coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मन्त्री फेरिएपछि निवास व्यवस्थापनमै सवा करोड खर्च

सरकार परिवर्तन भएपछि नयाँ मन्त्रीका लागि आवास व्यवस्थापनमा मात्रै राज्यको करिब सवा करोड रूपैयाँ खर्च हुने गरेको छ। पुल्चोकस्थित मन्त्री निवासमा नयाँ मन्त्री सर्नुअघि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले मन्त्री क्वार्टरको रंगरोगन, सरसफाइ तथा मन्त्रीको परिवारका लागि आवश्यक सामग्री पुर्‍याउने गर्छ। व्यवस्थापन कार्यालयका कर्मचारीहरू बुधबार मन्त्री क्वार्टर पुगी खाली भएका मन्त्री क्वार्टरको सरसफाइ गरेका थिए। बिहीबार उनीहरूले प्रत्येक क्वार्टरमा छुट्टाछुट्टै सामान पुर्‍याउने छन्। कार्यालयका कर्मचारीका अनुसार ग्यास चुल्हो, वेड, कार्पेट, गलैंचा, पर्दा, म्याट्रेक्स, फ्रिज, खाट, पानी तताउने मेसिनलगायतका सामग्री पुर्‍याउने तयारी भएको छ। आवश्यक देखिएमा तथा मन्त्रीका परिवारका सदस्यले माग गरेमा सोफा पनि थप्ने तयारी भएको छ। टेलिभिजन तथा नेट भने पहिले नै तयार जोडिएको कर्मचारीहरू बताउँछन्। कार्यालयका स्टोरकिपर पशुपति पोखरेलका अनुसार एउटा मन्त्री क्वार्टरमा साज सजावट रंगरोगन तथा अन्य व्यवस्थापनमा सामान्यता ५ देखि ६ लाख खर्च हुन्छ।  

यसैगरी, सरसफाइमा ४० देखि ५० हजार खर्च हुने गर्छ। मन्त्री क्वारटको सरसफाइका लागि भनेर व्यवस्थापन कार्यालयले १९ जना कर्मचारी भर्ना गरेको छ। कार्यालयका अनुसार भान्साका लागि आवश्यक पर्ने थप सामग्री भने सम्बन्धित मन्त्रीको परिवारका सदस्यले आफैं ल्याउने गरेका छन्। मन्त्री क्वार्टर प्रयोग नगरेका मन्त्रीहरूको निवासको भाडा तथा आवास व्यवस्थापन खर्च सरकारले व्यहार्ने गर्छ।  

पुल्चोकस्थित मन्त्री क्वार्टरमा २०५२ सालमा ५ वटा नयाँ भवन तथा २०२८ सालमा १४ वटा पुराना भवन बनेका छन्। नयाँ भवनमा भने वरिष्ठताको हिसाबबाट उपप्रधानमन्त्री तथा मन्त्रीले मात्र प्रयोग गर्न पाउने व्यवस्था रहेको पोखरेलले जनाए। उनका अनुसार यसपटक नयाँ भवनमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रवि लामिछाने तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले पाउने छन्। २०२८सालमा बनेका पुराना भवन भने मन्त्रीका परिवारका सदस्यले चाहेअनुसार छान्न पाउने व्यवस्था छ।  

मंगलबार अर्थमन्त्री पौडेल, गृहमन्त्री लामिछाने, ज्वालाकुमारी साह, दामोदर भण्डारी, अब्दुल खानका परिवारका सदस्यहरू पुल्चोक पुगी आफू बस्ने मन्त्री क्वार्टर छानेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार प्रधानमन्त्री निवास बालुबटारबाट सरेका छन्। बुधबार साँझ नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री निवास सरेका हुन्। दाहाललाई सहरी विकास मन्त्रालयका कर्मचारीहरूले स्वागत गरेका थिए।  

देउवा सरेपछि व्यवस्थापन कार्यालयका कर्मचारीहरू प्रधानमन्त्री निवास पुगी निवासको सरसफाइ गरेका थिए। पोखरेलका अनुसार यसपटक नयाँ प्रधानमन्त्रीका लागि आवास व्यवस्थापनमा त्यति ठूलो खर्च भएको छैन। बढीमा १-२ लाख खर्च भएको हुनुपर्ने उनको भनाइ छ।  

प्रधानमन्त्रीका लागि तयार गरिएको नयाँ भवनमा देउवा सरेका थिए। दाहाल पनि नयाँ भवनमा सरेका छन्। दाहाल पनि नयाँ भवनमा सरेकाले प्रधानमन्त्री निवास व्यवस्थापनमा त्यति ठूलो खर्च नहुने पोखरेलको भनाइ छ। उनका अनुसार यसअघि भने प्रधानमन्त्री फेरिए नयाँ प्रधानमन्त्रीको लागि आवास व्यवस्थापनमा ८ देखि १० लाख खर्च हुने गरेको थियो। ‘यसपटक निवर्तमान प्रधानमन्त्रीज्यू डेरा सर्दा केही पनि सामान लिएर जानुभएन,’ व्यवस्थापन कार्यालयका एक कर्मचारी भन्छन्, ‘त्यसैले पनि नया प्रधानमन्त्रीको आवास व्यवस्थापनमा ठूलो खर्च भएको छैन।’  

मन्त्री हटेपछि पुराना मन्त्रीहरूले आफू बस्ने गरेको क्वार्टरका सरसामान लिएर जाने गर्छन्। ‘के–के सामान लान्छन् भन्ने कुरा मन्त्रीका परिवारका स्वभावअनुसार भर पर्छ। केहीले सबै सामान उठाउनुहुन्छ। केहीले भने सबै छाडेर जाने गर्नुहुन्छ,’ व्यवस्थापन कार्यालयका अर्का एक कर्मचारी भन्छन्।  

भैंसेपाटी सर्न ६ महिना लाग्ने  

मन्त्रीका लागि भनेर भैंसेपाटीमा निर्माण गर्न लागिएको मन्त्री क्वार्टरमा नयाँ मन्त्री सर्न कम्तीमा पनि ६ महिना लाग्ने भएको छ। विशेष भवन निर्माण आयोजनाका आयोजका प्रमुख माचाकाजी महर्जनका अनुसार ६ महिनाभित्र भैंसेपाटीमा मन्त्री निवासको सबै काम पूरा हुने बताए। कोरनाको कारण मन्त्री क्वार्टर निर्माण हुन ढिलो भएको उनको भनाइ छ।  

मन्त्री निवासका लागि भैंसेपाटीमा ९६ रोपनी १० आना जग्गा छुट्टयाइएको छ। प्रत्येक भवनले करिब ७ आना जग्गा ओगटेका छन। आयोजनाका अनुसार मन्त्री आवासमा जिम हल, पौडी पोखरी, सामुदायकि भवन, किराना पसल तथा सुरक्षा निकायका लागि बस्ने व्यवस्था मिलाइएको छ। प्रत्येक भवनको माथिल्लो तलामा योगका लागि कोठा छुट्याइएको छ। त्यस्तै प्रत्येक भवनको भुइँतलामा आगन्तुक प्रतीक्षा कोठा, बैठक कोठा (सामान्यतया १५ जना व्यक्ति अटाउन सक्ने), निजी कोठा र स्वकीय सचिव बस्ने कोठा व्यवस्था गरिएको छ। दोस्रो तलामा आवासका लागि कोठा छुट्याइएको छ। प्रत्येक भवनमा एउटा पूजा कोठा पनि बनाइएको छ। मन्त्री निवासका भवनमा नेपाली कला, संस्कृति तथा परम्परा झल्कने गरी बनाइएको छ। भंैसेपाटीमै मुख्यमन्त्री तथा प्रदेश प्रमुखका लागि सम्पर्क कार्यालय तथा आवासीय प्रयोजनका लागि सातवटा सुविधा सम्पन्न भवन बनाइएको छ।

प्रकाशित: १४ पुस २०७९ ०१:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App