१६ चैत्र २०८० शुक्रबार
राजनीति

वर्तमान सरकार संवैधानिक रुपमा ढल्न सक्दैन–एमाले

काठमाडौँ– नेकपा(एमाले)ले वर्तमान सरकार संवैधानिक ढङ्गले पनि ढल्न नसक्ने जिकिर गरेको छ।

सहिद छविलाल कार्की(ओखलढुङ्गा)को छैटौँ स्मृति दिवसका अवसरमा छविलाल स्मृति प्रतिष्ठान र एमाले–ओखलढुङ्गा सम्पर्क मञ्चद्वारा यहाँ आयोजित कार्यक्रममा एमाले महासचिव तथा प्रतिष्ठानका संरक्षक ईश्वर पोखरेल र पोलिटब्युरो सदस्य शेरधन राईले वर्तमान सरकारले आफ्ना घोषित उद्देश्यका संवैधानिक र कानुनी काम तथा तीन वटा निर्वाचन गरेर मात्र बिदा लिने बताए।

सो अवसरमा नेता पोखरेलले भने, “यो समीकरण भत्काएर अर्को समीकरण बनाउन एमाले लाग्दैन ।” उनले नेपालले निकै अपमान खेपेको सुगौली सन्धि भएको दुई सय वर्षपछि वर्तमान सरकारका प्रधानमन्त्रीले नेपाल र नेपालीको आत्मसम्मान जुरुक्कै उचालेको बताउँदै यसको जग पनि बलियो भएको बताए।
नेता पोखरेलले ओखलढुङ्गाको विकासका लागि वर्तमान सरकारले ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङ जोड्ने स्वर्ण सगरमाथा चक्रपथ, दूधकोसी जलविद्युत् आयोजना र काठमााडौँ–ओखलढुङ्गा–खोटाङ राजमार्गमा बजेट छुट्याएको जानकारी दिँदै प्रतिष्ठानलाई जिल्लामा बाटोघाटो, शिक्षा, स्वास्थ्यसम्बन्धी काम गर्न पनि सुझाव दिए।

एमाले पोलिटब्युरो सदस्य राईले एमाले नेता कार्कीको हत्याराहरु अहिले पश्चाताप गरेर बसेको विचार व्यक्त गर्दै एमालेले संविधान निर्माण र सरकारको नेतृत्व गरेर जित हासिल गरेको बताउनुभयो । सरकारका प्रवक्ता राईले कार्कीका हत्याराहरुले सजायँ भोग्नैपर्छ भने।

सांसद यज्ञराज सुनुवार र शकुन्तला राजभण्डारी तथा प्रतिष्ठानका अध्यक्ष नानीबाबु बुढाथोकीले अभियुक्तहरुलाई वर्तमान सरकारले कानुनी दायरामा ल्याउनुपर्ने माग गरे।

सो अवसरमा ओखलढुङ्गाबाट प्रवेशिका परीक्षामा उत्कृष्ट श्रेणी ल्याउने तथा दलित र पिछडिएका वर्गका विद्यार्थीलाई सम्मान गरिएको थियो भने कार्कीको स्मृतिमा प्रतिष्ठानद्वारा प्रकाशित ‘छविलाल कार्की स्मारिका’विमोचन गरिएको थियो ।

विसं २०२५ वैशाख १ गते जन्मनुभएका एमाले नेता कार्कीको विसं २०६७मा आजकै दिन आततायीहरुले हत्या गरेका थिए । रासस

 

प्रकाशित: २४ असार २०७३ १२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App