coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेशसभा: समृद्ध प्रदेश निर्माणका लागि एकतामा जोड

लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन स्थायी राजधानी देउखुरीमा सुरु भएको छ।

सोमबार दुई चरणमा प्रदेशसभा बैठक बस्यो। प्रदेशसभा सदस्यहरूले आइतबार शपथ लिएका थिए। सोमबार संसदको अधिवेशन आह्वान गरिएको थियो। पहिलो चरणमा प्रदेश प्रमुख अमिक शेरचनले बैठकलाई सम्बोधन गर्दै सरकारले ५ बर्ष सम्म गरेका कामहरू बारे जानकारी गराए।

त्यसपछि बैठक स्थगित भएको थियो। लगत्तै बसेको संसदको दोस्रो बैठकमा सांसदहरूले आआफ्नो धारणा राखेका थिए। उनीहरुले लुम्बिनी प्रदेशको समृद्धिका लागि एकता अपरिहार्य रहेकोमा जोड दिए।

संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले प्रदेश खारेजीको आवाज उठिरहेका बेला प्रदेशको औचित्य पुष्टि गर्नु पर्ने चुनौती रहेको बताए। यसको औचित्य पुस्ट्याइँको एक मात्रै आधार प्रदेशको समग्र विकास रहेको बताए। ‘प्रदेश रहनु हुन्न भनेर आवाजहरू उठ्न थालेका छन्, हामी जायज छ भन्ने हरु संसदमा बसेका छौँ,’ उनले भने ‘यसको औचित्य पुष्टि गर्ने चुनौती हाम्रा सामु छ, यसको एक मात्रै आधार भनेको हामी सबैको एकताबाट समृद्ध प्रदेश निर्माण गर्नु नै हो।’

माओवादी संसदीय दलका नेता जोगबहादुर महराले समृद्ध प्रदेश निर्माणका लागि यहाँको पर्यटन क्षेत्रको संवर्द्धन जरुरी रहेको बताए। यसै गरी कृषि क्षेत्रको विकास लागि पनि गम्भीरतापूर्वक चासो राखिनु पर्ने बताए। ‘संघीयता कार्यान्वयनको पाटोलाई बलियो बनाउनका लागि यहाँको पर्यटन र कृषि क्षेत्रको विकास अपरिहार्य छ,’ उनले भने ‘प्रदेशको विकासका लागि बलियो आर्थिक स्रोत भनेकै यी दुई चिज हुन्।’ यसै गरी एमाले संसदीय दलका नेता लीला गिरीले पनि प्रदेशको विकासका लागि सहकार्य अपरिहार्य रहेको बताए। ‘प्रदेशको विकासका लागि हामी प्रतिनिधिहरू सबै एकै थलोमा रहनु पर्छ,’ उनले भने ‘हामीहरू जनताका साझा प्रतिनिधि हौँ।’ 

संसदको दोस्रो बैठकलाई झण्डै एक दर्जन सांसदहरूले सम्बोधन गरेका थिए। उनीहरूले प्रदेशको विकासका लागि दलीय दृष्टि बाट भन्दा पनि साझा प्रतिनिधिका दृष्टिले हेरिनु पर्नेमा जोड दिएका थिए।

दोस्रो कार्यकालको पहिलो र दोस्रो बैठक सम्पन्न भएको यो प्रदेशको तेस्रो बैठक आगामी माघ ३ गते बस्ने भएको छ। सभामुख डिल्लीराज भुषालले संसदको तेस्रो बैठक आगामी माघ ३ गते दिउँसो एक बजे आह्वान गरे। संसदको अध्यक्षता ज्येष्ठ सदस्य भुषालले गरिरहेका छन्।

प्रकाशित: १८ पुस २०७९ १२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App