यापी अभियान चलाउनेछौं,' संघका अध्यक्ष पहारीले भने, 'अन्य दलका युवा तथा विद्यार्थी संगठनलाई पनि साथमा लिएर अघि बढ्ने तयारीमा छौं।'

उनले एमालेका युवा–विद्यार्थीले स्वतन्त्र युवा अभियानले प्रधानमन्त्री ओलीको पक्षमा शनिबार आयोजना गर्ने प्रदर्शनमा सहभागी हुने निर्णय गरेको बताए।

पछिल्लोपटक सभामुखले जारी गरेको कार्यसूचीअनुसार संसद् अघि बढे शनिबार अविश्वास प्रस्तावमाथि मतदान हुनेछ। 'अहिले थप कार्यक्रम तय भइसकेको छैन, छलफल गरेर ल्याउने छौं,' अनेरास्ववियु अध्यक्ष लामाले बताइन्।

प्रकाशित: ६ श्रावण २०७३ ०२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App