७ वैशाख २०८१ शुक्रबार
राजनीति

दशकपछि फेरि 'गैंडा कूटनीति'

काठमाडौं- तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनलाई २०४४ वैशाखमा पहिलोपटक नेपाल सरकारले एक जोडी गैंडा उपहार दिएको थियो। यसपछि सुरु भयो नेपालमा 'गैंडा कूटनीति'। एक दशक अघिसम्म नेपालले नौवटा मुलुकलाई गैंडा उपहार दिएको थियो।

विभिन्न राजनीतिक घटनाक्रमका कारण एक दशक रोकिएको 'गैंडा कूटनीति' फेरि चर्चामा आएको छ। सरकारले आइतबार दुई जोडी गैंडा उत्तरको छिमेकी चीनलाई दिने निर्णय गरेपछि यो एकाएक चर्चामा आएको हो। नेपाल र भारतमा मात्र पाइने एक सिंगे गैंडा विश्वकै दुर्लभ वन्यजन्तु हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको प्रशोधन नभएको तथ्यांकअनुसार अहिलेसम्म २४ गैंडा उपहार र आदानप्रदानका नाममा नौवटा मुलुकलाई उपहार दिइएको छ।

पछिल्लो पटक सन् २००६ मा तत्कालीन युवराज पारसले अस्ट्रिया सरकारलाई एक जोडी गैंडा उपहार दिएका थिए। त्यसपछि एक दशकसम्म गैंडा कूटनीतिमा पूर्णविराम लागेको थियो। वनमन्त्री अग्नि सापकोटाले दुई देशबीचको सम्बन्धमा नया“ आयाम थप्न गैंडा उपहार दिन लागिएको बताए। 'दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ गर्नका लागि पनि हो,' उनले भने। मन्त्री सापकोटाको पुस २९ गतेको चीन भ्रमणक्रममा चिनिया“ वनमन्त्री र चिनिया“ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीले गैंडा दिन आग्रह गरेका थिए।

वन्यजन्तु उपहार दिन मिल्ने/नमिल्नेबारे राष्ट्रिय कानुनमा कुनै पनि व्यवस्था छैन। वनस्पति तथा वन्यजन्तु ओसारपसारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (साइटिस) मा वैज्ञानिक र शैक्षिक प्रयोजनका लागि दिन मिल्ने व्यवस्था छ। नेपाल साइटिसको पक्ष राष्ट्र हो र यससम्बन्धी कानुन अझै बनेको छैन। 'कानुन मौन बसेकाले नै मन्त्रिपरिषद्ले गैंडा उपहार दिने निर्णय गरेको हो,' राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले भने, 'उपहार पनि दुवै देशका वैज्ञानिक निकायले अध्ययन गरेको प्रतिवेदनका आधारमा दिइन्छ।'

उनका अनुसार पहिले नेपालमा भएका गैंडाको अवस्थाको वैज्ञानिक र प्राविधिक अध्ययन गरिन्छ। 'वैज्ञानिक अध्ययन रिपोर्टको आधारमा प्राविधिक समिति गठन गरेर गैंडा पठाउने तयारी गरिन्छ। अहिलेसम्म हामीले यसबारे कुनै गृहकार्य गरेका छैनौं,' आचार्यले भने। प्राविधिक समितिले दिएको प्रतिवेदनका अनुसार कहा“का र कुन उमेरका गैंडा दिने भन्ने निर्क्योल हुन्छ। 'दिनचाहिँ चितवनबाटै दिनुपर्छ तर चितवनको कुन वासस्थानबाट दिने भन्ने टुंगो छैन,' आचार्यले भने। सरकारले दुई भाले र दुई पोथी गैंडा दिने निर्णय गरेको हो।

उनले पहिलेजस्तो अध्ययनबिना नदिने स्पष्ट पारे। 'गैंडा त दिने तर त्यसको र त्यसले जन्माएको बच्चाको स्वामित्व पनि नेपालकै हुनेगरी दिनुपर्छ,' आचार्यले भने, 'यति मात्र नभई त्यसले दिने आम्दानीको केही अंशको अंशियार पनि हामी हुन पाउनुपर्छ।' आचार्यको भनाइमा विभागका संस्थापक पूर्वमहानिर्देशक विश्वनाथ उप्रेती पनि जोड दिन्छन्। 'गैंडा दिनै नहुने त होइन तर अबको समय पहिलाजस्तो छैन। हामीलाई यसबापत के फाइदा हुन्छ, त्यो पनि हेर्नुपर्छ,' उनले भने। सरकारले अहिले कूटनीतिक फाइदा मात्र हेरेको उप्रेतीको ठहर छ। 'ठूलो लगानी गरेर संरक्षण गरिएका जन्तु दिँदा प्रत्यक्ष फाइदा पनि हेर्नुपर्छ,' उनले भने, 'परिवेश फेरिएको छ। अब कूटनीतिले मात्र पुग्दैन।'

यता मन्त्री सापकोटाले चीन सरकारले यसबापत भक्तपुरमा निर्माण गरिन लागेको प्राणी उद्यान, प्राणी अस्पताल र विधि विज्ञान प्रयोगशाला स्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी पनि दिए। 'भ्रमणबाट फर्किएपछि चीनको वन मन्त्रालयले यसबाहेकका क्षेत्रमा पनि सहयोग गर्छौं भनेर इमेल गरेको छ,' उनले भने। विभागका इकोलोजिस्ट डा. महेश्वर ढकाल भन्छन्, 'छोरी दिँदा अभिभावकले ज्वाईंको योग्यता र क्षमता जसरी जा“च्छन्, गैंडा दिँदा पनि त्यसैगरी त्यसको उपयुक्त वासस्थान र व्यवस्थापन क्षमता हेरिन्छ।'

तर, विभागस“ग उपहार र आदानप्रदान कार्यक्रमअन्तर्गत दिएको गैंडाको आधिकारिक अभिलेख छैन। विभागले टिपोटका रूपमा केही सूचना दिए पनि विस्तृत विवरण उपलब्ध गराउन सकेन। 'हामीले अभिलेख नराखेको पक्कै हो, अब यस्तो हुन्न, हामी विस्तृत विवरण राख्ने प्रयास गर्छौं', ढकाल भन्छन्।

गैंडालाई संकटापन्न वन्यजन्तुको रूपमा साइटिसको अनुसूची १ मा राखिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन (चौथो) संशोधनमा पनि यो दुर्लभ वन्यजन्तुको सूचीमा छ। नेपाल र भारतमा मात्र पाइने एकसिंगे गैंडा लोप भएपछि चीनले नेपालस“ग दुई जोडी गैंडा मागेको हो।

'चीन सरकारलाई आफ्ना देशका एक सिंगे गैंडा जोगाउन नसकेकोमा धेरै पश्चाताप रहेछ। यो कुरा उनीहरूको आग्रहबाट पनि बुझियो,' मन्त्री सापकोटाले भने, 'चीनको वैभवमा गैंडाको अनुपस्थित खड्किएको मैले महसुस गरें।' त्यसो त गैंडाका लागि चीन सरकारले आफ्नो दूतावासमार्फत धेरै पहिलेदेखि नेपाल सरकारस“ग आग्रह गरिरहेको थियो।

सरकारले सबैभन्दा धेरै गैंडा अमेरिकालाई दिएको छ। अमेरिकाका विभिन्न चिडियाखानालाई गरेर तीन जोडी गैंडा विभिन्न समयमा उपहार दिइएको छ। चिडियाखानालाई प्रत्यक्ष रूपमा दिन नमिलेपछि सरकार–सरकारबीचको उपहारका रूपमा दिइएको हो।

दक्षिणी छिमेक भारतलाई पनि दुई जोडी गैंडा दिइएको थियो। त्यसबापत सरकारले भारतबाट १८ वटा हात्ती ल्याएको थियो। ती हात्ती ल्याइएपछि चितवन राष्ट्रिय निकुञ्जमा हात्ती प्रजनन केन्द्र स्थापना गरिएको थियो। यद्यपि त्यतिबेला भारतबाट ल्याइएका हात्ती स्वस्थ नभएको चर्चा थियो।

सरकारले अहिलेसम्म अमेरिकालाई ६, भारतलाई ४, अस्ट्रियालाई २, बेलायतलाई २, जापानलाई २, जर्मनीलाई २, पाकिस्तानलाई २, बर्मालाई २ र थाइल्यान्डलाई २ गरी २४ गैंडा दिएको छ। तर, यसको विस्तृत विवरण र तिनको अवस्थाबारे सरकारका सरोकारवाला निकाय बेखबर छन्। 

गणतन्त्र आउनुपूर्व (२०६५ जेठ १५ अघि) राजालगायत राजदरबारका अन्य सदस्यले विभिन्न मुलुकस“ग मित्रता गा“स्ने नाममा गैंडा उपहार दिन्थे। दरबारको निर्देशनमा महेन्द्र प्रकृति संरक्षण कोषले उपहारको सबै चाँजोपाँजो मिलाउँथ्यो। कोषको अध्यक्ष राजकुमार हुने व्यवस्था थियो। सन् २००६ अघि सम्म यसरी नै उपहार दिइँदै आइएको थियो। 'त्यसैले गर्दा हामीले उपहारसम्बन्धी सम्पूर्ण विवरण राख्न सकेनौं, त्यतिबेला हामीलाई खासै जानकारी हुँदैनथ्यो,' विभाग स्रोतले भन्यो।   

पछिल्लो गणनाअनुसार नेपालमा ६ सय ४८ गैंडा छन्। तीमध्ये चितवनमा ६ सय ५, बर्दियामा ३५ र शुक्लाफा“टामा ८ वटा छन्। विश्वकै दुर्लभ एक सिंगे गैंडा नेपाल र भारतमा मात्र पाइन्छ। दुई देशमा गरी यसको संख्या करिब २५ सय हाराहारीमा छ।

प्रकाशित: २७ असार २०७३ ०२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App