९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

सांसदको सपथसँगै प्रतिनिधिसभाको कार्यकाल सुरु

संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य। उनीहरूले ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराबाट शपथ लिएका हुन्। तस्बिर: रासस

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले बिहीबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेसँगै प्रतिनिधिसभाको गठन भएको छ। गत मंसिर ४ गते भएको निर्वाचनको एक महिनापछि प्रतिनिधिसभाको गठन भएको छ। प्रतिनिधिसभाको गठनसँगै सांसदहरूले संसद्को जिम्मा पाएका छन्। अब संसद्को काम भनेको संसद् अधिवेशन सुरु गर्ने, नयाँ प्रधानमन्त्रीले विश्वासको मत लिने, सभामुख, उपसभामुखको निर्वाचन गर्ने, संसदीय समिति गठन गर्नेलगायत छन्। सपथ ग्रहण गरेपछि सांसदको सेवा सुविधा पनि प्राप्त हुने भएकाले सांसदको व्यक्तिगत तथा उनीहरूलाई संसदीय दलको खर्च सुविधा प्राप्त हुनेछ। संसद् अधिवेशन सुरु भएपछि संसद्मा आफ्ना भनाइ राख्ने र निर्णयमा सहभागी हुन पाउने भएकाले अब प्रमुख रूपमा संसद् अधिवेशन आह्वानकै प्रतीक्षामा उनीहरू बस्नुपर्ने भएको छ।  

नयाँ सरकार गठन भएपछि बस्ने मन्त्रिपरिषद्को बैठकको सिफारिस बमोजिम राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्ने तयारी छ। नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) बमोजिम सरकार गठनका लागि आह्वान गर्दै १० गतेसम्मको समयसीमा तोकेकी छन्। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवनमा उपस्थित नव निर्वाचित सांसदको बिहीबार १ बजेर १५ मिनेटपछि सपथ ग्रहण कार्यक्रम सुरु भएको थियो। ज्येष्ठ सदस्य पशुपति समशेर जबराले सपथ गराएका थिए। सपथ ग्रहण कार्यक्रममा ज्येष्ठ सदस्यसहित १ सय ७० जनाको उपस्थित थियो भने ४ जना अनुपस्थित थिए। बिहीबार छुटेका कांग्रेसका माया राई, माओवादी केन्द्रका रामकुमार राई, महिन्द्र राय यादव, नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आलेलाई अनुकूलता अनुसार सपथ ग्रहण गराउने संसद् सचिवालयले जनाएको छ। सपथ लिने २८ सांसदले १४ मातृभाषामा सपथ लिएका थिए। सपथ पत्रमा हस्ताक्षर गरेपछि सांसदलाई लोगो लगाउन दिइएको थियो। लोगो लगाएसँगै सपथ ग्रहणको औपचारिक कार्यक्रम सम्पन्न भएको थियो।

सपथ ग्रहण कार्यक्रममा राष्ट्रिय मान्यता प्राप्त र स्वतन्त्र हैसियतसहित १२ राजनीतिक दलका सांसदहरू मध्ये केहीले आफ्नो मौलिकता झल्काउने पोषाक लगाएका थिए। सांसदहरूले आ–आफ्नो मौलिकता झल्काउने पोषाक लगाएकाले संसद भबन भित्र सांसदहरू रंगी विरंगी देखिएका थिए। एमालेका धेरै जसो सांसदले खैरो रंग (ग्रे कलर ) को कोट,सेतो रंगको दौरा सुरुवाल,कालो रंगको जुता र कालो रंगको टोपी सहितको राष्ट्रिय पोषाक लगाएका थिए। एमाले पार्टीको निर्देशन बमोजिम उनीहरूले राष्ट्रिय पोषाक लगाएका थिए। एकेही सांसदले भने आफ्नो मौलिकता झल्काउने पोषाक लगाएका थिए। सपथ ग्रहणपछि नयाँ दलको रूपमा आएका सांसद र मौलिकता झल्काउने पोषाक लगाउने सांसदहरूलाई फोटा खिच्न र सञ्चार माध्यमलाई अन्तरवार्ता दिन भ्याइनभ्याइ थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले सांसदको सपथ लिएपछि पूर्ण रूपमा देश र जनताका लागि समर्पित भएको बताइन्। उनले आफूले निर्वाचनमा गरेको प्रतिबद्धता बमोजिम मुख्यगरी स्वास्थ्य क्षेत्रमा आफूले भूमिका खेल्ने बताइन्।  

सपथ ग्रहणमा उपस्थित पूर्व तर्फका जनजातीका सांसदहरूले पूर्वी संस्कृति झल्कने र पश्चिम तर्फका जनजातीका सांसदहरूले पश्चिमी संस्कृति झल्कने पोषाक लगाएका थिए भने, तामाङ्को संस्कृति झल्कने पोषाक लगाएका थिए। मधेसका सांसदहरूले मधेसको पहिचान झल्कने पोशाख लगाएका थिए। यसपटक नेपाली खस संस्कृति झल्काउने पोषाक पनि सांसदले लगाएको देखिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले जुम्लाको खस संस्कृति झल्काउने पोषाक लगाएकी थिइन्। उनले भनिन् , ‘जुम्लालाई सांस्कृतिक पहिचान गराउने र जुम्लाको शिक्षा स्वास्थ्य र भौतिक विकासका लागि संसदमा आवाज उठाउने बताइन्। कांग्रेसकी सीता गुरुङलगायतले पूर्वीय गुरुङ संस्कृतिको पोषाक लगाएको देखिन्थ्यो भने दैलेखकी कांग्रेस सांसद सीता रानासहितले पश्चिमी मगर संस्कृतिको पोषाक लगाएको देखिन्थ्यो। राष्ट्रिय स्वतन्त्र पार्टीका अशोककुमार चौधरीले पूर्वीय थारू संस्कृति झल्कने पोषाक लगाएका थिए। उनले भने, ‘पहिलो पटक संसदमा पाइला टेकेको मैले, जनताको अवस्था बदल्ने र विकृति, विसंगति र भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्य लिएको छु।’ उनी सुनसरीबाट समानुपातिक निर्वाचित सांसद हुन्।  

पश्चिमी थारू संस्कृति झल्कने पोषाकमा आएकी नागरिक उन्मुक्ति पार्टीकी सांसद रन्जिता श्रेष्ठले आफ्नो पार्टीका जेलमा रहेका नेता तथा कार्यकर्तालाई छुटाउने र पछाडि परेका नागरिकको हितको पक्षमा आवाज उठाउने बताइन्। उनी जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेमश चौधरीकी धर्मपत्नी हुन्।  

अपांगता भएका व्यक्तिको कोटाबाट निर्वाचित एमाले सांसद प्राडा के आर (कालुराम) राईले आफूले वातावरण प्रदूषणविरुद्धमा आवाज उठाउने र अपांगता भएका व्यक्तिहरूको हक र हितका विषयमा संसद्मा भूमिका खेल्ने बताए। तामाङ् सस्कृति झल्कने पोषाकमा देखिएकी धादिङ्बाट निर्वाचित राप्रपाकी सांसद विना लामाले महिला, पिछडिएको वर्ग र जातीय विभेदको आवाज उठाउने बताइन्।  

चितवनबाट निर्वाचित कांग्रेस सांसद शान्ति विकले आफ्नो क्षेत्रमा चेपाङ र दलित बस्तीमा विकास निर्माणका लागि संसदबाट दबाब दिने बताइन्। उनले महिलामाथि हुने हिंसा, दलित माथि हुने अपमान र हिंसा र सुरक्षाका लागि नयाँ ग्रामीण विकासका लागि संसद्बाट आवाज उठाउने बताइन्।

प्रकाशित: ८ पुस २०७९ ०१:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App