coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मधेस प्रदेशमा एमाले गठबन्धनको प्रस्ट बहुमत

संघमा सत्ता समीकरण फेरिएसँगै प्रदेशमा पनि नयाँ सत्ता समीकरणको कसरत सुरु भएको छ। मधेस प्रदेशमा एमाले–माओवादी–जसपासहितको गठबन्धनलाई स्पष्ट बहुमत पुग्ने देखिएको छ। मधेस प्रदेशमा १०७ सांसद संख्या छ। मधेस सरकार बन्न ५४ सांसद संख्या आवश्यक पर्छ। यस प्रदेशमा एमालेका २३, माओवादी केन्द्रका ८, राप्रपाका १, जसपाका १६, जनमत पार्टीका १३, नागरिक उन्मुक्तिका १ सांसद सहित ६२ सांसद रहेको बहुमतको सरकार बन्ने पक्का भएको छ।

यो प्रदेशमा कांग्रेसका २२, एकीकृत समाजवादीका ७, लोसपाका ९, संघीय समाजवादीका १ र स्वतन्त्रबाट ६ सांसद रहेका छन्। अब बन्ने मिलिजुली सरकारमा एमाले ठूलो दल हुनेछ भने दोस्रो दल जसपा हुनेछ। एमाले र जसपामध्ये मधेस प्रदेश सरकारको नेतृत्व कुन दलले पाउने विषय मुख्य हुनेछ। यस गठबन्धनभित्र प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुखमा गठबन्धन दलबीच भागबण्डा हुनेछ। पाँच वर्ष मधेस प्रदेश सरकारको नेतृत्वकर्ता दल जसपा र मधेसमा नयाँ शक्तिको रूपमा उदाएको जनमत पार्टीसँग एमालेले यी तीन मुख्य पदमा भागबण्डा मिलाएर सरकार गठन गर्नेछ।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा तालमेल गरेर चुनाव लडेका मधेस केन्द्रित दल संघीय समाजवादी फोरम (ससफो) र राष्ट्रिय जनता पार्टी (राजपा) ले मधेस प्रदेशमा बहुमतको सरकार बनाएका थिए। यसपालि दुवै दल अलगअलग गठबन्धनबाट चुनाव लडेपछि नराम्ररी पछारिएका छन्। ती दुई दलमध्ये कुनैको पनि बहुमत नआउँदा मधेस प्रदेश सरकार गठनमा उनीहरूले नेतृत्व दाबी गर्ने स्थिति छैन। अहिले जसपा नेकपा माओवादी गठबन्धनको संघीय सरकारलाई समर्थन जनाएको छ। लोसपा कांग्रेससँग उभिएको छ।

प्रदेशसभामा प्रत्यक्षतर्फको मत परिणामले मधेस प्रदेशमा सरकार गठनका लागि दलहरूबीच धुव्रीकरण हुने देखिन्छ। यस प्रदेशमा आगामी सत्ता संघर्ष निकै चर्को हुने संकत देखिएको छ। विगतमा मधेस सरकार राजपा र ससफो मिलेर बनाए पनि पछि दुवै दल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) ले सरकार चलायो। जसपा विभाजनपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सरकार टिकाइदिएका थिए।

अहिले मधेस प्रदेशमा जसपाको नेतृत्वमा माओवादी केन्द्र, नेकपा एसको संयुक्त सरकार छ। निर्वाचनमा सिट बाँडफाँटका विषयमा सत्तारूढ गठबन्धन दलसँग कुरा नमिलेपछि जसपा अध्यक्ष उपेन्द्र यादव एमालेसँग गठबन्धन गरेर चुनावमा होमिएपछि संघीय सरकारमा सहभागी जसपाका चार मन्त्री हटाइए। जसको प्रतिक्रियास्वरूप जसपाले पनि प्रदेश सरकारमा सहभागी कांग्रेसका तीन मन्त्रीलाई हटाइदियो।

पाँच वर्षसम्म सरकारको नेतृत्व सम्हालेको जसपाले पुनः दोस्रोपटक नेतृत्व गर्न भन्दै बढी सिट लिएर एमालेसँग चुनावी तालमेल गरेको थियो। तर यादवलाई एमालेसँगको चुनावी तालमेल अफाप सिद्ध भयो। चुनावका बेला कांग्रेस गठबन्धबाट उपेन्द्र नेतृत्वको जसपा अलग भएर ओली नेतृत्वको नेकपा एमालेको साथ लागेपछि एमाले मधेस प्रदेशमा बलियो उपस्थिति दर्ज गर्न सफल भयो। अहिले जसपालाई मधेस प्रदेश सरकारको नेतृत्व दिएर ओलीले त्यो गुन फिर्ता गर्ने सम्भावना बलियो रहेको जसपाका एक नेताले बताए।

तर, विभाजन र राष्ट्रिय राजनीतिमा आएको उथलफुथलको प्रभाव मधेस प्रदेश सरकारमा पनि पर्‍यो। नेकपा विभाजन, जसपा विभाजनको मात्र नभई संघीय सरकारमा हुने हलचलको कम्पन प्रदेश सरकारमा पर्न गएको विगतले अब बन्ने मिलीजुली सरकारलाई प्रभाव पार्ने देखिँदैछ।

प्रकाशित: ११ पुस २०७९ ०२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App