६ वैशाख २०८१ बिहीबार
राजनीति

'प्रधानमन्त्रीज्यू डा.केसीको बाँच्न पाउने अधिकार सुनिश्चित होस्'

काठमाडौं— ९ दिनदेखि अनसनरत डा.गोविन्द केसीले उठाएका मागबारे संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाउँदै केसीको जीवन रक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।

समितिको टोली त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा.केसीको अवस्था बुझ्न सोमबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेको थियो। डा.केसीसँग बिगतमा भएका सम्झौता तत्काल कार्यान्वयन गर्न र अहिले उठाएका मागलाई तत्काल सम्बोधन गर्न समितिले निर्देशन दिएको हो।

संसदीय टोली अनसनस्थल पुगी त्यहाँको वस्तुस्थितिका बारेमा अध्ययन गर्दा डा.केसीको स्वास्थ्य अवस्था गम्भीर देखिएकाले संविधान प्रदत्त बाँच्न पाउने अधिकारको सुनिश्चिततातर्फ सम्माननीयज्यूको ध्यानाकर्षण गराउँदै उहाँको जीवन रक्षाका लागि तत्काल आवश्यक पहल गर्न सम्माननीय प्रधानमन्त्रीज्यूलाई समिति अनुरोध गर्दछ।

'संसदीय टोली अनसनस्थल पुगी त्यहाँको वस्तुस्थितिका बारेमा अध्ययन गर्दा डा.केसीको स्वास्थ्य अवस्था गम्भीर देखिएकाले संविधान प्रदत्त बाँच्न पाउने अधिकारको सुनिश्चिततातर्फ सम्माननीयज्यूको ध्यानाकर्षण गराउँदै उहाँको जीवन रक्षाका लागि तत्काल आवश्यक पहल गर्न सम्माननीय प्रधानमन्त्रीज्यूलाई समिति अनुरोध गर्दछ', प्रधानमन्त्री ओलीलाई पठाइएको पत्रमा भनिएको छ।

समिति सभापति सुशील श्रेष्ठ सहित ७ सांसदको टोलीले डा. केसीका माग र स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो। तत्काल सरकारले पहल नगरे सम्बन्धित व्यक्तिहरुलाई समितिमा बोलाएर छलफल गर्ने तथा संसदमा पनि यो विषयामा कुरा उठाउने उनले बताए।

‘उहाँले उठाएका माग जायज छन्। ती मागहरुमा सरकारले विगतमा पनि सम्झौता गरेको छ। त्यसैले यो हामी सबै नेपाली जनताको विषय हो। यसलाई हामी सेलाएर जान दिँदैनौं’, सभापति श्रेष्ठले अनसनस्थलमा भनेका थिए। डा.केसीले समग्र राष्ट्रका लागि माग उठाइरहेकाले ती कुरा सम्बोधन गराएर अनसन तोडाउन आफूले पहल गर्ने उनले बताएका थिए।

समितिले पठाएको पत्रको बोधार्थ शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय तथा मुख्य सचिवलाई पठाइएको छ।

प्रकाशित: ३ श्रावण २०७३ ११:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App