coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

खिलराज रेग्मी अन्तरिम मन्त्रिपरिषदको अध्यक्ष जस्तै नयाँ सरकार गठन हुन्छः यादव

 काठमाडौं–संघीय गठबन्धनका नेता एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको नेतृत्वमा सरकार बनाइएको जसरी नयाँ सरकार गठन गर्न सकिने बताएका छन्।

मंलगबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै संयोजक यादवले भने, ‘अहिलेको समस्या संवैधानिक होइन, यो राजनीतिक समस्या भएकाले त्यही अनुसार सहमति खोजिनुपर्छ।’ उनले खिलराज रेग्मीलाई जसरी  अन्तरिम मन्त्रिपरिषदको अध्यक्ष बनाइएको थियो, त्यसैगरी अहिले नयाँ सरकार गठन गर्न सकिने जिकिर गरे। उनले थपे,‘के को २९८ धारा ?, यो संविधान प्राक्टिस गर्न लायकै छैन।’

साक्षात्कारमा यादवले  प्रधानमन्त्री ओलीले राजीनामा नदिएर लफ्डा गरेको टिप्पणी गर्दै राजीनामा दिनु नै ओलीको हितमा हुने दाबी गरे।
‘राजाले राज्य छाड्नुपर्छ भनेर कुन संविधानमा लेखिएको थियो,’ उनले भने,‘जनताले चाह्यो भने जेपनि हुन्छ, देश र जनता नै ठूलो हो।’
संविधान नै अस्पष्ट भएको उल्लेख गर्दै उनले अहिलेको संविधानले संविधान जारी भएको ७ दिनभित्र प्रधानमन्त्री चयन गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै भने, ‘फेरि ०७४ माघ ७ सम्म सरकार रहिरहनेछ भनेको छ, त्यतिमात्रै होइन,अर्को निर्वाचन नभएसम्म अर्को सरकारकोसमेत कल्पना गरेको छैन, त्यसैले यो संविधान पूर्ण अस्पष्ट छ।’

उनले वर्तमान संविधान बमोजिम प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने समेत औंल्याए। उनले काँग्रेस–माओवादी केन्द्रको गठबन्धनमा बन्ने सरकारमा आफूहरु सहभागी नहुने दाबी गरे। उनले भने,‘सरकारमा जानेको कमी छैन, हामी हतारमा छैनौं, सरकारमा जान हामी लालायित छैनौं।’ यद्यपी उनले नयाँ सरकारलाई राजनीतिक रुपमा वर्तमान समस्याको हल गर्ने कुरामा, मुलुकको आर्थिक विकासमा टेवा पुर्याउन र मुलुकको पुननिर्माणमा पूर्ण रुपले सहयोग गर्ने बताए।

वर्तमान सरकारको बर्हिगमन र नयाँ सरकार बन्ने परिस्थितिले राष्ट्रिय समस्या हल गर्ने अवसर भएको उल्लेख गर्दै यादवले भने, ‘संविधान पुनलेखन गर्नु अहिलेको आवश्यकता हो, यसले नै मुलुकलाई निकास दिन्छ, अहिले यो काम गर्न सक्ने वातावरण बनेको छ, यसको उपयोग गर्नु नै बुद्धिमानी हुन्छ ।’ यादवले अब बन्न लागेको सरकारको नेतृत्व गर्नेहरु म्याद गुज्रिएको औषधि जस्तै भएको टिप्पणी गरे। उनले भने, ‘यी नेताहरुको परिक्षण भैसकेको छ, यिनीहरुले अबसर पाएर पनि केही गर्न सकेनन्।’

 

प्रकाशित: ४ श्रावण २०७३ ०९:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App