७ वैशाख २०८१ शुक्रबार
राजनीति

माओवादीले एमालेलाई भन्यो: पूर्वसहमति कार्यान्वयन गर

काठमाडौँ-नेकपा (माओवादी केन्द्र) ले सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले) सँग विगतमा भएका सहमतिलाई पूर्णरुपमा कार्यान्वयन गर्न आग्रह गरेको छ।

अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले पूर्व सहमतिलाई अक्षरशः लागू गर्दै राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियालाई अगाडि बढाउन आग्रह गरेको छ।

संविधानको सहज कार्यान्वयन, तराई–मधेसमा आन्दोलनरत दल, आदिवासी, जनजाति तथा थारु समुदायको माग सम्बोधन गर्न र भूकम्पपछिको पुनःनिर्माणलाई सार्थकरुपमा अगाडि बढाउन पनि सहमतिको सरकार जरुरी रहेको माओवादी केन्द्रले निष्कर्ष निकालेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

प्रवक्ता भुसालका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, एमालेसँग भएको सहमति तथा विभिन्न चरणमा विभिन्न राजनीतिक दलसँग भएको संवाद तथा छलफलका बारेमा समेत कुराकानी भएको थियो।

माओवादी केन्द्रको केही दिनअघि सम्पन्न पोलिटब्युरो बैठकले राष्ट्रिय सहमतिको सरकार गठनका लागि मार्ग प्रशस्त गरेको थियो।

एमाले र माओवादी केन्द्रबीच गत वैशाख २५ गते भएको नौ बुँदे सहमति र गोप्य राखिएको भनिएको तीन बुँदे भद्र सहमतिका आधारमा सहमतिको सरकार गठन गरेर मुलुकका समस्या हल गर्ने उल्लेख रहेको नेताहरुले सार्वजनिक रुपमा नै बताउँदै आएका छन्।

प्रवक्ता भुसालले माओवादी केन्द्रको बैठक सोमबार बिहान पुनः बस्नेगरी स्थगित भएको जानकारी दिइन्। रासस

 

प्रकाशित: २६ असार २०७३ १४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App